आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
विदेश पलायन

सरकारी कोटामा विदेशिएका कर्मचारी काममा नफर्किएपछि बर्खास्त गर्न थालियो

सहसचिवलाई पनि बर्खास्त गर्ने तयारी
बुधबार, ०६ असार २०८०, १० : ३७
बुधबार, ०६ असार २०८०

काठमाडौं । सरकारी कोटामा अध्ययन बिदामा पढ्न विदेशिएका झन्डै तीन दर्जन कर्मचारीलाई बर्खास्त गर्न थालिएको छ । अध्ययन सकेर स्वदेश फर्किए पनि काममा नफर्किएपछि केहीलाई बर्खास्त गरिएको छ भने केहीमाथि बर्खास्त गर्ने प्रक्रिया चलिरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद अधिकारी विगत सात वर्षदेखि मन्त्रालयमा हाजिर हुन पुगेका छैनन् । उनी अध्ययन बिदामा विदेशिएका थिए । पटकपटक ताकेता गर्दा पनि सम्पर्कविहीन भएका उनलाई मन्त्रालयले बर्खास्त गर्ने तयारी थालेको छ ।

सरकारी कोटामा विदेश पढ्न गएर नफर्किएका र फर्किएर पनि हाजिर हुन नपुगेका अधिकारीमात्रै एक्ला कर्मचारी होइनन् । कृषि मन्त्रालय अन्तर्गतका १६ जना कर्मचारी सम्पर्कविहीन भएर बसेका छन् । बाली संरक्षण अधिकृत रामकृष्ण कहर मन्त्रालयमा ९० दिन कटिसक्दा पनि हाजिर हुन नगएपछि मन्त्रालयले कारबाहीका लागि टिप्पणी उठाइसकेको छ । मन्त्रालयकै उपसचिव एवं वरिष्ठ कृषि प्रसार अधिकृत जयन्तीकुमारी भुसाल पनि विदेश अध्ययन सकिएपछि मन्त्रालयमा हाजिर हुन नपुगेपछि उनलाई सेवाबाट हटाइएको छ ।

अध्ययन बिदामै विदेशिएका अर्का बाली संरक्षण अधिकृत भीम चौलागाईं २०७६ साउनदेखि मन्त्रालयको सम्पर्कमा नआएपछि उनलाई पनि बर्खास्त गरिएको छ ।

अर्थ मन्त्रालयकी शाखा अधिकृत विजया आचार्य अमेरिकामा पढ्न गइन् । उनको श्रीमान् अमेरिकामै बस्ने भएपछि उनी फर्किनन् । राजीनामा दिएकी आचार्यसँग छात्रवृत्तिको रकम असुल उपर गर्ने निर्णय सामान्य प्रशासन मन्त्रालयले गरेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार आचार्यसँग छात्रवृत्तिको रकम असुलउपर भएको छैन । उनी अहिले मन्त्रालयको सम्पर्कमा छैनन् ।

भवन निर्माण विभागका इन्जिनियर सुवर्ण शोभा शाक्य, स्वास्थ्य मन्त्रालयकी आठौं तहकी सोनिया कोइराला, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट छात्रवृत्तिमा विदेश गएका उपसचिवहरू मेकानिकल सिडिई हरिचरण घिमिरे र हाइड्रोलोजिस्ट विजयकुमार पोखरेल पनि मन्त्रालय फर्केनन् ।

सिभिल इन्जिनियरद्वय प्रभा शाह र प्रमिला अधिकारी, शाखा अधिकृत केमिस्ट विष्णुप्रसाद सुवेदी र इन्जिनियर शैलेन्द्र सिंह पनि मन्त्रालय नफर्किएपछि उनीहरुलाई विभिन्न मितिमा सेवाबाट हटाइएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव दिपक लामिछानेका अनुसार सरकारको खर्चमा गएका कर्मचारीको हकमा असुलउपरको प्रक्रियामा गइसकेको छ ।  

लोक सेवाले फाइल फिर्ता पठायो

पशुसेवा विभाग अन्तर्गतका उपसचिव खड्क सिंह विष्टसहित ११ जना कर्मचारीलाई कारबाही गर्ने र उनीहरुको बिदाको लगत कट्टी गरी सेवासुविधा दिने रायका लागि मन्त्रालयले फाइल लोक सेवा आयोगमा पठाएको थियो । तर, आयोगले कागजपत्र नपुग्ने भन्दै मन्त्रालयमै फाइल फिर्ता पठाइदिएको छ ।

भेटेरिनरीतर्फकै उपसचिवद्वय शिवचन्द्र घिमिरे, उपसचिव कमलराज आचार्य, भेटेरिनरी अधिकृतहरू तोयानाथ बराल, तुलसीराम थापा, विनु श्रेष्ठ, सुवास सिवाकोटी, अञ्जनकुमार चालिसे, शाखा अधिकृत श्रेणीका पशु चिकित्सकहरू रिमादेवी श्रेष्ठ, घ्याग्याल्पो पुनेल र यादव शर्मा बजगाईंलाई कारबाही गर्ने र उनीहरुको बिदाको लगत कट्टा गरी सेवासुविधा दिने तयारी अनुसार मन्त्रालयले सुझावका लागि आयोगमा फाइल पठाएको थियो । तर, कागजपत्र नपुगेपछि आयोगले फाइल मन्त्रालयमै फिर्ता पठाएको पशुसेवा विभागका शाखा अधिकृत अच्युत पुडासैनीले बताए । तर, विभागबाटै रेकर्ड हराएको दाबी मन्त्रालयको छ ।

भू–गर्भविद् कोइरालासँग असुलउपुर गरिने

खानी तथा भू–गर्भविद् रोशन कोइराला सरकारी खर्चमा अमेरिका पढ्न गएका थिए । तर, उनी काममा नफर्किएपछि विभागले उनको पढाईको खर्च लगायतका अन्य सुविधाहरु असुलउपर गर्ने प्रक्रिया थालेको छ ।

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार कोइरालासँग असुलउपर गर्ने प्रक्रिया भइरहेको छ । त्यसैगरी विभागबाटै बेतलबी बिदामा विदेश पढ्न गएका भू–गर्भविद् सुदीप श्रेष्ठ, सन्तोष अधिकारी र सम्झना बुढाथोकी सम्पर्कमा नआएपछि विभागीय कारबाही गरी बर्खास्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप