आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
मोर्चाको उद्देश्य

समाजवादी मोर्चा समाजवादतिर जान कि सत्ता टिकाउन ?

बुधबार, ०६ असार २०८०, १३ : १७
बुधबार, ०६ असार २०८०

काठमाडौँ । सत्तारुढ तीन र संसदीय अभ्यास बाहिर रहेको एक गरी चार दल सम्मिलित समाजवादी मोर्चा घोषणापछि राजनीतिक वृत्तमा अनेक प्रकारका टीकाटिप्पणी हुन थालेको छ । मोर्चा घोषणा कार्यक्रममा सहभागी नेताहरूले समाजवादी मोर्चा कसैविरुद्ध नरहेको दाबी गरेका थिए । तर दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू मोर्चा घोषणाप्रति केही सशङ्कित देखिएका छन् ।

मोर्चामै आबद्ध नेताहरू पनि सत्ता स्वार्थमा यसको प्रयोग हुनेमा सशङ्कित देखिएका छन् । मोर्चा घोषणा सभामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मोर्चालाई सत्ता टिकाउने बार्गेनिङ प्वाइन्ट बनाउन नहुने चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी मिलेर बनेको नेकपाको असफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै समाजवादी मोर्चा गठनमा त्यस्ता कमी कमजोरी नदोहोरिने प्रतिबद्धता जनाए । समाजवादी मोर्चा घोषणा गर्दा धेरै बहस र छलफल गरेरमात्रै निर्णयमा पुगिएकाले यो दिगो हुने उनको भनाइ छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा बनाउन निकै पापड बेलेर यो अवस्थामा आएको जिकिर गरे ।

समाजवादी मोर्चामा तीन संसदवादी दल छन् । विप्लव नेतृत्वको नेकपामात्र संसद बाहिर छ । प्रतिनिधिसभामा समाजवादी मोर्चामा आबद्ध दलको सिट संख्या ५४ छ । यही सिट संख्यालाई बार्गेनिङ प्वाइन्ट बनाउन सक्ने धेरैको आकलन छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने र बार्गेनिङ गर्ने अस्त्र बन्न नहुने जिकिर गरे । ‘मोर्चामार्फत समाजवादी गणतन्त्रसम्म जाने भनिएको छ । यस मोर्चाका अन्तर्यका विषयमा भोलिका क्रियाकलापबाट प्रस्ट हुँदै जाने छन्,’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘यो मोर्चा सत्ता बार्गेनिङको वा सत्ता टिकाउने विषयको निम्ति भयो भने दुर्भाग्य हुन्छ । यदि साँच्चिकै समाजवादी दिशातिर उन्मुख भयो भने महत्त्वपूर्ण कार्य हुने छ ।’

समाजवादी मोर्चाका थप उद्देश्यहरू मुख्य नेताहरूलाई अझ बढी थाहा हुने भन्दै खनालले थप बोल्न मानेनन् ।

यस्तै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीले मोर्चामा आबद्ध भएका नेताहरू दलाल पुँजीवादको पूजा गरेर बस्ने बाहेक केही नगर्ने प्रतिक्रिया दिए । ‘हामीले विप्लव कमरेडलाई तपाईँहरू संशोधनवादी दिशातिर जानुभयो भनेर आरोप लगाएका थियौँ । र अन्तिममा उहाँ त्यो बाटोमा जानुभयो,’ ओलीले भने, ‘मोर्चा सामाजिक जनवाद अर्थात् सोसल डेमोक्रेसीको बाटोमा जाँदै छ । वैज्ञानिक समाजवादमा पुग्ने कुनै छनक छैन ।’

माओवादी केन्द्रबाटै फुटेको विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादीका नेता जागृत रायमाझीले चार पार्टी मिलेर बनाइएको मोर्चाको नाम ‘समाजवादी मोर्चा’ भनिए पनि सारमा त्यो समाजवादी मोर्चा नरहेको दाबी गरे ।

‘समाजवादी मोर्चा समाजवादीहरुबीच हुन्छ । अहिले मोर्चा बनाएका पार्टीहरूमा कुन पार्टी समाजवादी हो ? एमसीसी पास गरेर दलाल संसदीय व्यवस्था मान्नेहरू आफैँमा समाजवादी हुन कि होइनन् ? यो समाजवादीहरूकै मोर्चा होइन,’ रायमाझीले भने, ‘यो व्यवस्थामा आफ्नो शक्ति कमजोर भएपछि तालमेल गर्नेहरूको मोर्चा हो । समाजवाद शब्दको संसारभर दुरुपयोग छ । यसको यो एउटा परिघटना मात्रै हो ।’

पूर्व मन्त्री एवम् तत्कालीन माओवादी नेता गोपाल किरातीले विसर्जनवादीहरुको दलाल पुँजीवादी मोर्चा भएको टिप्पणी गरे । संसदमा कमजोर भएपछि शक्तिमा पुग्न गरिएको मोर्चाबन्दी बाहेक केही नभएको किरातीको भनाइ छ ।

पहिलो संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान बन्ने अवस्थामा वैद्य, बादल, विप्लव, देव गुरुङ, पम्फा भुसालकै कारण संसदवादीको मोर्चा बनाउने अवस्थामा आइपुगेको किरातीको भनाइ छ । समाजवादी मोर्चाले केही गर्न नसक्ने बताउँदै किरातीले केही दिनमै पानीको फोका साबित हुने बताए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले समाजवादी मोर्चाको उद्देश्य सत्ता प्राप्त र बार्गेनिङ बाहेक केही नहुने दाबी गरे । ‘मोर्चाको पहिलो प्राथमिकता सत्ता हो । मोर्चाको सत्ताको बार्गेनिङ बढ्छ । पहिले ३२ सिटका प्रधानमन्त्री ५४ सिटका हुन पुगेका छन् । प्रचण्डले ५४ सिटको भएँ भनेर अभिव्यक्ति दिइसक्नु भयो,’ आचार्यले भने, ‘मोर्चाको प्रमुख कुरा सत्ता हो । विप्लवजस्ता पार्टीलाई कसरी खुला राजनीति गर्ने भन्ने ल्याण्डिङको समस्या थियो । त्यो पनि मोर्चा मार्फत सहज भयो ।’

अर्कोतिर उपेन्द्र यादव, माधव नेपालहरुको पार्टी पनि समस्याग्रस्त रहेको समयमा मोर्चाले त्राण भर्ने काम गरेको आचार्य बताउँछन् । राजनीतिक रूपमा सिथिल र कमजोर भएकाहरु एक ठाउँमा उभिएर मोर्चामार्फत टिक्ने उपाय खोजेको उनको दाबी छ ।

‘मोर्चाले बाहिरी आवरणमा समाजवादमा जाने उद्देश्य बनाए पनि कांग्रेस र एमालेलाई तर्साउने नीति हो । हामी कमजोर छैनौँ भन्ने देखाउन खोजेका हुन् । यो मोर्चा एक वर्षसम्म टिके पनि धन्यवाद दिनुपर्छ,’ आचार्यले भने ।

यो मोर्चालाई सैद्धान्तिक लेपन लगाउने काम गरेका बाबुराम भट्टराई नै मोर्चामा नसमेटिएबाट धेरै कुरा प्रस्ट भइसकेको आचार्यले बताए । ‘यो मोर्चाका विचारक बाबुराम थिए । उनलाई बाहिर राखियो । किनकि उनको संसदको संख्या छैन,’ आचार्यले भने, ‘यो मोर्चाको उद्देश्य कस्तो छ भन्ने बाबुरामको बहिर्गमनले प्रस्ट भइसक्यो । संसदमा संख्या हुनेलाई लिइयो, सडकमा माहोल तताउन सक्ने विप्लवलाई राखियो । खुद्रा पसलहरू डिमार्टमेन्टमा रुपान्तरण भए, अरु केही होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप