आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा घोषणा

समाजवादी मोर्चाले यसरी पायो सार्थकता

सोमबार, ०४ असार २०८०, २२ : ५६
सोमबार, ०४ असार २०८०

काठमाडौं । समाजवादी मोर्चा बनाउने विषयमा लामो समयदेखि बहस र छलफल हुँदै आए पनि बल्ल सार्थकता पाएको छ । एमाले बाहेक कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले बनाउने भनिएको मोर्चा ६ महिना लामो गृहकार्यपछि सोमबार घोषणा भएको हो ।

गत मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव अघिदेखि नै समाजवादी मोर्चा बनाउने विषयमा ब्यापक चर्चा भएको थियो । चुनावको धपेडीले रोकिएको मोर्चा निर्माणको चर्चा चुनावलगत्तै दलहरुले वार्ता समिति बनाएर अघि बढाएका थिए ।

जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गत पुस १८ गते, नेकपा एकीकृत समाजवादीले बेदुराम भुसालको संयोजकत्वमा गत पुस २१ गते र नेपाल समाजवादी पार्टीले गत पुस २६ गते वार्ता टोली बनाएका थिए । नेकपा माओवादी केन्द्रले गत माघ २३ गते उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय टोली बनाएर प्रगतिशील वामपन्थीसँग सम्वाद गर्न पहल थालेको थियो ।

वार्ता समिति बनाएको नेपाल समाजवादी पार्टी भने मोर्चामा समेटिएन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने मोर्चामा ‘इन्ट्री’ गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवकै कारण नेसपा अन्तिम समयमा आएर मोर्चाबाट ‘आउट’ भएको बताइन्छ । मोर्चामा संसदीय व्यवस्था मान्ने र नमान्ने दुवै पक्ष समेटिएकाले धेरैले आशंका व्यक्त गरेका छन् ।

समाजवादी मोर्चा सरकार, सदन र सडक तीन वटै मोर्चामा सशक्त रुपमा प्र्रस्तुत हुने नेताहरुले बताएका छन् ।

मोर्चा घोषणामा नेकपाको सम्झना

२०७५ साल असोज ३ गते एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभामा एकता घोषणा गरियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै जना अध्यक्ष रहने गरी नेकपा गठन गरियो र दुवै अध्यक्षले आफूहरु जेट विमानको पाइलट भएको उद्घोष गरे ।

पार्टी एकता भएको २९ महिनामै विभाजन भएपछि फेरि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका थिए । नेकपा निर्माण भएको ५ वर्षपछि राष्ट्रियसभामै समाजवादी मोर्चा नेपालको घोषणा गरिएको छ । मोर्चाको घोषणा बेलुका ४ बजे गर्ने कार्यतालिका भए पनि राष्ट्रियसभा गृह ३ बजे नै भरिभराउ भइसकेको थियो । राष्ट्रियसभा गृहभित्र अटाउन नसकेका कार्यकर्ताको भिड बाहिर उत्तिकै थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा नेकपा बनाउँदा हतारमा गरेकाले सफल नभएको बताए । मोर्चा बनाउँदा सबै हिसाबले वातावरण बनेको भन्दै उनले यो दीर्घकालसम्म जाने दाबीसमेत गरे ।

बरु नेकपा टिक्न नसक्नुमा सबैले समीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘कहाँ त्रुटि ग¥यौं, समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ– पार्टी एकता गर्न पो हतार गरेछौं कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ’, प्रचण्डले भने ।

उनले मोर्चाको बाटोबाट नगएर फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनका पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे । प्रचण्डले हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।

‘हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरेका छौं । हरेक पार्टीको स्वतन्त्रतालाई पनि सिध्याउने काम गरेका छैनौं’, प्रचण्डले भने, ‘पार्टीको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको विद्यमान समस्या समाधान गर्न एकताको आवश्यकतालाई पनि सम्बोधन गरोस् । त्यसकारण हामीले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा र पार्टी स्वतन्त्रताको द्वन्द्वात्मक संश्लेषण मोर्चामा गरेका छौं । यसमा सबै कम्युनिस्ट र वामपन्थीले विचार गर्न जरुरी छ ।’

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको दाबी गरे । समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चाबाट कोही आत्तिनु नपर्ने जिकिर गरे ।

‘हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । मैले सुनिरहेको छु– केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ । यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न’, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै भने, ‘कसैलाई तर्साउन र मुकाबिला गर्न मोर्चा बनाएको होइन ।’

समाजवादी मोर्चामा ‘कमरेड उपेन्द्र यादव’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’ भनेर सम्बोधन गरेका थिए । नेपालले उपेन्द्र यादवलाई कमरेड भनेर सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुटेको थियो ।

अन्त्यमा नेता नेपालले उपेन्द्र यादव पहिला एउटै कम्युनिस्ट पार्टीमा लामो समय काम गरेकाले कमरेड नै भएको जिकिर गरे । नेपालले पुनः उपेन्द्र यादवलाई कमरेड भनेर सम्बोधन गरेपछि सबैले हुटिङ गरेर ताली पिटेका थिए ।

नेपालले बोले लगत्तै प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’को रुपमा सम्बोधन गरेका थिए । प्रचण्डले उपेन्द्र यादवलाई कमरेडको रुपमा सम्बोधन गरेपछि हलमा हाँसोको गुञ्जायमान भएको थियो ।

घोषणसभा मार्फत माओवादीसहित, एकीकृत समाजवादी, जसपा र नेकपा सम्मिलित समाजवादी मोर्चा घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप