मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा

उपेन्द्र यादव : ‘लाल सलाम’ कि ‘जय मधेस’ ?

मङ्गलबार, ०५ असार २०८०, २० : ००
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि तत्कालीन संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘कम्युनिस्टले नेपाललाई खायो खायो भन्दै शेरबहादुर अत्तालिएका छन्, राप्रपाहरु अत्तालिएका छन् । मैले उहाँहरुलाई मिटिङमै हुँदाखेरि पनि भनेको– किन अत्तालिएको ? यिनीहरू कम्युनिस्ट होइनन्, यिनीहरूले खाँदैनन् । कम्युनिस्ट भए न अत्तालिनुपर्ने हुन्थ्यो । यिनीहरू त सब बिग्रेका कम्युनिस्ट हुन् । किन चिन्ता गर्नुहुन्छ ?’

तर उपेन्द्र यादव यतिबेला कम्युनिस्टहरूसँग समाजवादी मोर्चामा सामेल भएका छन् । मोर्चा घोषणा हुँदा उनलाई कम्युनिस्टकै रूपमा परिभाषित गरियो, सम्बोधनका क्रममा ‘कमरेड’ पनि भनियो । यद्यपि उपेन्द्र यादवले यसप्रति कुनै टिप्पणी गरेका छैनन् ।

समाजवादी मोर्चा घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भनेका थिए, ‘मलाई लाग्छ लाल सलामबाट कोही आत्तिन आवश्यक छैन, कमरेड उपेन्द्रमा पनि त्यो भावना जाग्दै छ, हामीले लामो समयदेखि सोचेका थियौँ समाजवादी मोर्चा गठन गर्ने ।’

अध्यक्ष नेपालले सोमबार राष्ट्रिय सभागृहमा यस्तो अभिव्यक्ति दिँदा हलभित्र तालीको गडगडाहट सुनिन्थ्यो । समाजवादी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्ने प्रायः प्रमुख नेताहरूले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’ भनेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने क्रममा जसपाका अध्यक्ष उपेन्द्रतिर हेर्दै ‘कमरेड’ भनेपछि हलमा ताली गुन्जियो । विभिन्न दलका नेताले ‘कमरेड’ र ‘लाल सलाम’ भनी आफूलाई सम्बोधन गर्दा जसपाका अध्यक्ष यादवको अनुहारमा भने कुनै चमक थिएन ।

उपेन्द्र यादवको राजनीतिक जीवन कम्युनिस्ट पार्टीबाट सुरु भएको हो तर उनले मधेसी जनअधिकार फोरम गठन गरी माओवादी छाडेपछि आफूलाई कहिल्यै कम्युनिस्ट भनेनन् ।

बरु विभिन्न मञ्चमा उनले कम्युनिस्टलाई ‘कमाउनिस्ट’ र माओवादीलाई ‘खाओवादी’ भन्दै गिज्याउने गरेका थिए । तर पार्टी सञ्चालनको कार्यशैली, उनको रहनसहन, व्यवहार भने वामपन्थी शैलीकै देखिन्छ । उनको पार्टीमा पनि कम्युनिस्ट पृष्ठभूमिका नेताको बाहुल्यता छ । पार्टीका दुई ठुला नेता अशोक राई र राजेन्द्र श्रेष्ठ कम्युनिस्ट पृष्ठभूमिका नेता हुन् ।

मधेस आन्दोलनको समयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गरेका उपेन्द्र यादवले आन्दोलनपछि अन्य मधेसवादी दलसँग मोर्चा वा गठबन्धन बनाउने प्रयास पटकपटक गरेका थिए तर त्यति सफल भएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने उपेन्द्र यादवले निरन्तर सहकार्य गर्र्दै आएका छन् ।

तत्कालीन राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण गरेर जसपा नेपाल बनेको थियो । तर त्यो एकीकरण एक वर्ष पनि टिकेन । एमाले र माओवादी केन्द्रसँग पनि उनको सहकार्य आलोपालो जस्तै देखिन्छ । २०७९ को संघीय निर्वाचन घोषणा हुँदासम्म उनी नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा थिए । तर उम्मेदवारी मनोनयन दर्ताको केही अघि उनी एमालेसँग सहकार्य गर्न पुगे । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनदेखि यता उनी फेरि कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए । पछिल्लो समय उनी समाजवादी मोर्चामा आबद्ध भएका छन् ।  

samajbadi morcha

मोर्चामा एक्ला गैर कम्युनिस्ट उपेन्द्र

सोमबार घोषणा भएको समाजवादी मोर्चामा जसपाका अध्यक्ष उपेन्द्र यादव एक्ला गैर कम्युनिस्ट नेता हुन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चामा छन् । यी तीनै दल कम्युनिस्ट विचारबाट प्रभावित छन् । तर उपेन्द्र यादव आफूलाई त्यसरी व्याख्या गर्दैनन् ।

मधेस मामिलाका जानकार तुलानारायण साह भने जसपाका अध्यक्ष उपेन्द्र यादव वामपन्थी नै रहेको बताउँछन् । उनले भने, ‘यो मोर्चाका लागि उपेन्द्र यादव वामपन्थी हुनु नहुनु ठुलो कुरा होइन, उहाँ पावर सेयरिङका लागि मोर्चामा जानु भएको हो । केन्द्रमा प्रचण्डलाई शक्तिशाली र मधेस प्रदेशमा आफूलाई शक्तिशाली बनाउनका लाग उहाँले यो मोर्चा बनाउनु भएको हो, यसको अरू कुनै उद्देश्य छैन ।’

संसदभित्रको अंकगणितलाई आफ्नो पक्षमा राख्नका लागि माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले यो मोर्चा बनाएको टिप्पणी गर्दै साहले भने, ‘माधवकुमार नेपाललाई आफ्ना सांसद जोगाउनु थियो भने उपेन्द्र यादव मधेसमा सीके राउतका कारण कमजोर हुन थालेपछि शक्ति आर्जनका लागि यो मोर्चामा सामेल भएका हुन् ।’

साहका अनुसार यो मोर्चाको औचित्य त्यतिबेला पुष्टि हुन्छ, जतिबेला यी चार वटै दलको बीचमा चुनावअघि एकता हुन्छ । एकता नभए पनि अगामी चुनावमा एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिएमात्र यो मोर्चाको औचित्य पुष्टि हुने उनको भनाइ छ । अन्यथा यो मोर्चा संसदीय अंकगणितका लागिमात्र भएको पुष्टि हुने उनले प्रस्ट पारे ।

‘जसपा कम्युनिस्ट होइन’

जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमन जसपा कम्युनिस्ट पार्टी नभएको बताउँछन् । उनले जसपा नेपाल लोकतन्त्रमा विश्वास गर्ने समाजवादी पार्टी रहेको बताए ।

‘यो मोर्चा एकीकरणका लागि होइन, लोकतन्त्र, संघीय गणतन्त्रलाई बलियो बनाउन बनेको हो, मोर्चामा संसद तथा संसद बाहिर रहेका पार्टी छन्, विभिन्न विचार र उद्देश्य बोकेका पार्टी छन्, त्यसमध्ये एक जसपा पनि हो,’ उनले भने ।

जसपा संसदीय राजनीतिमा विश्वास गर्ने पार्टी हुनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष गरेर आएको उल्लेख गर्दै वामपन्थी विचारसँग जसपा नेपालको दुरदुरसम्म पनि सम्बन्ध नरहेको बताए ।

‘वामपन्थी विचारधारा भएका पार्टीसँग मोर्चाबन्दी वा सहकार्य हुनु अलग कुरा हो तर त्यसलाई स्वीकार गर्नु फरक कुरा हो,’ उनले भने, ‘वामपन्थी तथा लोकतान्त्रिक दलहरुसँग बेलाबेलामा हाम्रो सहकार्य हुँदै आएको छ । यो मोर्चामा रहेका दलसँग पनि त्यस्तै सहकार्य भएको हो ।’

मधेस मामिलका अर्का जानकार विजयकान्त कर्णले नेपालका कम्युनिस्ट पार्टी कम्युनिस्ट नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले बनेको समाजवादी मोर्चामा रहेका कुनै पनि दलसँग कम्युनिस्ट विचार बाँकी छैन, सबै दल समाजवादी विचारमा ढलिसकेका छन् बरु उपेन्द्र यादव कम्युनिस्ट छाडेर समाजवादी हुनुभयो र अरुअरु नेतालाई पनि त्यही लाइनमा ल्याउनुभयो ।’

जसपाका अध्यक्ष उपेन्द्र यादव अब कम्युनिस्ट हुनै सक्दैनन् भन्ने दाबी गर्दै कर्णले यो मोर्चा कुनै विचार निर्माण गर्न वा पार्टी निर्माणका लागि बनेको नभएर राजनीतिमा आफ्नो शक्ति निर्माणका लागि बनेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप