आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप फुटबल : कुवेतसँग नेपाल ३- १ गोलले पराजित

बुधबार, ०६ असार २०८०, १७ : ५६
बुधबार, ०६ असार २०८०

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३-१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए । फवाज वालोताइबीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदुपयोग गर्दै उनले खाली पोस्टमा हेडमार्फत गोल गरेका थिए । 

त्यतिबेला नेपाली टोलीका गोलरक्षक किरणकुमार लिम्बु पनि अगाडि बढेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४२ औँ मिनेटमा सबाइब अलखालदीले गरेका हुन् । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्क्याउँदै गोलमा परिणत भएको थियो ।  कुवेतका लागि तेस्रो गोल निर्धारित समयको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गरेका हुन् । नेपालका रक्षापंक्तिका अनुभवी खेलाडी अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो । 

नेपालका लागि भने ६८ औँ मिनेटमा अञ्जन विष्टले गोल फर्काएका थिए । त्यसअघि खेलको ३५ औँ मिनेटमा अञ्जन विष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । कुवेतका डिफेन्ससमेत केही पछाडि थिए । तर, बल मिलाउन केही समय लाग्दा उनी गोल गर्नबाट चुके ।  त्यसलगत्तै ३५ औँ मिनेटमै मोहम्मद अब्दुल्लाहको हेड प्रहार पोष्ट (क्रसबार) मा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगिएको थियो । तुलनात्मक रूपमा अग्ला कुवेतका खेलाडीले गरेको थुप्रै सशक्त प्रहारलाई नेपालका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए । 

खेलको दोस्रो हाफमा नेपालले कुवेतलाई गतिलो चुनौती दिएको थियो । दोस्रो हाफमा नेपाली खेलाडीले कुवेतको पोस्टमा पनि केही गतिला प्रहार गरेका थिए । नेपाली टोलीको रक्षापंक्तिका खेलाडी अनन्त तामाङले राष्ट्रिय टोलीबाट खेलेको यो ५० औँ खेल थियो ।  साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औँ संस्करण हो । यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ । 

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, मालदिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन ।  यस पटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रूपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो । पहिलो दिन बुधवार साँझ आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ । 

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत कुवेतमा भएको उक्त खेलमा घरेलु टोलीले नेपाललाई ४–१ गोलले हराएको थियो । नेपाल र कुवेतबीच भएको यो १० औँ खेल हो । त्यसमध्ये नौवटा खेलमा कुवेत विजयी भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । १० खेलमा कुवेतले नेपालको पोस्टमा ३७ गोल गरेको छ भने नेपालले कुवेतको पोस्टमा केवल ३ गोल गर्न सकेको छ । पछिल्लो फिफा वरीयतामा कुवेत एक सय ४३ औँ स्थानमा छ । नेपाल भने फिफा वरीयताको एक सय ७४ औँ स्थानमा आसिन छ ।

यस पटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह बी’ मा भने लेबनान, मालदिभ्स, भुटान र बङ्गलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ । सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसैगरी मालदिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बङ्गलादेश, श्रीलंका र अफगानिस्तानले एकरएक पटक उपाधि जितेका छन् । अफगानिस्तान भने यस पटक प्रतियोगितामा सहभागी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप