शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

पाँच आरोपितमध्ये कसको भूमिका के ?

९ पुग्यो पक्राउ संख्या
सोमबार, १८ असार २०८०, २१ : १८
सोमबार, १८ असार २०८०

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ‘सरकारी लिखत किर्ते’ गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । सोमबार पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र मोही देव नारायण महर्जन छन् ।

यस्तै असार १७ गते (आइतबार) ३ जना पक्राउ परेका थिए । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ९ जना अहिले केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् ।

तत्कालीन राजाले बालुवाटारको जग्गा रेखदेख गर्न समरजंग कम्पनी स्थापना गरेका थिए । गृह मन्त्रालय मातहत रहेको सो कम्पनीको प्रमुख थिए नासु रमेश कुमार पोखरेल ।

गोरखापत्रमा बालुवाटारको जग्गाबारे ३५ दिने सूचना प्रकाशित भयो । सूचनामा भनिएको थियो, ‘ललिता निवासको जग्गामा कसैको हकदाबी भए सम्पर्कमा आउनु ।’

तर, आफूले संरक्षणको जिम्मा लिएका पोखरेल हकदाबीका लागि गएनन् । बिचौलियासँग मिलेर पोखरेलले फाइदा लिँदै व्यक्तिका नाममा सरकारी जग्गा लैजान भूमिका खेलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

देवनारायण महर्जनले पशुपति टिकिन्छा गुठीको नक्कली मोहीको भूमिकामा जग्गा हिनामिना गर्न बिचौलियालाई सघाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बिचौलिया राम कुमार सुवेदी र शोभाकान्त ढकालले २०५९ सालमा ‘पशुपति टिकिन्छा गुठी’ को नाममा ‘नक्कली गुठी’ बनाए ।

त्यसपछिका सात–आठ वर्ष मालपोत कार्यालयमा फाइल अल्झिइरह्यो । २०७० मा नक्कली मोही खडा गरेर सुवेदी र ढकालले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सफल भएका हुन् । त्यसबेला देवनारायणले ‘पशुपति टिकिन्छा गुठीको मोही हुँ’ भनेर रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

पशुपति टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना प्रकरणमा १ सय १० जना संलग्न छन् ।

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जनलाई सीआईबीले आइतबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । वडा कार्यालयका सचिव शिवजी भट्टराईले सरकारको जग्गा व्यक्तिको नाममा श्रेस्ता कायम गर्न सहज हुनेगरी सिफारिस दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

आचार्यले भने, ‘तत्कालीन वडा सचिव भट्टराई मुचुल्का बनाउँदा रोहबरमा बसेको देखिन्छ ।’

अर्का आरोपित हुन् घमान कुमार कार्की । तत्कालीन नापी कार्यालयमा कार्यरत घमान कुमार नापी सर्भेक्षक भएर ललिता निवासको जग्गा नापजाँच गर्न खटिएका थिए । नापजाँच गरेर कार्कीले ‘सरकारी जग्गा घुस्दैन’ भनेर व्यक्तिको नाममा जग्गा लैजान सहज हुने प्रतिवेदन दिएको अनुसन्धानबाट थाहा भएको एसएसपी आचार्यले बताए ।

सीआईबीको हिरासतमा रहेका अर्का आरोपित बाबुराजा महर्जन ‘नक्कली मोही’ हुन् । सुवर्ण शमशेर लगायतबाट जफत भएको जग्गा फिर्ता गर्ने प्रकरणमा बाबुराजा नक्कली मोहीको रुपमा ललिता निवासका जोडिएका छन् ।

बिचौलिया रामकुमार सुवेदी मालपोत कार्यालय डिल्लीबजारका लेखापढी व्यवसायी थिए । शोभाकान्त ढकालले उनीसँग मिलेर नक्कली मोही खडा गर्ने तथा नक्कली गुठी बनाएर सो जग्गा व्यक्तिको नाममा ल्याउने योजना बनाएका हुन् ।

जग्गा फिर्ता गर्ने नाममा ११२ रोपनी ४ आना १ दाम जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । सो प्रकरणमा २०९ जना संलग्न छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै चारवटा शीर्षकमा भएको हिनामिनाबारे अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा मुलुकी ऐन–२०२० को किर्ते सम्बन्धी महल अनुसार अनुसन्धान भइरहेको एसएसपी आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप