बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जेष्ठ नागरिकमैत्री बन्दै रोशी गाउँपालिका

सोमबार, १८ असार २०८०, २२ : २२
सोमबार, १८ असार २०८०

काभ्रे । काभ्रेको रोशी गाउँपालिका जेष्ठ नागरिक मैत्री पालिकाका रुपमा अघि बढेको छ । जेष्ठ नागरिकहरुका समस्या समाधानतर्फ गाउँपालिकाले आफ्नै कार्यक्रम केन्द्रीत गरेको छ ।  जेष्ठ नागरिकले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका अग्रसर बनेको छ भने सोहीअनुसार पालिकाका गतिविधि सञ्चालन गरिएको छ ।

 गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य विमादेखि ‘श्रवणकुमार पुरस्कारु वितरण सम्मका योजना कार्यान्वयन गर्नेतर्फ अग्रसरता देखाएको छ । जेष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोरा, छोरी तथा बुहारीलाई गाउँपालिकाले ‘श्रवणकुमार पुरस्कार’ वितरण गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ।

गत आइतबार गाउँपालिकाले एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरेको थियो । समाजमा जेष्ठ नागरिकलाई वृद्ध भएकै कारण हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नहोस्, सबै छोरा बुहारीहरुले आफ्ना बाबुआमाहरुलाई सम्मानपूर्वक व्यवहार गरून् भन्ने उद्देश्यले यो पुरस्कारको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुबाट वडा समितिले छनोट गरि पठाएका प्रत्येक वडाका २ जनालाई सो पुरस्कार वितरण गर्ने गरेको गाउँपालिकाले जनाएको छ । यसवर्ष पनि गाउँपालिकाले १२ वडाका २४ जनालाई सम्मान गरेको छ ।

पुरस्कार प्राप्त गर्नेमा वडा १ बाट बाबुलाल भोम्जन र शंकर श्रेष्ठ, वडा २ बाट पूर्णसिं बल र लालबहादुर लामा,  वडा ३ बाट देवी माया तामाङ र कुमार तुम्सिङमगर, वडा ४ बाट कुलबहादुर रानामगर र   सुभद्रामगर, वडा ५ बाट सुरेन्द्रप्रताप अर्याल र कामीसिंह दोर्जे लामा वडा ६ बाट  जीवनकुमार लामा र इन्द्रबहादुर लामालाई पुरस्कार वितरण गरिएको हो ।

त्यस्तैगरी वडा ७ बाट कुमारी तामाङ र श्रीराम प्याकुरेल, वडा ८ बाट कुमारी तामाङ र नाप्ले तामाङ , वडा ९ बाट साहिला तामाङ र साहर पुलामीमगर, वडा १० बाट रबिन्द्र ठकुरी र भिमकृष्ण लामा, वडा ११ बाट नसन्ती कुमारी तामाङ र भिमबहादुर मगर, वडा १२ बाट ङेमा वाङ्जु मोक्तान र पवन ठाडामगरलाई पुरस्कार वितरण गरिएको छ ।

गाउँपालिकाले उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको थियो । गाउँपालिकाले विगत ४ वर्षदेखि वितरण गर्दै आएको ‘श्रवणकुमार पुरस्कार’ लाई निरन्तरता दिएको हो । हालसम्म गाउँपालिकाले उक्त पुरस्कार करिव १०० जना व्यक्तिहरुलाई वितरण गरिसकेको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिकाभित्र रहेका प्रत्येक छोराछोरी र छोरा बुहारीमा आफ्नो अभिभावकप्रति जिम्मेवार र आफ्नो दायित्वबोध गराइ नैतिक शिक्षा दिने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको बताए। गाउँपालिकाले अघि सारेको यस किसिमको पुरस्कार वितरणले समाजमा रहेका कोहि पनि जेष्ठ नागरिकले आफू कमजोर भएको र बेसहारा भएको महसुस गर्न पर्ने अवस्था नरहेको उनको भनाई छ ।

त्यसैगरी गाउँपालिकाले चालू आर्थिक वर्ष देखि जेष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य विमाको नीतिगत व्यवस्था गरेको छ । रोशी सरकारको जनप्रतिनिधिहरुको  दोस्रो कार्यकालदेखि यो योजना कार्यान्वयनमा ल्याइएको थियो । चालू आर्थिक वर्ष २०७९–०८० मा गाउँपालिकाका १ हजार ४ सय ४७ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमामा सहभागी गराएको गाउँपालिकाको तथ्यांक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप