आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
विश्वविद्यालय

गण्डकी विश्वविद्यालयले बनायो दुना–टपरी बनाउनेदेखि ‘गोबर’ पेल्ने मेसिनसम्म

मङ्गलबार, १९ असार २०८०, १० : १८
मङ्गलबार, १९ असार २०८०

पोखरा ।  शिक्षणसँगै अनुसन्धान, अन्वेषण तथा आविष्कारलाई एक साथ अगाडि बढाइरहेको गण्डकी विश्वविद्यालयले कृषि औजारदेखि दैनिक उपयोगी मेसिनहरु निर्माण गरेको छ । विद्यार्थीलाई शिक्षणसँगै अनुसन्धान केन्द्रित गराएर राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा विश्वविद्यालयले दुना, टपरी बनाउनेदेखि गोबर पेल्ने मेसिनसम्म निर्माण गरेको हो । 

विश्वविद्यालयको आविष्कार केन्द्रले प्रविधियुक्त ८ वटा मेसिन तथा केही बहुउपयोगी औजार बनाएको छ । जसलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिन्छ । विश्वविद्यालयले किसानलाई दैनिक जीवनमा उपयोगी होस् भनेर घाँस टुक्य्राउने मेसिन निर्माण गरेको राष्ट्रिय आविष्कार केन्द्रका वरिष्ठ इन्जिनियर रितेस देवले जानकारी दिए ।

सुक्खा घाँस र फिडर काट्न यो मेसिन उपयोगी छ । जसको लागत ५७ हजार रुपैयाँ पर्ने इन्जिनियर देवले बताए । उनका अनुसार आविष्कार केन्द्रले गोबर पेल्ने मेसिन पनि बनाएको छ । इन्जिनियर देवका अनुसार यो मेसिनले गोबरबाट फाइबर र पानीको मात्रा छुट्याउने भएकाले मल ओसारपसार र भण्डारण गर्न सजिलो बनाउने छ ।

यसको लागत ४ लाख रुपैयाँभन्दा माथि पर्ने आविष्कार केन्द्रले जनाएको छ । विश्वविद्यालयको आविष्कार केन्द्रले किसानहरुलाई नै लक्षित गरेर कोदो काट्ने औजार पनि बनाएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाका अनुसार आविष्कार केन्द्रले प्रारम्भिक चरणमा दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन गर्ने मेसिन पनि बनाएको छ ।

‘गाउँघरमा अहिले युवाहरुको खाँचो छ । सोही कुरालाई मध्यनजर गरेर जोसुकैले पनि सजिलै दाउरा चिर्न सकोस् भनेर दाउरा चिर्ने मेसिन बनाएका हौँ,’ रजिष्ट्रार तिमिल्सिनाले भने, ‘अदुवा प्रशोधन मेसिनचाहिँ ठूलो स्केलमा खेती गर्नेलाई बढी उपयोगी बन्नेछ भन्ने विश्वास छ ।’

अदुवा प्रशोधन गर्ने मेसिनको लागत साढे ३ लाख रुपैयाँ पर्ने आविष्कार केन्द्रले जनाएको छ । आविष्कार केन्द्रले सोलार ड्रायर पनि बनाएको छ । यसले सोलार प्यानलबाट बाली, तरकारी र फलफूललाई तापक्रम दिन मद्दत गर्छ । यसले ७० डिग्री सेल्सियससम्म तापक्रम दिन्छ ।

आवश्यकता परे यसको तापक्रम घटाउने सकिने इन्जिनियर देवले बताए । पोलिकार्बोनेट पाना र एल्मुनियमबाट बनेको सोलार ड्रायर चिसो ठाउँका किसान र व्यवसायीलाई बढी लाभ हुने इन्जिनियर देव सुनाउँछन् ।

‘तापक्रम आवश्यक पर्ने ठाउँमा यसलाई प्रयोग गर्न सकिन्छ । हाम्रो उद्देश्य पनि किसान र व्यवसायीले यसबाट फाइदा लिन सकुन् भन्ने नै हो,’ इन्जिनियर देवले भने । 

विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले आविष्कार केन्द्रले छोटो समयमै बजारलाई आवश्यक कृषि औजारदेखि मेसिन निर्माण गर्न सकेको बताए ।

कुुलपति गुरुङले सोमबार नै विधिवतरुपमा तयार भएका औजार र मेसिनहरुको उद्घाटन गरेका छन् ।

विश्वविद्यालयले आउने दिनमा अनुसन्धान, अन्वेषण तथा आविष्कारको गतिविधिलाई प्रवर्द्धन गर्दै लैजाने उनको भनाइ थियो ।

पेट्रोल मोटर इलेक्ट्रोनिकमा रूपान्तरण 

आविष्कार केन्द्रले पेट्रोल मोटरलाई इलेक्ट्रोनिकमा रूपान्तरण गरेको छ । पेट्रोलियम मोटरलाई विस्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ आविष्कार केन्द्रले विगतमा पेट्रोलबाट चल्दै आएको स्कुटरलाई इलेक्ट्रोनिकमा रुपान्तरण गरेको छ ।

एक हजार वाटको ब्याट्रीबाट चल्ने यो स्कुटरबाट सहरी क्षेत्रका मानिस लाभान्वित हुने इन्जिनियर देवले बताए ।

‘चलिरहेको स्कुटरलाई इलेक्ट्रोनिकमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म लागत हुन्छ । तर, नयाँ नै बनाउनुपरे इलेक्ट्रोनिक स्कुटरको मूल्य २ लाख पर्न आउँछ,’ इन्जिनियर देवले भने ।

आविष्कार केन्द्रले बाँदर धपाउन ‘बाँदर बन्दुक’ र स्वचालित मेसिन बनाएको  छ । ‘यो स्वचालित मेसिनमा सीम पनि हाल्न मिल्छ । यसले फोनको फरक फरक आवाज पनि निकाल्ने हुँदा बाँदर धपाउन सहयोग पुग्छ भन्ने अपेक्षा छ,’ इन्जिनियर देवले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप