आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालेनको अर्को एक्सन : महानगरको स्वीकृतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने काम नगर्न चेतावनी

बिहीबार, २१ असार २०८०, १८ : १४
बिहीबार, २१ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाको अनुमतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने कार्य नगर्न चेतावनी दिएका छन् ।  बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले कानुन प्रतिकूल सरकारी जग्गा लिजमा दिने लिने कार्यको रोकथामसम्बन्धी सूचना जारी गर्दै स्थानीय तह कार्यपालिकाको सिफारिस बिना लिजमा लिनदिन नसक्ने स्मरण गराएका छन् ।   

उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा (१) ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोकेको बताएका छन् । 

मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) बमोजिम जारी भएको सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ ले सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको मेयर शाहले स्मरण गराएका छन् । 

उनले सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको उल्लेख गरेका छन् । 

मेयर शाहले भनेका छन्– ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौँ महानगरपालिकासँग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिने लिने सम्बन्धी प्रचलित कानुन प्रतिकूलको काम कारबाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षण सम्बन्धी काम कारबाहीलाई काठमाडौँ महानगरपालिकाले उच्च प्राथमिकता दिएको छ ।’    

उनले प्रचलित कानुन प्रतिकूल भएको लिज सम्बन्धी निर्णय वा त्यसका आधारमा गरिने लिज सम्झौताले कानुनी मान्यता नपाउने हुँदा त्यस्तो कार्यमा संलग्न नहुन आग्रह गरेका छन् ।  उनले काठमाडौँ महानगरपालिकाबाट सिफारिस नलिई प्रचलित कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी जग्गामा नक्सा पास नगरिने तथा भौतिक संरचना बनाउन स्वीकृति नदिइने चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप