शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभामा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

बिहीबार, २१ असार २०८०, १८ : ५६
बिहीबार, २१ असार २०८०

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहलाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । बिहीबार बजेटमाथि छलफलका लागि बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थपलियाले रोष्टमबाट नै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।  

बजेटमाथिको छलफलका क्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सांसदहरुले राखेका प्रश्नको जवाफ दिएलगत्तै बसेको प्रदेशसभा अर्को बैठकमा समय माग गरेर बोल्दै नेता थपलियाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएकोले राजीनामा दिनुपर्ने बताए । 

‘प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको घोर आपत्ति रहेको छ । जनताले छानेका प्रतिनिधिहरूले देशको प्रधानमन्त्री बनाउने हो, भारतले होइन । यो स्वीकार्य छैन । यो जनताले छानेका प्रतिनिधि माथिको अपहेलन हो । प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ ,’उनले भने ।

नेता थपलियाले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेसँगै एमालेका सांसदहरुले संसद् बैठकमा नै नाराबाजी सुरु गरेका थिए । गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर नेता थपलियाले राजीनामाको माग गरेका हुन् ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि लेखिएको एक पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन कुनैबेला दिल्लीसम्म गएको अभिव्यक्ति दिएका थिए ।

नेता थपलियाले बोलेपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले एमालेका सांसदहरुलाई बस्न आग्रह गर्दै बैठकको कारबाही अघि बढाएका थिए । सभामुख पाठक अघि बढ्दै गर्दा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले संसदको अभ्यास नै प्रभावित पारिएको भन्दै नियमापत्ति गरेका थिए । 

प्रतिपक्षी दलका नेताले संसदमा आफ्ना विषयहरु राख्न पाउने तर, बजेटमाथिको छलफलका क्रममा मुख्यमन्त्रीले जवाफ दिइसकेपछि अन्य कोहीले पनि समय माग गर्दै बोल्न नपाइने भन्दै नियमापत्ति गरेका थिए । उनले संसद् नियमावली विपरीत गएर मुख्यमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिए पछि पनि सांसदले समय माग गरेर बलेको भन्दै आपत्ति जनाएका थिए । उनले सो प्रक्रिया संसदीय मर्यादा र अभ्यास नै प्रभावित भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप