‘मुकुन्द्रले नाबालिगलाई कुटपिट गरेर बेपत्ता पारे, हाम्रो पक्षमा बोलीदिने को ?’
सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिका–४ मा भएको घटनालाई लिएर यतिबेला सबैतिर चर्चा छ । स्थानीय २१ वर्षीय मुकुन्द्र नेपालीले सोही गाउँकी १४ वर्षकी नाबालिगलाई भगाएपछि आवेगमा आएर नाबालिगका दाइले मुकुन्द्रको घर जलाइदिएका थिए ।
यो घटनालाई पछिल्लो समय जातीय रुपमा उठान गर्न खोजिएको भन्दै किशोरीका परिवारले आपत्ति जनाएका छन् । मुकुन्द्रको घर जलाएको आरोपमा किशोरीका दाइलाई आइतबार नै प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा दुवै पक्ष पीडित भए पनि बाहिर अन्तर्जातीय घटना भन्दै एक पक्षीय रुपमा चर्चा गरिएको किशोरीका परिवारको गुनासो छ ।
पीडित नाबालिगलाई भगाएका मुकुन्द्र अहिले कहाँ छन् भन्ने अझै पत्ता लागेको छैन । किशोरीको अवस्था पनि अज्ञात नै छ । नाबालिगकी दिदीले बिहीबार जुम्लामा पत्रकार सम्मेलन गर्दै नाबालिगको गोपनीयता भङ्ग गरी सञ्चार माध्यम र विभिन्न पार्टीका भ्रातृ संगठनले पीडामाथि पीडा थप्ने काम गरिरहेको गुनासो गरिन् ।
उनका अनुसार उनकी बहिनी १२ असार बेलुका ४ बजेतिर औषधि लिनका लागि घरबाट हिँडेकी थिइन् । यद्यपि उनी अबेरसम्म पनि घर आइनन् । पछि खोजी गर्दा कतै पत्तो लागेन ।
‘मेरो बुबा र अंकल ऐरेनीमा रहेको प्रहरी चौकीमा छोरी हराएकोले खोजी गरिपाऊँ भनेर पुगे,’ उनले भनिन्, ‘प्रहरीले भोलि आएर निवेदन दिनु भने । भोलिपल्ट अर्थात् १३ असारमा चौकी पुग्दा जिल्लामा गएर निवेदन दिन भनियो । बुबाले जिल्लामै गएर छोरी खोजीदिन निवेदन दिनुभयो । पछि प्रहरीले नै तपाईँको छोरी हराएको नभई बिहे गरेर गएको रहेछ भनेर बुबालाई भने ।’
त्यसपछि कोसँग बिहे गरेर हिँडी भन्नेबारे खोजी गर्दा मुकुन्द्र नेपालीले अघिल्लो दिन नाबालिगलाई कुटपिट गरेको स्थानीयले देखेको आफूहरुले थाहा पाएको उनले बताइन् । ‘साँझ ७ बजेतिर पाण्डेबाडाको दिहारको रुख नजिकै मुकुन्द्रले बहिनीलाई कुटपिट गरेर लछारपछार पारेको त्यहीँ खेलिरहेका बच्चाहरुले सुनाए,’ उनी भन्छिन्, ‘हामीले घटना के हो भनेर खोजी गरेका हौँ, आज ८ दिन पूरा भइसक्दा पनि उसको अवस्था के छ भन्ने कसैलाई केही थाहा छैन ।’
कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न बन्देज गरे पनि १४÷१५ वर्षको किशोरीलाई भगाएर लगेको विषयप्रति कसैले गम्भीरतापूर्वक नसोचेको उनको गु्नासो छ । बरु उल्टै घटनालाई ‘अन्तरजातीय विवाह’ भनेर प्रचार गरिएको भन्दै उनले असन्तुष्टि पोखिन् ।
‘पत्रकारहरुले नै बालविवाह हो कि अन्तरजातीय विवाह हो, छुट्याइदिनु प¥यो’ भन्दै उनले आफ्नी बहिनीको अवस्था पत्ता लगाउन सहयोगका लागि आग्रहसमेत गरिन् ।
‘हामीले कहिले र कहाँ अन्तरजातीय भनेर विभेद गरेका छौँ ? तपाईँहरुले नै अन्तरजातीय विवाह भनेर बालविवाहलाई पनि वैधानिक बनाइरहनु भएको छ,’ किशोरीकी दिदीले भनिन्, ‘के हामी निमुखाहरुले न्याय नपाउने ? हामी गरिब कमजोर भएका कारण बलात्कृत हुनुपर्ने र बालविवाहका लागि बाटोबाटै अपहरण हुनुपर्ने ?’
उनले मुकुन्द्रको घर जलाएको आरोपमा आफ्नो भाइ प्रहरीको नियन्त्रणमा रहेको भन्दै उसको कसुर अनुसार सजाय स्वीकार्य हुने बताइन् । उनी भन्छिन्,‘ मेरो भाइ प्रहरी हिरासतमा छ, यदि ऊबाट त्यस्तो भएको भए कानुन बमोजिम कारबाही होस्, तर बालविवाहलाई निस्तेज पार्न वा लुकाउन अन्तरजातीय विवाहको लेपन पक्कै पनि राम्रो होइन ।’
विभिन्न पार्टीका भ्रातृ संगठनहरुलाई लक्षित गर्दै उनले १४ वर्षकी बालिका बेपत्ता तथा बन्धक बनाएको कुरालाई अन्तरजातीय विवाहमा परिभाषित नगर्न पनि आग्रह गरिन् । ‘घटनाले हाम्रो परिवारमा गहिरो चोट पुगेको छ,’ उनी भन्छिन्, ‘दलका संगठनले निकालेको विज्ञप्तिमा मेरी बहिनीका लागि न्याय मारेको महसुस भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण