शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानले सजिलै जित्यो बङ्गलादेशविरुद्वको शृङ्खला

आइतबार, २४ असार २०८०, १० : २४
आइतबार, २४ असार २०८०

काठमाडौँ । अफगानिस्तानले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बलियो बङ्गलादेशमाथि एक सय ४२ रनको सजिलो जित हासिल गरेको छ । दोस्रो सफलतासँगै अफगानिस्तानले अन्तिम खेल अगावै एक दिवसीय शृङ्खला पनि २—० ले आफ्नो पक्षमा पारेको छ ।

यसअघि पहिलो खेलमा पनि अफगानिस्तान विजयी भएको थियो । दोस्रो खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ३१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बङ्गलादेशले भने ४३।२ ओभरमा अलआउट हुनुअघि एक सय ८९ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङमा ओर्लिएको अफगानिस्तानले पालीको गतिलो सुरुआव गरेको थियो । अफगानिस्तानका दुवै ओपनर ब्याट्सम्यानले शतक बनाए । रहमानुल्लाह गुर्बाजले एक सय ४५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाहले एक सय २५ बलमा आठ छक्का र १३ चौका पनि प्रहार गरे ।

अर्का ओपनर इब्राहिम जादरनले एक सय रनको योगदान गरे । उनले एक सय १९ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । उनीहरुले ओपनिङ विकेटका लागि दुई सय ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । 

बङ्गलादेशका बलर मुस्तफिजुर रहमान, हसन महमुद, सकिब अल हसन र मेहिदी हसनले दुई—दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको बङ्गलादेशका लागि मध्यक्रमका ब्याट्सम्यान मुसफिकर रहिमले सर्वाधिक ६९ रन बनाए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बङ्गलादेशलाई सस्ताेमा समेट्न अफगानिस्तानका बलर फजालहक फारुकी र मजिब उर रहमानले तीन—तीन विकेट लिए । रसिद खानले दुई र मोहम्मद नावीले एक विकेट हात पारे । 

उक्त खेलमा अफगानिस्तानका रहमुल्लाह गुर्बाज म्यान अफ दी म्याच घोषित भए । तेस्रो एक दिवसीय खेल मंगलबार खेलिने छ । एक दिवसीय शृङ्खलापछि दुवै टोलीबीच टीट्वान्टी शृङ्खला सुरु हुनेछ । हाल अफगानिस्तानको टोली बङ्गलादेश भ्रमणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप