सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : माफ गर्नुस् बुवा !

आइतबार, २४ असार २०८०, १६ : १३
आइतबार, २४ असार २०८०

- वीरेन्द्र कटुवाल


‘ऊ दगुर्दै दगुर्दै आई र घरभित्र पसी,’ सकिनसकी दाहिने हात उचाले र चोरी औँलाले देखाउँदै कामरेड जनकले भने, ‘ऊ त्यही डोरीमा झुन्ड्यिाइएको सेतो पटुका झिकेर कम्मरमा कसी । भुइँमा थचक्क बसी । आँशुले निथ्रुक्क भिजेका आँखाले मलाई एकछिन एकटकले हेरिरही । चुपचाप चुपचाप धेरैबेरसम्म हेरी । खै के सम्झी भगवान् जाने । जुरुक्क उठेर कोठाबाट एकाएक अलप भई । त्यसको भोलिपल्ट एक जना गाउँले ठिटाले ऊ संसारबाटै अलप भएको खबर सुनाए ।’ 

कामरेड जनक सकिनसकी कोल्टे फर्किए । सिरानीमुनि हात घुसारे । उनको तनमन जस्तै खजमजिएको कागजको एउटा चिर्कटो म भएतिर तेस्र्याउँदै एक फाँको सास फुस्स छोडे । सास फिर्ता तान्छन् कि भनेर एकछिन आश गरेँ । नाकमा औलो लगेर विचार गरेँ । अहँ, तान्दै तानेनन । वृद्धापाङ्ग कामरेड जनकको अन्त्यसँगै उनका थुप्रै कथा जन्मिए । 

‘मानौँ हाम्रो देश कथाहरू उत्पादन गर्ने कारखाना हो । परपीडकहरू कारखानाका मालिक हुन् र शासकहरू मालिकका गुलाम... ।’ मनमा यस्तै केके कुरा खेलाउँदै, उनले थमाएको कागजको चिर्कटो फुकाएर पढेको थिएँ ।  
बुवालाई पढ्न सकस हुन्छ भनेर, छोरीले लामा कुरा लेखेकी थिइनन् । 

‘माफ गर्नुस् बुवा ! 
बुवा, हिजोसम्म बाँचे किनभने न्याय पाउने ठुलो आशा थियो । अरू दिदीबहिनीहरू पनि म जस्तै सिकार हुन्छन् कि भन्ने त्रास थियो । 
हिजो राति अनायास मेरो बाच्ने उद्देश्यको पनि हत्या भयो किनभने मलाई बलात्कार गर्ने कामरेडको घरमा काला कोटेहरूको बास थियो । 

बुवा, 
बलात्कार हँुदाहुँदै मरेकी भए सायद म सहिद घोषित हुने थिएँ कि ? आत्महत्या गरेँ, त्यसैले कायर भनेर मेरो खिल्ली उडाउँदै होलान् । बाँच्दै पनि कहाँ शान्ति थियो र बुवा ? 
‘यसलाई त बलात्कार गरेका रे’ भनेर खिसिट्युरी गर्न छोडेका होइनन् । त्यहीँ पनि न्याय पाउने आशमा बाँचेकी थिएँ । आश मरेपछि, लास भएर बाँच्नुको केही अर्थ भेटिनँ । तपाईंलाई पढ्न कष्ट होला । कुरो बुझिहाल्नु भयो । 
काश, तपाईंको रगत उमाल्ने ती क्रान्तिकारी सिद्धान्त र अक्षरहरूमा प्राण भइदिएको भए, कम से कम तपाईंको लासले मलामी त पाउँथ्यो होला । अल बिला बुवा । यो जुनीमा यस्तै भयो । खै कसलाई दोष दिऊँ । 
                                        
तपाईंकी पुलपुलिएकी छोरी 

सीता 

(लेखक वैदेशिक रोजगारीको सिलसिलामा हाल साउदी अरबमा छन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप