शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
वैज्ञानिक

चीनमा जमेका नेपाली खगोल वैज्ञानिक

सोमबार, २५ असार २०८०, १२ : ००
सोमबार, २५ असार २०८०

चीन । जनवादी गणतन्त्र चीनस्थित युनान प्रान्तको युनान विश्वविद्यालय परिसरमा रेन्जर साइकल चढेर घुमिरहन्छन् नेपाली खगोल वैज्ञानिक डा. चन्द्रबहादुर सिंह ।

गत अप्रिल २२ मा शतवार्षिकी मनाएको युनान विश्वविद्यालयमा खगोल विज्ञानसम्बन्धी शोध केन्द्रका सहअनुसन्धान प्राध्यापक चन्द्रले चीनमा खगोल खोज गर्न थालेको तीन वर्ष पूरा हुँदै छ । 

चीनमा खगोलशास्त्रको प्राध्यापक र अनुसन्धानको काम गर्ने उनी पहिलो नेपाली भएको दाबी गर्ने चन्द्रको जन्मथलो नेपालको सर्लाही जिल्ला हालको बलरा नगरपालिका हो । तर अहिलेको उनको स्थायी ठेगाना भने काठमाडौँ पुरानो सिनामङ्गल हो । 

विद्यालय शिक्षा अध्ययनका क्रममा नेपालका नौ वटा स्थानमा पढेका चन्द्रले २०५५ सालमा महेन्द्रनगर आदर्श विद्या निकेतनबाट विज्ञान र गणितमा सुदूरपश्चिमाञ्चल क्षेत्रबाट (तत्कालीन) सबैभन्दा बढी अङ्क ल्याएर प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका थिए । प्रदेशबाट एसएलसीमा राम्रो अङ्क आएपछि वैज्ञानिक बन्ने सपना बोकेर हिँडेको चन्द्रले २० वर्षपछि चीनमा उच्च सम्मानका साथ खगोल वैज्ञानिकको दर्जा पाएर युनान प्रान्तको युनान विश्वविद्यालयमा अनुसन्धानको काममा रमाइरहेका छन् । 

mmexport1688720175425

चन्द्रका बुबा नेपालको सरकारी जागिरे थिए । चन्द्रको विद्यालय जीवन बुवाको जागिर घुमे जस्तै विभिन्न जिल्ला र विद्यालय पनि परिवर्तन भयो । बुवाको घुमन्ते सरकारी जागिरका क्रममा भैरहवा, जनकपुर, धनकुटा, जलेश्वर, कलैया, धनगढी, महेन्द्रनगर, वीरगञ्ज र काठमाडौँ लगायत जहाँ बुवा सरुवा हुने चन्द्रको विद्यालय पनि त्यही हुने गरेको थियो । विद्यालय शिक्षा पूरा गरी वीरगञ्जको निजी कलेज हरिखेतान बहुमुखी क्याम्पसबाट विज्ञान सङ्कायमा दस जोड र वीरगञ्जकै ठाकुरराम बहुमखी क्याम्पसमा बिएस्सी प्रथम वर्ष र त्यसपछि त्रिचन्द्र बहुमुखी क्याम्पसमा दोस्रो र तेस्रो वर्ष अध्ययन पूरा गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र केन्द्रीय विभाग सन् २००७ मा स्नातकोत्तर (एमए) पूरा गरे । 

त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्री प्राध्यापक उदयराज खनालको सुपरिवेक्षणमा अध्ययन, अनुसन्धान गर्दैगर्दा कलकत्तास्थित भारतको ‘इन्डियन सेन्टर फर स्पेस फिजिक्स’ विद्यावारिधिको अवसर पाएका चन्द्रले खगोल वैज्ञानिक बन्ने सपना पूरा गर्ने सोचमा निरन्तर अगाडि बढिरहे । 

भारतको कोलकत्तामा बस्दा भौतिक विज्ञानमा नोबेल पुरस्कार प्राप्त प्राध्यापक सुब्रवन्यम चन्द्रशेखरका शिष्य प्राध्यापक सन्दीप चक्रवर्ती जसले चन्द्रलाई विद्यावारिधिको कामका सुपरीवेक्षक गरेका थिए । उनको मेहनत र काम देखेर भारतमा विद्यावारिधि गर्न इटालीस्थित ‘इन्टरनेसनल सेन्टर फर थेओरोकिटल फिजिक्स’ बाट छात्रवृत्ति (फेलोसिप) पाएर विद्यावारिधि गरेका चन्द्रले कलकत्तास्थित जाधवपुर विश्वविद्यालयबाट सन् २०१३ मा विद्यावारिधि प्राप्त गरेको प्रमाणपत्र हात पारेपछि कलकत्ताबाट अनुसन्धानको काममा विश्वयात्रा गर्ने सोचमा हिँडे । 

वैज्ञानिक बन्ने सपनाको यात्रा अझै रोएिकन चन्द्रको । विद्यावारिधि पूरा गरेपछि पोस्ट डक (विद्या वाचस्पति) का लागि पहल गर्दा ब्राजिलको युनिभर्सिटी अफ साउपाउलोबाट (सन् २०१३ देखि २०१७ सम्म) यहाँको सरकारबाट एक लाख २० हजार अमेरिकी डलर बराबरको ४ वर्षे खगोल अध्ययन अनुसन्धानको ‘ग्रान्ट’ पाएका चन्द्रले अस्ट्रिया, इटली, फ्रान्स, जर्मनी, कोलम्बियाका विभिन्न विश्वविद्यालयमा आफूले अध्ययन र अनुसन्धान गरेका ज्ञानहरू सिकाउँदै शैक्षिक भ्रमणको काममा लागिरहे । कर्म र भाग्यमा विश्वास गर्ने चन्द्रले सन् २०१७ मा पोस्टडट सकेर बसेका के थिए, इजरालयली साइन्स फाउन्डेसनको अनुदानबाट दोस्रो पोस्ट डक (दोस्रो विद्या वाचस्पति) गर्ने अवसर पाए । दोस्रो पोस्ट डक पूरा गर्दै थिए, त्यतिबेला चीनस्थित युनान विश्वविद्यालयले खगोल विषयका अन्तर्राष्ट्रिय (विदेशी) प्राध्यापक माग गरेको थाहा पाए । सेवा सुविधाका हिसाबले इजरायलभन्दा बढी भएका कारण चीनमा आउने सोच बनाए । सन् २०१९ मे महिनामा चीनका विभिन्न भौतिकशास्त्रीले चन्द्रसँग अन्तर्वार्ता लिए । उनले गरेका काम र लेखेका अनुसन्धान दस्ताबेजहरू पढेपछि चिनियाँ प्राध्यापक र युनान विश्वविद्यालयको भौतिकशास्त्रीहरूले चन्द्रलाई छनोट गरे । त्यसपछि उनी अहिलेसम्म चीनमा छन् । कोभिड महामारीका समयमा पनि विश्वविद्यालय परिसरभित्र बसेर अनलाइनबाट काम गरिरहे । चन्द्रले चीनमा यस्तो अवसर पाउने सम्भावना सोच पनि राखेका थिएन । तर कहिलेकाहीँ र कर्म र भाग्य दुवैमा विश्वास गर्नुपर्ने रहेछ । चन्द्र भन्छन्, ‘आफ्नो ज्ञान र सीप छिमेकी देश चीनका विद्यार्थीलाई सिकाउन पाउँदा निकै खुसी छु ।’

mmexport1688720172462

वैज्ञानिक चन्द्रको सामान्य व्यक्तित्व 

झुस्स दारी पालेका, नेपालको तराईमा दौडिरहने सामान्य व्यक्तिको जस्तो लवाइ र आफ्नो काममा एकोहोरो लागिरहने चन्द्र शनिबार र आइतबार  युनान विश्वविद्यालय परिसर र पहाडतिर साइकलमा घुमिरहन्छन् । खगोल विज्ञानसम्बन्धी अनेकन लेख रचना, अन्तर्राष्ट्रिय ख्याति प्राप्त जर्नलहरूमा अनुसन्धानात्मक लेखरचना प्रकाशित गर्ने, चिनियाँ भौतिकशास्त्री विद्यार्थीहरूलाई अध्यापन र अनुसन्धान काम सिकाउने उनको मुख्य काम हो । 

चीनमा आएपछि उनी ढुक्कले आफ्नो विषय र अनुसन्धानको काममा निरन्तर लागिरहेका छन् । त्यसैले उनलाई चीन सरकारको तर्फबाट चीनको ‘नेसनल साइन्स फाउन्डेशन’ले सन् २०२० मा अनुसन्धान परियोजनाअन्तर्गत एक लाख अमेरिकन डलर बराबरको अर्काे ‘अनुसन्धान ग्रान्ट’ पाएका थिए । 

पछिल्लो समय भौतिक विज्ञानका सिद्धान्त र खगोलशास्त्र अध्ययनमा चीनले अनुसन्धानका लागि भनेर लगानी धेरै गरेको छ । ‘चाइनिज स्पेस स्टेसन’ र दूरविनलगायतका परियोजनमा चीनले निकै गहिरो अध्ययन गरिरहेको छ । चन्द्र भन्छन्, ‘हामीले पनि अनुसन्धानको काममा सहयोग गरिरहेका छौँ ।’ 

चन्द्रले अनुसन्धानको कामबाहेक चिनियाँ भौतिकशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई शोध गराउने, शोधको बारेमा सल्लाह दिने काम पनि गर्छन् । एक वर्षदेखि उनले आफ्नो अनुसन्धानको काममा नेपाली भौतिकशास्त्र अध्ययन गरेका विद्यार्थीहरूलाई समेत शोधको काम लगाएका छन् । ‘चिनियाँ ग्रान्ट’ बाट त्रिभुवन विश्वद्यालयमा पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस लैनचौरका छात्र र त्यहाँ कार्यरत प्राध्यापकलाई शोध कार्यमा सहभागी गराउने काम गरेका छन् । अमेरिका, ब्राजिल, जापान, सिङ्गापुर, बेलायतबाट प्रकाशित हुने भौतिक विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा लेख प्रकाशित गरेका चन्द्रको ‘नेचर एस्ट्रोनोमी’ अन्तर्राष्ट्रिय जर्नलमा समेत खगोल विज्ञानसम्बन्धी अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन् । 

चीनमा खगोल विज्ञानसम्बन्धी अध्यापन हुने १५ वटा विश्वविद्यालय छन् । युनान विश्वविद्यालयमा खगोल विज्ञान अनुसन्धान केन्द्र सन् २०१७ देखि खुलेको हो । युनानमा अन्य देशका खगोलका प्राध्यापकहरू कार्यरत छन् । चन्द्रलाई युनान विश्वविद्यालयले सन् २०२५ सम्म युनानमा बसेर काम गर्ने जिम्मेवारी सम्झौता गरेका छन् । 

पछिल्लो समय चन्द्रले खगोलशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि गर्ने चिनियाँ विद्यार्थीहरूलाई अनुसन्धानको काम गराउने र निरीक्षणमा पनि खटिएका छन् । 

देश र घर छाडेर हिँड्न थालेको १५ वर्ष भएछ । मुस्किलले १५ वर्षको बिचमा ६ महिना पनि नेपाल बस्न पाएको छैनन् । सर्लाही जाने इच्छा छ तर समय नै छैन चन्द्र भन्छन्, ‘जिन्दगीको आधा समय वैज्ञानिक बन्ने सपना पूरा गर्न लाग्यो ।’ अब केही वर्षपछि नेपाल फर्केर केही गरौँ भन्ने सोच बनाएको छु तर नेपालमा अवसर नै छैन भन्छन् उनी । चीनबाट अनुदान लिएर भए पनि नेपालमा गएर सेवा गर्ने इच्छा उनको छ । 

वैज्ञानिक भएर देश विदेश घुम्ने आशीर्वाद आमा रश्मि सिंह र श्रीमती लाउरा गारसिया (कोलम्बियन)बाट पाएको उनी बताउँछन् । उनकी आमाको माइती भारतको विहार हो । उनी मामा घर नगएको पनि वर्षौँ भएको छ । विद्यालय जीवनमा भारतका अनेक ठाउँ घुमेका चन्द्रलाई भारत र नेपाल घुम्ने रहर अझै छ । तर  अध्ययन अनुसन्धानका काम र अवसरले कहिले छोड्ने हो उनलाई नै थाहा छैन । 

mmexport1688720178767

वैज्ञानिक चन्द्रलाई चीन सरकारले दिएको सेवा र सुविधा अङ्क निकै राम्रो छ । अध्ययन र अनुसन्धानको काम र पाएको सेवा सुविधाप्रति सन्तुष्ट हुनुहुन्छ भन्दा चन्द्र भन्छन्, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले पाउने सुविधा भन्दा १० गुणा बढी अङ्कमा सुविधा पाएको छु । सामान्य परिवारमा जन्मिएर नेपालबाट विश्वयात्रा गर्दै छिमेकी चीनबाट यति राम्रो सुविधा पाउँदा पनि खुसी हुन नसक्नु भन्ने कुरै हुँदैन । पछिल्ला वर्षमा विश्वभरका अध्येताहरूलाई चीन सरकारले राम्रो सुविधा दिएर सेवा लिएको छ । त्यही  अवसर नेपाल खगोल वैज्ञानिक प्राध्यापक डा. चन्द्रबहादुर सिंहले अवसर पाएका हुन् । 

उनलाई खगोल वैज्ञानिक बनाउने र यो स्थानसम्म पुग्न प्रेरणा दिने काम उनका आदरणीय गुरु भौतिकशास्त्री प्राध्यापक उदयराज खनालले गरेका हुन् । ‘खनाल गुरुले नै अनुसन्धान, लेखनको काम सिकाउनुभयो,’ उनले भने, ‘आज म जहाँ पुगे पनि खनाल गुरुको सिकाउनु भएको ज्ञान र उहाँको सोच अनुसार काम गरिरहेको छु ।’ भौतिकशास्त्रका प्राध्यापक उदयराज खनाल नेपालका वरिष्ठ कूटनीतिज्ञ स्व. यदुनाथ खनालका सुपुत्र हुन् ।

हामी धेरै कुरा मिलाएर बोल्न जान्दैनौँ चन्द्रले भने, ‘नेपाली माटोमा जन्मिएर संसारका प्रतिष्ठित संस्थामा काम गर्दै छिमेकी देश चीन आइपुगेको छु । अब २०२५ पछि कहाँ के अवसर आउँछ थाहा छैन तर नेपालमै खगोलशास्त्रसम्बन्धी अध्ययन अनुसन्धानको ग्रान्ट लिएर फर्कने सोच चाहिँ छ ।’ उनले जीवनमा आवश्यक पर्ने जति अर्थ पनि आर्जन गरे । अब बाबु बाजेको जन्मथलो र देशको लागि केही गर्ने सोच उनले राखेका छन् । 

भविष्यमा भौतिकशास्त्र अध्ययन गरेका नेपाली विद्यार्थीले चीनमा निकै अवसर पाउने सम्भावना उनले देखेका छन् । मित्रवत् छिमेकी देश चीनमा बसेर काम गर्दा उनी निकै खुसी छन् । 

‘अवसर खोजी गरिरहनुपर्छ, आफ्नो काम र मेहनतमा भरोसा राख्दा विश्वमा सम्भावनाहरू असीमित छन्’, चन्द्रले भने, ‘चीनमा आएपछि कामको महत्त्व अझ बढी बुझेको छु ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप