सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशमा नयाँ प्रावधान अनुसार रुपन्देहीमा सर्वाधिक नागरिकता वितरण, तीन जिल्लामा शून्य

सोमबार, २५ असार २०८०, १६ : ४३
सोमबार, २५ असार २०८०

बुटवल । नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म जन्मसिद्धका सन्तानका आधारमा नागरिकता कसैले पनि लिएका छैनन् ।

उक्त ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा मध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन् ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले नयाँ प्रावधान अनुसार कसैलाई पनि नागरिकता प्रदान नगरिएको बताए । उनले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन २ जना आए पनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पु¥याएर आउन आग्रह गरिएको रातोपाटीलाई बताए ।

यस्तै प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयाँ प्रावधान अनुसार नागरिकता लिन नआएको प्रशासकीय अधिकृत मेघराज सैनीले बताए ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयाँ प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताए ।

यो प्रावधानअनुसार सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन् ।

रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगाँवावाट नागरिकता दिने काम भइरहेको छ ।

बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माका अनुसार अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएका छन् ।

नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा अनुसार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सेमरीबाट गरी जम्मा एक हजार ५५ जनाले जन्मसिद्धका सन्तानका आधारमा नेपाली नागरिकता पाएका छन् ।

कपिलवस्तु जिल्लाको जिल्ला प्रशासन कार्यालय बाहेक चन्द्रोटा र बाणगंगाबाट हालसम्म ७७३ जनाले त्यसरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

यस्तै दाङ जिल्लामा जम्मा ३६ जनाले जन्मसिद्धको सन्तानका आधारमा नयाँ ऐनअनुसार नागरिकता लिएका छन् । पाल्पामा अहिलेसम्म ३ जनाले त्यसरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।

यस्तै, गुल्मीमा ४ र अर्घाखाँचीमा १ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप