बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

मन्त्री हेरफेरको मुडमा प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, २६ असार २०८०, २२ : १८
मङ्गलबार, २६ असार २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्री हेरफेर गर्न लागेको स्रोत बताउँछ ।

जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उसले विकासे मन्त्रालय माग गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसकेका छन् । तर कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा उनी पुगेको स्रोतको भनाइ छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ । उपमहासचिव वर्षमान पुनलगायत सरकारमा जाने चर्चा छ ।

त्यसमध्ये उपमहासचिव पुनलाई सरकारमा ल्याउने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पनि रहेको बताइन्छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले वर्षमानलाई सरकारमा ल्याउन चाहेका थिए । तर उनले रवि लामेछाने उपप्रधानमन्त्री भएको सरकारमा आफू सहभागी नहुने भनेका थिए ।

अहिले रवि लामिछाने सरकारमा छैनन् । सरकारको कामलाई परिणाममा पुर्‍याउने मन्त्री चाहिएको भन्दै वर्षमान पुनलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउन चाहेको स्रोतले दाबी गरेको छ । तर नेता पुनका स्वकीय सचिव सन्तोष पुनले वर्षमान पुन सरकारमा जाने मनस्थितिमा नरहेको बताए । यदि प्रधानमन्त्री प्रचण्डले आउनै पर्छ भनेको खण्डमा त्यसका बारेमा सोच्न सकिने अवस्था रहेको उनको भनाइ छ । आफ्नै पार्टीका कोही मन्त्रीलाई हटाएर आफू मन्त्री बन्ने चाहना वर्षमानको नरहेको सन्तोषले प्रस्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरु हेरफेरका विषयमा आफ्ना निकटका नेताहरुसँग घनिभुत छलफल चलाइरहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं सांसद राजन दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आफ्नै पार्टीका मन्त्री वा अरु कुनै मन्त्री फिर्ता बोलाउन सकिने बताए । तर अहिले नै माओवादीको मन्त्री हटाएर माओवादीबाटै अर्को व्यक्तिलाई सरकारमा सामेल गर्ने सोचमा प्रधानमन्त्री रहेको भन्ने आफूलाई नलागेको उनले बताए ।

उनले भने, ‘कार्य मूल्याङ्कनमा कसैले नराम्रो काम गर्नुभएको छ, राष्ट्र तथा पार्टीको हित विपरीतमा काम गर्नुभएको छ भने त्यस्तालाई सरकारमा राख्न हुँदैन भन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड पनि हुनुहुन्छ तर अहिले त्यस्तो अवस्था आएको छैन ।’

प्रधानमन्त्री प्रचण्डका निजी सचिवालय स्रोतका अनुसार पार्टीले पाएको सबै मन्त्रालय हेरफेर गर्नुभन्दा पनि एक जना कसैलाई हटाएर जनमतलाई सरकारमा ल्याउनेबारे छलफल चलिरहेको छ ।

पार्टीबाट मन्त्री भएकामध्ये संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर जनमतलाई त्यही मन्त्रालय वा अरु कुनै मन्त्रालय हेरफेर गरेर भए पनि समावेश गराउने तयारी चलिरहेको सचिवालय स्रोतले जनाएको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा जसरी पनि सहभागी गराउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रधानमन्त्रीजीले हामीसँगको छलफलमा तपाईहरु नआत्तिनु, म यसको व्यवस्थापनमा लागेको छु, चाँडै नै तपाईहरुलाई सहभागी गराउने छु भन्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप