मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीलाई पत्नी शोक

सीता दाहालका दुई छोरी भावविह्वल, भावुक बन्दै सम्हाल्ने प्रचण्डको प्रयास

बुधबार, २७ असार २०८०, ११ : ४०
बुधबार, २७ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि दुई छोरी भावविह्वल बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा दुई छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका हुन् ।  आमाको बुधबार बिहान निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाल काठमाडौँ आएकी थिइन् । विमानस्थलबाट सिधै नर्भिक पुगेकी उनी त्यहाँ पुगेपछि भावविह्वल बनेकी थिइन् । यस्तै रेनुकी बहिनीसमेत रहेकी गंगा पनि उस्तै भावविह्वल बनिन् । 

आमाको पार्थिव शरीर नजिक उभिएका उनीहरु आँखामा बलिन्द्र आँशु बनाउँदै ‘आमा‍‍‍‍‍...’ भन्दै बेस्सरी रोए । छोरीहरु भावविह्वल बनेपछि नजिकै रहेका प्रचण्डले छोरीहरुलाई सम्झाउने र सम्हाल्ने प्रयास गरेका थिए । आफूपनि भावुक भएका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर ‘अब जे नहुनु भयो...म छु तिमीहरुको साथमा...’ भन्दै सम्हाल्ने प्रयास गरेका थिए । 

प्रचण्डको भावुकताका बीच छोरीलाई सम्हाल्दै गर्दाको दृश्य निकै भावुक रहेको थियो । 

लामो समय पार्किन्सनसम्बन्धी रोगबाट ग्रसित सीता दाहालको विभिन्न अस्पतालमा उपचार भएको थियो ।  तर, स्वास्थ्यमा उनको थप जतिलताहरु आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो ।  यस्तो बेलामा प्रचण्डले व्यस्तताका बीच पनि श्रीमती सीताको निकै ‘केयर’ गर्ने गरेको सचिवालयका अधिकारीहरु बताउँछन् । 

समयमा औषधि खुवाएको–नखुवाएको, स्वास्थ्य अवस्थाबारे उनले उपत्यकाबाहिर र काममा व्यस्त हुँदासमेत सहयोगीहरुलाई फोन गरेर अपडेट लिने गरेको सचिवालयका एक सदस्यले बताए । यस्तै फुर्सदमा सीताको नजिक बस्ने कुराकानी गर्नेसहित निकै माया र हेरचाह गर्ने गरेको पनि ती अधिकारीको भनाइ छ । सीताको उपचारका लागि प्रचण्ड भारतदेखि सिंगापुर र अमेरिकासम्म धाएका थिए । 

यस्तै देशभित्रै पनि उनले आयुर्वेदिकदेखि विभिन्न उपचार समेत गराएका थिए । विसं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्र को केन्द्रीय सल्लाहकार रहेकी थिइन्। 

पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।  जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका दाहालले निर्वाह गरेकी थिइन् ।


हाल भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।  छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको माओवादी केन्द्रले जनाएको छ । 

सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ’, माओवादी केन्द्रका महासचिव गुरुङले जारी गरेको शोक वक्तव्यमा भनिएको छ । 

माओवादी केन्द्रले सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड लगायत सिङ्गो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल समेत गरेको छ ।

यस्तै विभिन्न दलका नेताहरुले पनि दाहालको निधनमा दुःख व्यक्त गरेका छन् भने आजका विभिन्न औपचारिक र अनौपचारिक समेत स्थगित भएका छन् ।  दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा  निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप