आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
इमर्जिङ टिम्स एसिया कप

इमर्जिङ टिम्स एसिया कप : सहज छैन नेपालको यात्रा

बुधबार, २७ असार २०८०, १५ : १०
बुधबार, २७ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने आठवटै राष्ट्रले आफ्नो अन्तिम टोलीको घोषणा गरेका छन् । श्रीलङ्कामा बिहीबार सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्ने छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुईवटा खेल हुने छन् । श्रीलङ्काको ‘ए’ टोलीले बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने छ । बिहीबारकै अर्को खेलमा अफगानिस्तानको ‘ए’ टोलीले ओमानको सामना गर्ने छ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ । नेपाली टोली प्रतियोगितमा सहभागी हुन श्रीलङ्का पुगिसकेको छ । अन्य राष्ट्रका टोली पनि श्रीलङ्का पुग्ने क्रम जारी छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

पवन सर्राफलाई अन्तिम समयमा आएर टोलीमा समावेश गरिएको हो । त्यसअघि आरिफ सेख टोलीमा परेका थिए । तर घरायसी कारणले गर्दा आरिफले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा पवनलाई राखिएको हो ।

दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि टोलीमा छैनन् । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीले इमर्जिङ टिम्स एसिया कप नखेलेका हुन् । सन्दीप र दीपेन्द्र क्यानडामा आयोजना हुने फ्रेन्चाइज लिग ‘ग्लोबल टी–ट्वान्टी’ मा आबद्ध छन् । ग्लोबल टी–ट्वान्टी लिग जुलाई २० देखि अगस्ट ६ सम्म आयोजना हुँदै छ ।

347562341_666716188818098_6640261810727940306_n

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिङ्गापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणको समूहगत चरणमा नेपाली टोली तीनवटै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह ‘ए’ मा परेको थियो ।

भारत र पाकिस्तानले यू–१९ टोली समावेश गराएका थिए । पहिलो खेलमा अफगानिस्तानसँग डकवर्थ एन्ड लुइस नियमका आधारमा तीन रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग ८४ रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोलीलाई पाकिस्तानले नौ विकेटले हराएको थियो । पहिलो संस्करणको फाइनलमा भारतले पाकिस्तानलाई नौ विकेटले पराजित गरेको थियो ।

त्यसपछि दोस्रो संस्करण सन् २०१७ मा बङ्गलादेशमा आयोजना भएको थियो । नेपाली टोली बङ्गलादेश, पाकिस्तान र हङ्कङसँग समूह ‘बी’ मा परेको थियो । समूहगत चरणमा एक जित र दुई हार भोगेको नेपाल तेस्रो भएको थियो । उक्त समूहबाट पाकिस्तान र बङ्गलादेश सेमिफाइनलमा पुगेका थिए ।

पहिलो खेलमा नेपाललाई पाकिस्तानले ६ विकेटले हराएको थियो । नेपाली टोली दोस्रो खेलमा बङ्गलादेशसँग ८३ रनले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा भने नेपालले हङ्कङलाई सात विकेटले हराएको थियो । फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि चुमेको थियो ।

यसैगरी सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएन । तेस्रो संस्करणको फाइनलमा श्रीलङ्काले भारतलाई तीन रनले हराउँदै उपाधि हात पारेको थियो ।

357439332_666828462140204_660940125937302565_n

त्यसपछि सन् २०१९ मा बङ्गलादेशमा आयोजना भएको चौथो संस्करणमा नेपाली टोली बङ्गलादेश, भारत र हङ्कङसँगै समूह ‘बी’ मा परेको थियो । एक खेलमा विजयी र दुई खेलमा पराजित भएको नेपाल अघिल्लो चरणमा पुग्न असफल भयो । नेपाललाई भारतले सात विकेट र बङ्गलादेशले आठ विकेटले हराएका थिए । नेपालले हङ्कङलाई भने ४० रनले हराएको थियो । उक्त संस्करणको फाइनलमा पाकिस्तानले बङ्गलादेशलाई ७७ रनले पराजित गरेको थियो ।

इमर्जिङ टिम्स एसिया कपको इतिहासलाई हेर्दा यसअघिका तीन संस्करण खेलेको नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक एउटै प्रतिद्वन्द्वी हङ्कङलाई हराएको थियो । यस पटक पनि नेपालका लागि इमर्जिङ टिम्स एसिया कपको यात्रा सहज छैन ।

यस पटक भारत र पाकिस्तान जस्ता दुई बलिया टोली नेपालकै समूहमा छन् । यद्यपि यी दुवै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली समावेश गराएका छन् । तर यी दुवै टेस्ट राष्ट्रका ‘ए’ टोली पनि निकै बलिया छन् । त्यसमाथि नेपाली टोलीमा अनुभवी खेलाडीको अभाव देखिएको छ ।

अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ सेख जस्ता प्रभावशाली खेलाडी टोलीमा छैनन् । नेपाली टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरी पनि टोलीमा युवा खेलाडीलाई अवसर दिइएको बताउँछन् ।

Dipendra Chaudhry

‘हामीले यस पटक युवा खेलाडीलाई अवसर दिएका छौँ । ठुला प्रतियोगिताहरूमा बेन्चमा बस्ने युवा खेलाडीको क्षमता जाँच्ने गतिलो अवसर पनि हो । युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा एक्सपोजर दिने उद्देश्यले यो निर्णय लिएका हौँ,’ दीपेन्द्रले रातोपाटीसँगको कुराकानीमा भने ।

उनले इमर्जिङ टिम्स एसिया कपमा सहभागी टेस्ट राष्ट्रका ‘ए’ टोली पनि निकै बलियो रहेको बताए । ‘टेस्ट राष्ट्रका ‘ए’ टोली पनि बलिया हुन्छन् । उनीहरूसँग खेलेर हाम्रा युवा खेलाडीले राम्रो अनुभव हासिल गर्नेछन्,’ दीपेन्द्र भन्छन् ।

इमर्जिङ टिम्स एसिया कपलाई आफूहरूले निकट भविष्यमा हुने एसिया कपको तयारीका रूपमा लिएको पनि बताए । ‘इमर्जिङ टिम्स एसिया कपमा टेस्ट राष्ट्रहरूले ‘ए’ टोली पठाए पनि एसिया कपमा सिनियर र प्रभावशाली खेलाडीलाई नै समावेश गराउँछन् । त्यसैले एसिया कप हाम्रा लागि पनि निकै महत्त्वपूर्ण प्रतियोगिता हो । हामीले त्यसैको तयारीका रूपमा इमर्जिङ कपलाई लिएका छौँ,’ उनले भने ।  

टेस्ट राष्ट्रहरूले एसिया कपलाई यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको तयारीका रूपमा पनि लिने गरेका छन् । एसिया कप आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुँदै छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

347599898_666887552134295_2568293979761503701_n

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले पनि यस पटक इमर्जिङ टिम्स एसिया कप युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर पाउने गतिलो अवसर भएको बताएका थिए । ‘हाम्रा युवा खेलाडीका लागि यो गतिलो अवसर हो । उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताको राम्रो अनुभव पाउने छन् । हामीले यो प्रतियोगितालाई आगामी एसिया कपको तयारीका रूपमा लिएका छौँ,’ श्रीलङ्का प्रस्थान गर्नुअघि प्रशिक्षक देसाईले भनेका थिए ।

यसका अतिरिक्त आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको अनुभव पनि नेपाली टोलीका लागि अर्को सकारात्मक पक्षका रूपमा रहेको छ । ‘विश्वकप छनोट प्रतियोगितामा हाम्रा खेलाडीले टेस्ट राष्ट्रहरूसँग खेल्ने अवसर पाएका थिए । त्यो अनुभव पनि हाम्रा लागि सकारात्मक पक्षको रूपमा रहने छ,’ प्रमुख छनोटकर्ता दीपेन्द्र भन्छन् ।

जिम्बाबेमा आयोजना भएको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएलगत्तै नेपाली टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलङ्का प्रस्थान गरेको हो । १० राष्ट्र सहभागी विश्वकप छनोट प्रतियोगितामा नेपाली टोली आठौँ भएको थियो ।

इमर्जिङ टिम्स एसिया कपका लागि भारतले यस ढुलको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । केही समयअघि सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने विकेटकिपर ब्याट्सम्यान प्रभसिमरन सिंह पनि भारतीय टोलीमा छन् । हर्षित राणा, साई सुदर्शन, रियान पराग, आकाश सिंह र नितिषकुमार रेड्डी पनि भारतीय टोलीमा छन् ।

358150076_666823492140701_6296178184268645464_n

भारतीय टोलीमा रहेका साई सुदर्शन पनि प्रभावशाली खेलाडी हुन् । उनले यसै वर्ष भएको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । गुजरात टाइटन्सबाट खेलेको सुदर्शनले आठ खेलमा तीन सय ६२ रन बनाएका थिए ।

यसका अतिरिक्त हर्षित राणा पनि भारतीय टोलीका प्रभावशाली खेलाडी हुन् । उनले भारतको घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०२३ को आईपीएलमा उनले ६ खेल खेल्दै पाँच विकेट लिएका थिए । तीव्र गतिका बलरसँगै उनी प्रभावशाली ब्याट्सम्यान पनि हुन् ।  

अर्को टेस्ट राष्ट्र पाकिस्तानले भने मोहम्मद हारिसको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । पाकिस्तानी टोलीमा ओमिर युसुफ (उकप्तान), सइम अयुब, कासिम अकरम, तैयब ताहिर, मुबासिर खान र साहिबजादा फरहान पनि रहेका छन् ।

पाकिस्तानले खासगरी सइम अयुबबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । सन् २०२३ को पाकिस्तान सुपर लिग (पीएसएल) मा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । पीएसएलमा पेसावर जाल्मीका लागि उनले १२ खेल खेल्दै तीन सय ४१ रन बनाएका थिए ।

यसैगरी आयोजक श्रीलङ्काले दुनिथ वेलालागेको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । श्रीलङ्काली टोलीमा अभिसेका फर्नान्डो, आसेन बन्डारा, मिनोद बानुका, लाहिरु उदारा, चामिका करुनारत्ने, दुसान हेमन्थालगायतका खेलाडी छन् ।

बङ्गलादेशले भने सैफ हसनको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । जाकिर हसन (उपकप्तान), सौम्य सरकार, माहेदी हसन, रकिबुल हसन, नइम सेख, महमुदुल हसन, सहादत होसैन, परवेज होसैनलगायतका खेलाडीले बङ्गलादेशी टोलीमा स्थान पाएका छन् ।

बङ्गलादेशका लागि जाकिर हसन महत्त्वपूर्ण हतियार हुन् । बङ्गलादेशको घरेलु प्रतियोगितामा उनको प्रदर्शन अन्य खेलाडीको तुलनामा उत्कृष्ट देखिएको छ । उनी अनुभवी खेलाडी पनि हुन् । पहिलो श्रेणीको प्रतियोगितामा उनले हालसम्म ७५ खेल खेल्दै ४०.३३ को औसतले चार हजार पाँच सय १८ रन बनाएका छन् ।

यसैगरी अफगानिस्तनले सहिदुल्लाह कमालको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । अफगानिस्तानको टोलीमा मोहमद सलिम, इसाक रहिमी, रियाज हसन, इन्सानुल्लाह जनत, नुरअली जादरन, जुबैद अकबारी, मोहम्मद इब्राहिम, जिया उर रेहमानलगायतका खेलाडी छन् ।

अफगानिस्तानले निकै भरोसा गरेको खेलाडीमध्ये मोहमद सलिम पनि हुन् । प्रथम श्रेणीको क्रिकेटमा उनले हालसम्म १२ खेल खेल्दै ४१ विकेट लिएका छन् । यसदेखि बाहेक घरेलु क्रिकेटमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।  

यूएईले अली नासिरको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । यूएईको टोलीमा जोनाथन फिगी, फाहद नवाज, आर्यन्स शर्मा, आधित्य सेठी, सञ्चित शर्मालगायतका खेलाडी छन् । ओमानले भने अकिब इलयासको कप्तानीमा टोलीको घोषणा गरेको छ । ओमानको टोलीमा वासिम अली, फायज बट, आयान खान, सुरज कुमार, कश्यप प्रजापती, जतिन्दर सिंह, समय श्रीवास्तवलगायतका खेलाडी छन् ।

347415700_666887312134319_8432656003430033292_n

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्ने छ । नेपालले दोस्रो खेलमा १७ तारिखमा भारतको ‘ए’ टोली खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।

समूहगत चरणको खेलपछि अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

एसीसी इमर्जिङ टिम एसिया कपको यो पाँचौँ संस्करण हो । नेपाल एसीसी प्रिमियर कपको विजेताका रूपमा एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएको हो । एसीसी प्रिमियर कपको अङ्क तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली एसीसी इमर्जिङ टिम एसिया कपमा पुग्ने प्रावधान छ । घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपबाट नेपालका अतिरिक्त यूएई र ओमान पनि एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप