मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

‘नर्मल डेलिभरी’ राम्रो हो तर अपरेसनमार्फत बच्चा जन्माउनमा जोड छ’

नर्मल डेलिभरी सयौँ गुणा राम्रो हो, जोखिम कम छ :  डा. श्रीप्रसाद अधिकारी, निर्देशक, परोपकार प्रसूति अस्पताल
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत् बच्चा जन्माउने दर बढेको छ । नेपालमा १८ प्रतिशत जन्म शल्यक्रियामार्फत् हुने स्वास्थ्य सर्वेक्षणले देखाएको छ । निजी स्वास्थ्य संस्थामा पचास प्रतिशतभन्दा बढी बच्चा शल्यक्रियामार्फत् जन्माउने गरिएको छ । 

यस्तै, निम्न, मध्यम वर्गको पहुँचमा रहेको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पनि शल्यक्रिया गरी बच्च जन्माउने दर प्रत्येक वर्ष बढ्दै गएको छ । नर्मल डेलीवेरी राम्रो कि अप्रेशनमार्फत् बच्चा जन्माउने प्रक्रिया राम्रो ? किन पछिल्लो समय सिजेरियन सेक्शन बढ्यो ? कस्तो अवस्थामा शल्यक्रिया मार्फत बच्चा जन्माउने ? लगायत विषयमा केन्द्रीत रही प्रस्तुत छ, परोपकार प्रसूति अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको संक्षिप्त कुराकानीः

प्रसूति गृहमा डेलीवेरीको अवस्था कस्तो छ ?

अघिल्लो वर्ष प्रसूति गृहमा २५ हजार डेलिभरी भए । जसमा ८ हजार डेरीवेरी शल्यक्रियामार्फत् भएको छ, जुन ३१ प्रतिशत हो । 

डब्ल्यूएचओका अनुसार ५ देखि १५ प्रतिशत शल्यक्रियामार्फत् गराउन आवश्यक पर्छ । नर्मल डेलीवेरी हुँदा आउने कम्प्लिकेटेड अर्थात् समस्यालाई समाधान गर्न अर्थात् आमा र बच्चालाई बचाउन अप्रेशन गर्नुपर्ने अवस्था हुन्छ ।

विगतमा प्रसूति गृहमा शल्यक्रियामार्फत् बच्चा जन्माउने दर बढेको छ । पहिलो पटक शल्यक्रिया (प्राइमरी सिजेरियन सेक्शन) गरी बच्चा जन्माउनेहरूले दोस्रो पटक नर्मल डेलिभरीबाट पनि बच्चा जन्माउँदा हुने स्थितिमा पनि शल्यक्रियामार्फत जन्माउँदा दर बढेको हो । 

पहिलो पटक शल्यक्रियामार्फत् बच्चा जन्माएकाले दोस्रो पटक शल्यक्रियामार्फतै जन्माउनुपर्ने हो र ?

पहिलो पटक शल्यक्रियामार्फत् बच्चा जन्माउने आमाले पुनः अर्को बच्चा जन्माउँदा अवस्था हेरेर नर्मल डेलिभरी गराउन सक्छन् । तर, दोस्रो पटक नर्मल डेलिभरीका लागि काउन्सेलिङ गर्दा डराएर शल्यक्रिया नै रोज्ने गरेको पाइएको छ ।

दोस्रो पटक नर्मल डेलिभरी गराउँदा ख्याल नगरेको खण्डमा पाठेघर फुट्न सक्ने, पिसाव चुहिने लगायतका अन्य समस्या पनि आउन सक्ने भएकाले नर्मल डेलिभरी गराउन आँट्दैनन् । 

पहिलो अप्रेशन गरी बच्चा जन्माएकाहरूले दोस्रो पटक सामान्य रुपमा बच्चा जन्माउन सक्छन् । यसमा पहिला शल्यक्रिया गरी जन्माएको डेढ वर्षको समयवधि हुनुपर्छ । 

सामान्य रुपमा बच्चा जन्माउने अवस्था हुँदा हुँदै यस अस्पतालमा  शल्यक्रियामार्फत् नै बच्चा जन्माउँछु भन्न पाउँछन् त ?

प्रसूति गराउन आएको बिरामीको ईच्छाको आधारमा शल्यक्रियामार्फत् जन्म दिने यहाँ हुँदैन । पहिला शल्यक्रियाका लागि इच्छा जाहेर गर्नेलाई परामर्श दिन्छौँ । नबुझेर धेरैजनाले  शल्यक्रिया गरी बच्चा जन्माउने भन्नु हुन्छ । 

लेवर रुममा पुगेपछि हरेक महिलाले व्यथाले च्यापेपछि अप्रेशन गरिदिन   आग्रह गर्नुहुन्छ तर हामीले त्यस आग्रहलाई मान्ने कुरा हुँदैन । काउन्सेलिङ गरेर नर्मल डेलिभरी गराउँछौ । 

नर्मल डेलिभरी गराउँदा आमा र बच्चालाई कुनै खालको असर हुँदैन । नर्मल डेलिभरी स्वास्थ्यका हिसावले धेरै सुरक्षित छ भनेर शल्यक्रिया नगर्न आग्रह गछौँ । कहिलेकाहीँ भने बिरामीको अनडिमाण्ड सिजरियन सेक्सन गर्छौँ । 

shree-prasad-adhikari

कस्तो अवस्थामा शल्यक्रियामार्फत् बच्चा जन्माउने हो ?

अस्वस्थ खानपान, अनि पेटमा रहेको बच्चाको तौल धेरै भएमा, इनफटिलिटीका कारण, ढिला विवाहले आइभीएफमा जानुपर्ने लगायतका समस्याले अप्रेशनमार्फत् जन्माउनुपर्ने बाध्यता हुन्छ । 

कहिलेकाही आमाको पेटमा बच्चा कम चलेको अवस्था, डेलिभरी हुने प्रक्रिया चल्दा बच्चाले दिसा गरेमा त्यस्तो अवस्थामा बच्चाले दिसा खाएर सर्किएमा बच्चा मृत्यु हुने वा आइसियूमा राख्नुपर्ने अवस्थामा पनि अप्रेशनमार्फत् जन्माउनुपर्ने हुन्छ ।

त्यस्तै, व्यथा लाग्ने, पछि जन्मिने क्रममा बच्चा अड्किएर अगाडि बढ्न सकेन भने अनि जन्मिदा खेरी बच्चा उल्टो भएमा सुरुमै अप्रेशन गछौँ । पहिला अप्रेशन गरिएको, दुई बच्चाको बीचमा ग्याप कम भएमा पनि अप्रेशन गरिन्छ । 

त्यो बाहेक बच्चा पाउन नसकेको अवस्था, पेट भित्रको शिशुमा समस्या भएमा मात्रै आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था हेरेर शल्यक्रियामार्फत् बच्चा जन्माइन्छ ।

किन पछिल्लो समय शल्यक्रियामार्फत् बच्चा जन्माउने दर बढ्यो त ?

विगतको तुलनामा खानपान, जीवनशैली परिर्वतन भएको छ । पहिला काममा हिँड्ने, व्यस्त हुँदा आमा र बच्चाको शरीरको तौल उपयुक्त हुने भएकाले नर्मल डेलिभरी हुँदा थोरै दुखाई पनि सहन सक्ने हुन्थ्यो । 

अहिले खानपानका कारण तौल बढाउने, बच्चा पेट हुनुपर्ने तौलभन्दा ठूलो हुने, चिनी रोग आमालाई देखिएपछि बच्चा पनि समस्या देखिने र सुत्केरी व्यथालाई सहन नसक्ने अवस्थाले गर्दा पनि शल्यक्रिया गरी बच्चा जन्माउने दर बढेको हुन सक्छ । 

अन्य अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माउने दर बढ्नुको कारण नेपाल सरकारले विषयविज्ञ मिडवाइफ्रीलाई हरेक अस्पतालमा तालिम तथा उनीहरूबाट नर्मल डेलिभरी गराउने व्यवस्था नभएर हो । 

सरकारी जस्तै निजी अस्पतालहरूलाई पनि नर्सहरूलाई मिडवाइफ्रीको तालिम दिएमा शल्यक्रियामार्फत् बच्चा जन्माउने दर घट्छ । नर्मल डेलिभरीका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी कम भएका कारण शल्यक्रियामार्फत् बच्चा जन्माउने दर बढेको हो । 

नेपालमा बढिरहेको शल्यक्रिया दर कम गर्न सरकारले नीति निर्देशिका बनाएर निजी सरकारी संस्थाका वर्थिङ सेन्टरमा पठाउन आवश्यक छ । 

नर्मल डेलिभरी राम्रो कि शल्यक्रियामार्फत् बच्चा जन्माउने प्रक्रिया राम्रो ?

शल्यक्रियामार्फत् बच्चा जन्माउँदा बिरामी अस्पतालमा लामो समयसम्म बस्नुपर्ने हुन्छ । किनकि अप्रेशन गरी अर्थात् पेटमा घाउ बनाएर बच्चा निकाल्ने हो । जसले गर्दा घाउ पाक्ने, पिसावको थैली च्यातिने, टाँसिएको छ भने दिसाको थैली च्यातिने, ब्लिडिङ पनि धेरै हुने जोखिम देखिएर अन्य स्वास्थ्यमा जटिल खालका समस्या पनि देखिन सक्छ । 

पहिलो पटक अप्रेशनमार्फत बच्चा जन्माएपछि अर्को पटक पनि अप्रेशन नै गर्नुपर्ने हुन सक्छ । लामो समयसम्म पेट दुख्ने, पेटमा आन्द्राहरू टाँसिने समस्या हुन सक्छ । त्यस्तै, खर्चका हिसावले शल्यक्रिया महँगो हुन्छ ।

तर, नर्मल डेलिभरी हुँदा यस्ता खालको कुनै पनि समस्या हुँदैन । नर्मल डेलिभरी सयौं गुणा राम्रो हो भनेर शिक्षा, असाक्षर महिलालाई जानकारी दिन जरुरी छ । प्राकृतिक तरिकाबाट सुत्केरी हुँदा बिरामीको हितमा हुन्छ । नर्मल डेलिभरी हुँदा जोखिम कम हुन्छ ।

नर्मल डेलिभरी भएपछि आमा बच्चा १०–१२ घण्टा घरमा जान सक्छन् । घरको सामान्य कामहरू पनि चाँडो गर्न सक्छन् । जुन कुरा शल्यक्रिया गर्ने महिलाले गर्न सक्दैनन् । यद्यपि आमा र बच्चालाई खतरा भएको खण्डमा शल्यक्रिया गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया