सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किन प्रभावित भयो नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडान ?

मङ्गलबार, ०२ साउन २०८०, ११ : १९
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानमा रहेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ९एन–एकेडब्लू जहाजको ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको छ । 

जहाज क्वालालम्पुरबाट बिहान ५ः१० बजे काठमाडौँका लागि उड्ने सेड्युल रहेको थियो । तर, उडान भर्ने क्रममा अक्सिजनको लेभल चेक गर्दा कम पाइएपछि उडान प्रभावित हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

तर, अक्सिजनको जोहो गरेर यतिबेला जहाज उडानका लागि तयार भइसकेको प्रवक्ता पौडेलले रातोपाटीलाई जानकारी दिए । 

निगमको उक्त जहाज चरा ठोकिएर ग्राउण्डेड भएको एक हप्तापछि हिजो मात्र मर्मत पश्चात् मलेसियाको उडान भरेको थियो । भारतको बैंकलोरबाट प्राविधिक झिकाएर जहाज मर्मत गरेर बेलुका ८ बजे १७६ जना यात्रु बोकेर जहाज क्वालालम्पुर उडेको थियो ।

 सोही जहाज बिहान अक्सिजनको कमीका कारण केही समय एयपोर्टमै होल्ड हुन पुगेको छ भने नेपाल आउन टिकट काटेका १७६ यात्रु रोकिन पुगेका छन् । 

तर प्रवक्ता पौडेलका अनुसार उक्त जहाज स्थानीय समय अनुसार ३ बजे नेपाल उड्नेछ । क्वालालम्पुरबाट भैरहवा विमानस्थल अवतरण हुने उक्त जहाज बेलुका ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप