आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
खोला सर्वेक्षण

फिर्के खोलाको जीवन फर्किएला त ?

बुधबार, ०३ साउन २०८०, १९ : ५१
बुधबार, ०३ साउन २०८०

पोखरा । पोखराको बीच भागबाट बग्ने फिर्के खोलाको वास्तविक आकार खोज्न बुधबारबाट सुरु गरिएको छ । पोखरा महानगरपालिकाको प्राविधिक सर्वेक्षण टोलीले पहिलो दिन बुधबार पोखरा–६ बैदामस्थित गाईघाटबाट नापी सुरु गरेको हो । 

पहिलो दिन टोलीले करिब ८ सय मिटर खोलाको सर्वेक्षण गरेको टोलीका संयोजक बासुदेव पौडेलले बताए । ‘दुई टोलीले नापी गरेका थियौं । तर, एउटा पोइन्ट लिन नै दुई घण्टा लाग्यो । झाडी र अप्ठ्यारो भौगोलिक अवस्थाले गर्दा पहिलो दिन धेरै नाप्न सकेनौं । विहीवारबाट ४ टोलीले सर्वेक्षण गर्छौं,’ संयोजक पौडेलले भने । 

सर्वेक्षणका क्रममा नापी नक्सा बमोजिमै खोलाको चौडाइ भेटिएको पौडेलले सुनाए । ‘नापी नक्सामा पनि खोलाको चौडाइ ४२÷४५ मिटर छ । सोही बमोजिम नै खाली जमिन भेटिएको छ,’ पौडेलले भने । 

२४ मिटरसम्म फराकिलो यो फिर्के खोला यतिबेला कतै देखिन्छ, कतै देखिँदैन । खोला नदेखिनुमा मुख्य कारण मानवीय अतिक्रमण नै हो । अतिक्रमण बढेपछि महानगरले यसको संरक्षण गर्न सर्वेक्षण टोली खटाएको हो । 

सर्वेक्षणका क्रममा फिर्के किनारा पुगेका मेयर धनराज आचार्यले भने, ‘सर्वेक्षणले प्रतिवेदनले कति अतिक्रमण भएको हो, प्रतिवेदन प्राप्त हुन्छ । कार्यपालिकाले तोको मापदण्डपछि केही समय दिएर मापदण्ड विपरीतका संरचना हटाउँर्छौं ।’ 

आचार्यले कति मापदण्ड तोक्ने खुलाएनन् । उनले भने, ‘अहिले खोलाको मापदण्ड १० मिटर भन्ने छ । तर, यो ५ मिटर पनि हुन सक्छ । त्यो कार्यपालिकाको बैठकले नै निर्णय गर्नेछ ।’ 

मंगलबार मात्र महानगरले फिर्के खोलाको वास्तविक आकार पत्ता लगाउन १८ सदस्यीय प्राविधिक टोली गठन गरेको थियो । 

पछिल्लो समय फिर्केमाथि मानवीय अतिक्रमण बढ्दो छ । बर्खामा पानीको बहाव बढ्दा मापदण्ड विपरीत निर्मित संरचनाले पानीको निकास पनि हुन सकेको छैन । गत हप्ता फिर्के खोला माथिको वडा नम्बर ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुलमा क्षति भएको छ । वर्षाका कारण पुलको तल्लो भाग बगाएर धरापमा छ । 

२०३२ सालको नक्साअनुसार फिर्के खोलाले चर्चेको झन्डै १९२ रोपनी जग्गा विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्थालगायत जातीय संघ–संस्थाबाट अतिक्रमण भएको छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित रेखांकन समितिको प्रतिवेदनले खोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । 

तर, यो संख्या अहिले बढेको हुन सक्ने सरोकारवालाहरु बताउँछन् । पोखरा–१८ को अँधेरी कुनाबाट सुरु भएको फिर्के खोला वडा नम्बर १७ र ६ को गाइघाटमा पुगेर फेवातालमा मिसिन्छ । यसको लम्बाई करिब ८ किलोमिटर भएको अनुमान छ । तर, चौडाइ भने निरन्तर घट्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप