शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कक्षा ११ मा छात्रवृत्तिका लागि ८ दिनमा १ हजारभन्दा बढीको आवेदन

बिहीबार, ०४ साउन २०८०, १९ : ३९
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । ८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ । काठमाडौँ महानगरपालिकाले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपराह्न ०३ः३० बजेसम्ममा यो संख्या देखिएको हो । 

यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ । 

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ । 

कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले साउन महिनाको दोस्रो हप्तापछि कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ भनेर सार्वजनिक गरिने बताए ।  

विद्यालयहरूबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाले बताए ।  

विद्यार्थीहरूले साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दर्ता गराउन सक्नेछन् । 

अनलाइन आवेदन फाराम पेस गर्ने विधि 

काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http;|/entrance.kathmandu.gov.np मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो संलग्न गर्नुपर्छ । 

यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका सिफारिस पेश गर्नुपर्छ । 

तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ । 

पेश भएका विवरणहरु झुटो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप