आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै

आइतबार, ०३ साउन २०८३, १४ : १३
आइतबार, ०३ साउन २०८३

सारांश

  • अमेरिका र इरानबीचको सैन्य द्वन्द्वले पश्चिम एसियामा व्यापक क्षेत्रीय युद्धको जोखिम बढाएको छ ।
  • यमनका हुथी विद्रोही र साउदी अरेबियाबीचको तनावले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाएको छ ।
  • अमेरिकाले इरानलाई वार्तामा फर्काउन नसके मध्यपूर्वभर फैलने ठूलो क्षेत्रीय युद्ध सुरु हुने जोखिम बढेको छ ।

तेहरान । अमेरिका र इरानबीच फेरि तीव्र बनेको सैन्य द्वन्द्व व्यापक क्षेत्रीय युद्धमा परिणत हुन सक्ने जोखिम बढ्दै गएको भन्दै पश्चिम एसियाका देशहरूमा चिन्ता गहिरिएको छ । 

विश्लेषकहरूका अनुसार दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमणको क्रम अब स्थायी जस्तै बन्दै गएको छ । यससँगै यमनका इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियाबीच बढ्दो तनावले पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाएको छ । हुथीहरूले आफूमाथि लगाइएको नाकाबन्दी तोड्ने अडान लिँदै आएका छन् ।

युद्धविराम कायम राख्ने उद्देश्यले इरान पुगेका पाकिस्तान र कतारका कूटनीतिक प्रतिनिधिमण्डलहरूको सक्रियता पछिल्ला दिनमा लगभग रोकिएको छ । क्षेत्रीय कूटनीतिज्ञहरू अहिले युद्धविराम पुनःस्थापित हुने सम्भावनाप्रति निराश देखिएका छन् । हालैको तनावका क्रममा कतार दुई पटक आक्रमणको चपेटामा परिसकेको छ । त्यस्तै, इरानी ड्रोनहरूले ओमानलाई पनि लक्षित बनाएका छन् । यो घटना ओमान र इरानबीच स्ट्रेट अफ होर्मुजको व्यवस्थापनसम्बन्धी वार्ता भएको केही दिनपछि भएको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले ओमानको तटीय क्षेत्र नजिक यात्रा गरिरहेका जहाजहरूमा पनि आक्रमण गरेको बताइएको छ । त्यसपछि स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री यातायात अत्यन्त न्यून भएको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन् । इरानले अमेरिकी सैन्य अड्डा रहेका छिमेकी मुलुकहरूलाई पनि आवश्यक परे निशाना बनाउन सक्ने चेतावनी पटक–पटक दिँदै आएको छ ।

इरानको अर्धसरकारी समाचार संस्था ‘फार्स’ले बहराइन, साउदी अरब, कुवेत, कतार र संयुक्त अरब इमिरेट्सका पाँच प्रमुख बन्दरगाह इरानको पूर्वाधारमा आक्रमण भए सम्भावित लक्ष्य बन्न सक्ने उल्लेख गरेको छ । उता पछिल्ला दिनहरूमा अमेरिकी आक्रमण इरानका सुरुङ, सडक, पुल तथा रेलमार्गसम्म फैलिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । यसले युद्ध अझ व्यापक बन्न सक्ने चिन्ता बढाएको छ । इजरायली सुरक्षा विश्लेषक ड्यानी सिट्रिनोविजका अनुसार प्रत्येक अमेरिकी सैन्य कदमको जवाफ इरानले अझ कडा प्रतिआक्रमणमार्फत दिइरहेको छ । उनका अनुसार दुवै पक्षले प्रत्येक सैन्य कारबाहीसँगै नयाँ प्रतिरोध क्षमता स्थापित गर्ने प्रयास गरिरहेका छन् ।

सिट्रिनोविजले सामाजिक सञ्जाल एक्समा एउटा पोष्टमा लेखेका छन्, अमेरिका इरानलाई पुनः वार्ताको टेबलमा फर्काउन सफल नहुन पनि सक्छ । त्यसको सट्टा दुवै पक्षको नियन्त्रणभन्दा बाहिर जाने, मध्यपूर्वभर फैलिने र कूटनीतिक समाधानको सम्भावना झन् कमजोर बनाउने ठूलो क्षेत्रीय युद्ध सुरु हुने जोखिम बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप