आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु

आइतबार, ०३ साउन २०८३, १४ : २५
आइतबार, ०३ साउन २०८३

सारांश

  • जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
  • लोसपा नेपालसँग एकता गर्नुअघि कायम रहेको कार्यकारिणी समितिको बैठकमा एकताको विषयमा छलफल गरिनेछ ।
  • दुई पार्टीबिच समायोजन, केन्द्रीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता गर्नुअघि कायम रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक बसेको हो ।

जसपा नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकमा लोसपा नेपालसँग भएको एकताको विषयमा छलफल गरिने बताइएको छ । गत पुसमा लोसपा नेपाल र जसपा नेपालबिच एकता भएको थियो । उक्त पार्टीलाई निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ । तर पार्टीले पूर्णता पाएको छैन । दुई पार्टीबिच समायोजन, केन्द्रीय समिति गठन लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ । 

दुई पार्टीबिच समायोजनका विषयमा कुरा मिलिरहेको छैन । दुवै पार्टीमा आकाङ्क्षी धेरै छन् । उनीहरूलाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक बसिरहेको सो पार्टीका नेता शैलेन्द्र साहले बताए ।

दुवै दलले आ–आफ्नो पार्टीमा सहमति गरी संयुक्त बैठक बसेर समायोजनको विषय टुङ्गो लगाउने सहमति भएको छ । जसपा नेपालको बैठक लगत्तै लोसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक पनि बस्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप