बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
जीवनशैली

काठमाडौँमा सुनको चर्चा भइरहँदा कर्णालीमा नुनकै पिरलो !

आर्थिक मन्दीका नाममा ढुवानी कटौती गर्दा कर्णालीका सबैजसो जिल्लामा नुनको अभाव
शुक्रबार, ०५ साउन २०८०, ०६ : ४०
शुक्रबार, ०५ साउन २०८०

सुर्खेत । देशको राजधानी काठमाडौंमा यतिबेला तस्करी गरी भित्रिएको करिब सय किलो सुनको चर्चा छ । यता कर्णालीमा भने एक किलो नुनका लागि नागरिकहरु आन्दोलित हुनु परेको छ ।

असार ३१ गते जुम्लाको सदरमुकाम खलंगामा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालयमा आयोडिन नुन लिन दुर्गम गाउँबस्तीबाट नागरिकहरु आएका थिए । एक किलो नुनका लागि दिनभर लाइनमा कुरेर बस्दा पनि नुन पाइएन । त्यसपछि सेवाग्राहीहरूले कार्यालयमा ढुंगामुढा गरे ।

बर्खाको समय गाउँबाट बजार पुग्न समस्या हुने भएपछि आइतबार एकै पटक नुन लिन सदरमुकाम आउनेहरुको भिड नै लाग्यो । दिनभर लाइन लाग्दा पनि नुन नपाइने र पछिसम्म नुनको हाहाकार नै हुने भएपछि नागरिकहरु आक्रोशित बने । आक्रोशित नागरिकहरुले ढुंगामुढा गरेपछि कार्यालयको झ्यालढोकामा क्षति भयो ।

चन्दनाथ नगरपालिका–१ को तलिचौरका पुष्कर देवकोटा नुनका लागि आइतबार बिहानैदेखि लाइनमा बसे । तर पनि उनले नुन पाएनन् । उनी भन्छन्, ‘त्यहाँ धकेलाधकेलको स्थिति आयो, स्थानीय एउटा क्लवले स्वयंसेवक खटाएर भिडलाई साम्य पार्ने प्रयास गर्यो ।’

यद्यपि त्यसो गर्दा पनि स्थिति सामान्य बनेन । त्यहाँ पालो मिचेर नुन दिन खोज्दा भिड झन् अनियन्त्रित बन्न खोज्यो । सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी नै साल्ट ट्रेडिङ्गको  कार्यालयमा पुग्नु परेको थियो । त्यसपछि आक्रोशित भिडले नुन नपाएको झोकमा कार्यालय र गोदामका ढोका तोडफोड गरेको थियो ।

todfod

यो त भयो सदरमुकामको कुरा । सदरमुकामबाट करिब २० कोस जति टाढा पर्छ सिंजा गाउँपालिका । यो पालिकाको वडा नम्बर–६ का वडाध्यक्ष लालबहादुर बुढाले नुनको निकै समस्या रहेको गुनासो रातोपाटीलाई सुनाए ।

‘हजुर..! काठमाडौंतिर सुनै सुनका कुरा सुनिन्छन्, हाम्रातिर नुनको पिरलो छ, क्यार्नु !’ उनले भने, ‘केही दिनअघि मात्रै हामीले २ केजीका दरले नुन वितरण ग¥यौँ । २ केजीले के नै हुन्छ र..! यहाँ मान्छेलाई नै पुग्दो नुन छैन, भेँडा, गाई–भैंसीलाई झन् नुन पाउन मुस्किल छ ।’

साल्ट टेड्रिङले नै प्रति परिवार २ केजीभन्दा बढी नुन दिन सकिँदैन भनेको उनले सुनाए । ‘नुनको साह्रै समस्या भयो, सिंजामा नुनको हाहाकार नै भएको छ,’ उनले भने ।

उसो त अहिले जताततै सडक र गाडी पुगेकै छन् । बजार पनि विस्तार भएकै छ । तर, जुम्लाका नागरिकलाई साल्ट ट्रेडिङ्गले पहिलादेखि नै सस्तोमा नुन वितरण गर्ने हुँदा नागरिकहरु त्यसैमा भर पर्छन् । जसका कारण बजारमा पनि आयोडिन नुन पाइँदैन ।

वडाध्यक्ष बुढाले कार्यपालिकाबाटै निर्णय गरेर साल्ट ट्रेडिङ्गलाई जतिसक्दो चाँडो नुन ल्याउन आग्रह गरिए पनि अहिलेसम्म नुन आउन नसकेको बताए ।

सिंजाकै जोरु गाउँकी बासु बुढाका ४२ वटा भेँडा छन् । मान्छेलाई नै खाने नुन नुहँदा भेँडालाई नुन नखुवाएको धेरै भएको उनले बताइन् । उनी भन्छिन्, ‘देशमा पटक–पटक राजनीतिक परिवर्तन भए, गणतन्त्र हुँदै अहिले गाउँ गाउँमा सिंहदरबार भन्नाछन् (भन्छन्) हामी जुम्लीकन (जुम्लावासीलाई) नुनकै दुःख, क्यार्नु !’

राज्यले अनुदान दिएर पठाएको साल्ट ट्रेडिङ्गको नुन प्रतिपोका ९ रुपैयाँ पर्छ । राज्यले नै ढुवानी अनुदान दिए पनि साल्ट ट्रेडिङ्गले समयमै नागरिकहरुलाई नुन उपलब्ध गराउन सक्दैन ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्ल शुक्रबारदेखि थप नुन वितरण गरिने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले विवादपछि आएको २ हजार ८० क्विन्टल नुन शुक्रबारदेखि वडाहरुमा पठाउने तयारी भइरहेको बताए । गत आर्थिक वर्षमा ५-५ केजीका दरमा नुन वितरण गरिएको थियो ।

बजारबाट किन्ने बानी नभएकाले समस्या भएको मल्लले सुनाए । साथै कोटा सिस्टमका आधारमा नुन वितरण गर्नुपर्ने भएकाले आवश्यक जनसंख्यालाई नुन पुर्याउन सकस हुने उनको भनाइ छ ।

जुम्लाका लागि गत आर्थिक वर्षमा २५ सय क्विन्टल नुनको कोटा थियो । तर, जनसंख्याको अनुपातमा यो कोटा निकै कम हो । अहिले कोटा थप गर्ने गरी २ हजार ८० क्विन्टल नुन आएको उनले बताए । उक्त नुन शुक्रबारदेखि वितरण हुने जानकारी उनले दिए ।

साल्ट ट्रेडिङ्गले वडावडामा नुन पठाउने र वडाहरुले नागरिकलाई वितरण गर्ने छन् ।

नुनको समस्या जुम्लामा मात्र होइन, कालिकोट, जाजरकोट, मुगु, हुम्ला, डोल्पामा पनि उस्तै हो । सबैजसो जिल्लाको जनसंख्यालाई पुग्दो नुनको कोटा छैन । जसले गर्दा समस्या हुने गरेको छ । नुन भए पनि जिल्ला सदरमुकामको गोदाममा रहने र गाउँका डिपोहरुमा नपुग्ने गर्दा स्थानीय नागरिक १-२ केजी नुनका लागि जिल्ला सदरमुकाम नै आउनुपर्ने बाध्यता कर्णालीका जिल्लाहरुमा छ ।

मुगुमा पनि नुनको समस्या रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा मुगुले जनाएको छ । कार्यालय प्रमुख देवेन्द्र कुमार महतोका अनुसार कोटाभन्दा माग बढी भएकाले नुनको समस्या भएको हो । मुगुमा ३२ सय क्विन्टलको कोटा हो । गत आर्थिक वर्षमा उक्त नुन आएर पनि वितरण भइसक्यो । तर, उक्त कोटा मागभन्दा निकै कम हो ।

‘अहिले ४५० क्विन्टलमात्र मौज्दात छ, बर्खायाम चलाउन समस्या छ,’ महतोले रातोपाटीसँग भने, ‘हामीले ८ सय क्विन्टल कोटा थपका लागि माग गरेका छौँ तर, स्वीकृत भएको छैन ।’

डोल्पामा पनि नुनको अभाव कायमै छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा डोल्पाका प्रमुख प्रकाश बहादुर धामीले भने, ‘अहिले हामीसँग जम्मा ४०० क्विन्टलमात्रै मौज्दात छ, यसले दसैँसम्म पुग्न मुस्किल छ ।’ नयाँ कोटा खुले पनि डोल्पामा बाटोका कारण आउन समस्या हुने उनको भनाइ छ । यदि बाटोको समस्या कायम रहिरहेमा नुनको हाहाकारनै हुने देखिन्छ । डोल्पामा १६०० क्विन्टलको कोटा छ । तर, त्यसले जिल्लामा पुग्दैन ।

salt2

कालिकोटमा पनि नुनको समस्या छ । गत आर्थिक वर्ष साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कालिकोटले सदरमुकाम भन्दा टाढाका लागि ११ केजी र नजिककालाई ५ केजीका दरले नुन वितरण गरेको थियो । जिल्लामा अहिले ७५० क्विन्टल नुन मौज्दात रहेको बताइएको छ । यद्यपि बर्खाका लागि यो पर्याप्त नहुने शाखा प्रमुख डम्बर बुढाले बताए । नयाँ आर्थिक वर्षका लागि टेण्डर भइसकेको उनको भनाइ छ ।

यसअघि आर्थिक मन्दीको नाममा सरकारले नै ढुवानी कटौती गर्दा कर्णालीमा नुनको समस्या भएको जिल्लास्थित कार्यालयहरुले बताएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कर्णालीको प्रादेशिक कार्यालय नेपालगञ्जमा छ । सो कार्यालयका प्रमुख महेश चौधरीले बोलपत्र आह्वान भएर नयाँ आर्थिक वर्षका लागि ढुवानी प्रक्रिया सुरु भइसकेको बताए । उनले कर्णालीमा अहिले भइरहेको कोटाले नुन नपुग्ने प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप