शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टर मियामीको डेब्यूमा मेस्सीको उत्कृष्ट विजयी गोल

शनिबार, ०६ साउन २०८०, १२ : ५७
शनिबार, ०६ साउन २०८०

मियामी । आफ्नो डेब्यू खेलको इन्जुरी समयमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लियोनेल मेस्सीले इन्टर मियामीलाई मेक्सिन टोली क्रुज एजुलविरुद्ध जित दिलाएका छन् । मेस्सीकै गोलको मद्दतले टोली २–१ गोलले विजयी भएको हो ।

३६ वर्षीय अर्जेन्टिनी खेलाडीले थपिएको चौथो मिनेटमा गोल गरेका थिए । मेस्सीको डेब्यू खेल हेर्न करिब २० हजार समर्थक मैदानमा पुगेका थिए । लिब्रोन जेम्स, सेरेना विलियम्सजस्ता खेलाडीहरूसमेत दर्शक दीर्घामा उपस्थित थिए ।

‘हामी यसरी नै जीतबाट सुरुवात गर्न चाहन्थ्यौँ,’ खेलपछि मेस्सीले भने, ‘च्याम्पियनसिपमा जीतबाट सुरुवात गर्नु हाम्रो लागि महत्त्वपूर्ण थियो । भाग्यवश हामीले अन्त्यमा त्यो हासिल गर्न सफल भयौँ । म निकै खुसी छु ।’

मेस्सीको गोलपछि डीआरभी पीएनके स्टेडियममा गुलाबी रङका धुवाँ छरिएको थियो भने केही फ्यानहरू मैदानमा नै प्रवेश गर्ने प्रयास गरेका थिए । 

मेस्सीलाई गत आइतबार समर्थक सामु प्रस्तुत गरिएको थियो । सातपटकको बालोन डि’ओर विजेता खेलाडी २ वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा रहेर यो सिजनबाट एमएलएस आइपुगेका हुन् । पेरिसमा रहँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप