बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करीमा राजनीतिक संलग्नता हुन्छ भन्ने आरोप सत्य होइन : वामदेव गौतम

शनिबार, ०६ साउन २०८०, १६ : ०७
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । राष्ट्रियसभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले सो कुरा बताएका हुन् ।

‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत आरोप हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ?’ गौतमले भने, ‘सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कर्मचारीमात्रै उपस्थित छन्  । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे ।  उनले भने,‘म पहिलोपटक ०५४ सालमा  गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर  सोधिएको एक प्रश्नमा गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए ।  ‘संसारका अरु महत्वपूर्ण देशका एयरपोर्टहरुमा प्रमुख रुपमा सेना खटेको हुन्छ । त्यसपछि प्रहरी पनि रहेका हुन्छन् । अरु धेरै भन्सारलगायत सबै संस्थाहरु संलग्न हुन्छ्न्’ गौतमले भने, ‘हाम्रो देशमा सेना बाहिरबाट सुरक्षामा बस्छ, भित्रैबाट बसेर नेपाल प्रहरीले काम गर्ने गर्छ । सुरक्षासम्बन्धी जाँचबुझ गर्छ । भन्सारसम्बन्धी हेर्ने सुरक्षाले होइन । भन्सारले माग गर्यो भने सुरक्षा निकाय त्यहाँ खट्नुपर्छ ।’ 

उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए । उनले थपे–‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्री पनि प्रधानमन्त्री पनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् ।’  उनले आफू तीनपटक मुलुकको गृहमन्त्री भएको र सो अवधिमा सबैतिरबाट कामको प्रशंसा पाएको स्मरण गराए । 

गौतमले ललिता निवास प्रकरणमा गम्भीर अनुसन्धान भैरहेको समेत बताए । उनले उक्त प्रकरणमा पनि छानबिनको लागि तथ्य र प्रमाण भेटिनुपर्ने बताए ।  त्यस्तै नेपाली सेनाको संख्या घटाउने कुरा वाहियात भएको पनि उनको तर्क छ । ‘सेनाको सम्बन्धमा कुरा गर्नुहुन्छ भने नेपाली सेनाले ऐतिहासिक कर्तव्य निर्वाह गरेको छ, यस्तो निर्वाह गर्ने सेना संसारमा विरलै पाउँछन् ।’ 
आफूले सेनाको विषयमा सदनमा पनि बोलेको स्मरण गराउँदै गौतमले सेनाको संख्या घटाउनुभन्दा प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सुझाए । 

‘मैले सदनमा पनि त्यही बोलेको हुँ । सेनालाई घटाएर पैसा बचाएर देश विकास गर्ने भन्नु वाहियात कुरा हो । बरु प्रतिनिधिसभाका २७५ लाई १६५ मा झारिदिनुपर्छ ।  समावेशी चरित्र त्यसैभित्र (१६५) भित्रै गरिदिनुहोस्’ उनले भने, ‘राष्ट्रियसभाको छुट्टै कुनै भूमिका छैन । यसको आवश्यकत्ता छैन । प्रदेशसभा छ, उता तल पनि ७५३ स्थानीय सरकार छ । संसारमा नभएको सरकार नेपालमा भए । प्रदेशसभा विघटन गरे हुन्छ । ती ठाउँमा गएको पैसा जोगाएर बरु विकास गर्न सकिन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप