बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
अवैध सुन प्रकरण

सुन समातेको सूचना चुहिँदा ‘रेडी ट्रेड्स’ले गरेन दोस्रो ‘सिपमेन्ट’

आइतबार, ०७ साउन २०८०, २३ : ०२
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । राजश्व अनुसन्धान विभागको कमजोरीले हङकङबाट आउन लागेको ‘रेडी ट्रेड्स’को दोस्रो ‘सिपमेन्ट’ गायब भएको छ । 

असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो । लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो । सुन तस्करीमा संलग्न ट्याक्सी चालकसहित ३ जनासमेत सोही स्थानबाट पक्राउ परेका थिए । 

योसँगै राजश्व अनुसन्धान विभागबाट ठुलो परिणाममा तस्करी गरिएको सुनसहित यसमा संलग्न पक्राउ परेको सूचना बाहिरिएको थियो । क्याथे प्यासिफिक विमानको कार्गोबाट नेपाल पुगेको सामान विमानस्थल गेटबाट राजश्वको टोलीले समातेको सूचना बाहिरिँदा हङकङबाट नेपाल आउन लागेको ‘रेडी ट्रेड्स’को दोस्रो लटको सामान उतै गायब बनेको छ । 

हङकङबाट नेपाल हिँड्न तयार रहेको सोही आयातकर्ता कम्पनीको सामान रोकिएको थियो । ‘हङकङबाट रेडी ट्रेड्सले ल्याउने तयारी गरेको अर्को सिपमेन्ट रोकिएको छ,’ अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले रातोपाटीसँग भने, ‘सूचना नबाहिरिएको भए दोस्रो लट सामान समेत आउँथ्यो र पक्राउ पर्थ्यो ।’ 

सुन आयातकर्ता ट्रेड्सले हङकङबाट दुई महिनामा पटक–पटक गरी झन्डै २ हजार किलोग्राम सामान आयात गरेको थियो ।

ट्रेड्स २०७९ साल चैतमा मात्रै स्थापना भएको कम्पनी हो । यो कम्पनी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएदेखि नै हङकङबाट ब्रेक प्याड आयातमा सक्रिय रहेको उजागर भैसकेको छ । बुढानीलकण्ठ नगरपालिका ठेगाना राखेर दर्ता भएको कम्पनीको अधिकृत पुँजी जम्मा २५ लाख रुपैयाँ छ ।

दोलखाका २१ वर्षीय दिलीप भुजेलको स्वामित्वमा रहेको यो कम्पनीले स्थापना भएको दुई महिनाको अवधिमै हङकङबाट २८ पटक सामान ल्याइसकेको थियो । यसअनुसार कम्पनीले हङकङबाट थप सामान सिपमेन्टको तयारी गरेको अवस्थामा नेपालमा आफ्नो सामान पक्राउ परेको सूचना चुहिएपछि अर्को सिपमेन्ट नआएको विभागले नै स्वीकारेको हो ।

सुन तस्करी प्रकरणबारे सूचना चुहिनासाथ यसमा संलग्न व्यक्तिहरूले आफ्नो रणनीति बदल्छन् । तर, आफ्ना सहयोगी र ठुलो परिणामको सुन पक्राउ पर्नसाथ तस्करहरूले रणनीति बदलेर हङकङबाट आउन लागेको अर्को लटको सामान नल्याएको महानिर्देशक ढुङ्गानाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप