आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ज्योतिष र वास्तुमा पञ्च तत्त्वको महत्त्व

ग्रहहरूको प्रभाव घटबढ गर्न सकिन्छ ?
आइतबार, ०७ साउन २०८०, १४ : ३२
आइतबार, ०७ साउन २०८०

जीवनमा सकारात्मकता रहँदासम्म मानिसले ज्योतिष र वास्तुको विषयलाई कम महत्त्व दिन्छन् । जब समस्याले घेर्छ अनि बल्ल यस क्षेत्रमा उपचार खोज्न आउने चलनजस्तो बनेको छ । समस्याअघि नै सम्भावित घटनाको प्रक्षेपण गरिने भए पनि यस क्षेत्रलाई कम महत्त्व दिने हाम्रो बानीले जीवनलाई असहजतातिर धकेलिरहेको छ । 

हामीले ग्रहहरूको प्रभाव, वास्तुको असर र कर्मको प्रतिफलबीच गहिरो सम्बन्ध रहेको हुन्छ भन्ने स्वीकार गरी व्यवहारमा अपनाउने हो भने जीवन सहज बन्न थाल्छ । किनकि हामी यस धर्तीमा भएका तत्त्वको विपरीत जीवन चलाउन सक्दैनौँ । पञ्चतत्त्वको हाम्रो जीवन यिनै तत्त्वको सन्तुलनबाट चलिरहेको हुन्छ । कुनै कारणले कुनै तत्त्वको अभाव भयो या बढी भयो भने जीवनको सन्तुलन बिग्रन थाल्छ । 

जल, वायु, तेज, पृथ्वी र आकाश — यी पाँच तत्त्वको विशेष सन्तुलनले शरीर निर्माण र सञ्चालन गरिरहेको हुन्छ । शरीरमा जल तत्त्वको कमी भयो या अधिक भयो भने त्यसले जलजन्य समस्या निम्त्याउँछ । असन्तुलित अवस्थाको अग्नि तत्त्वले शरीरको तापक्रममा समस्या ल्याउँछ, या अग्नि तत्त्वसँग सम्बन्धित समस्याले जीवन कमजोर बन्छ । कुनै कारण शरीरलाई चाहिने पोषक तत्त्वमा पृथ्वी तत्त्वले काम गरेन भने शरीर स्वतः कमजोर भएर आउँछ । त्यसैगरी शरीरमा वायु तत्त्व र आकाश तत्त्वले आफ्नो सन्तुलन कायम राखी हाम्रो शरीर सञ्चालनमा सहयोग गर्छन् । यी तत्त्वहरूको आवश्यकता अनुसारको सन्तुलन नै हाम्रो शरीरको स्वस्थता हो । 

सहज रूपमा बुझ्दा पञ्च तत्त्वमा रस, रूप, गन्ध, स्पर्श र शब्द हुन्छन् । जल तत्त्वमा रस, अग्नि तत्त्वमा रूप, वायुतत्त्वमा स्पर्श, पृथ्वी तत्त्वमा गन्ध र आकाश तत्त्वमा शब्द रहेको हुन्छ । हाम्रो भौतिक शरीरका यी तत्त्व नै सिंगो प्रकृति हो । शरीर र प्रकृतिमा यी तत्त्वको सन्तुलन रहन जरुरी छ । जसरी शरीरमा यीमध्ये कुनै तत्त्वको कमी या अधिकताले समस्या दिन्छ, प्रकृतिमा पनि कुनै तत्त्वको कमी या अधिकताले समस्या दिन्छ । 

जल तत्त्वको अधिकताले पृथ्वीमा उथलपुथल गराउँछ भने वायु तत्त्वको अधिकताले तहसनसह बनाउँछ । घनघोर आवाजले विष्फोट गराउँछ, अति अग्निले खाक बनाउँछ । यसरी नै ज्योतिष र वास्तुमा प्रकृतिका यी तत्त्वको महत्त्वलाई जीवनसँग जोडेर हेरिन्छ । विज्ञानको विकास अघिदेखि नै पञ्च तत्त्वको सन्तुलनलाई जीवन र जगत्सँग जोडेर वास्तु र ज्योतिषीले जगत्को भलो गर्ने प्रयत्न गरेका हुन् । समय क्रममा विज्ञानका कुरा मात्र स्वीकार गर्ने बानीको विकास भयो । ज्योतिषी र वास्तुलाई अन्धविश्वास भन्नेसम्मको आरोप आउने गरेको छ ।

वास्तुशास्त्र या वास्तु भूगोल हो, जमिन र धरातल हो । हामी जुन धरातलमा छौँ त्यो वास्तु हो । शब्दमा वास्तु भनियो तर वास्तवमा यही धरातल हो, जहाँ सिंगो पृथ्वी छ । हामी बस्ने घर हाम्रो पृथ्वी हो । पृथ्वीमा अनेक शक्तिको बास छ । पाँच तत्त्वको समष्टि हाम्रो शरीर हो भने त्यही रूप पृथ्वी हो । पृथ्वीमा पनि पाँचै तत्त्व छन्, शरीरमा पनि पाँचै तत्त्व । वास्तु मिलाउनु भनेको पाँच तत्त्वलाई सन्तुलित बनाउनु हो । तत्त्वको सन्तुलन मिलेको धरातलमा रहँदा–बस्दा जीवन सहज हुन्छ । असन्तुलित धरातलमा बस्दा लामो समय टिक्न सकिन्न । यही सत्यलाई आधार मानेर भूगोल या धरातलसँग आफ्नो जीवनको सहजता खोजिएको हो । जसलाई हामीले वास्तु व्यवस्थापन भन्छौँ । तसर्थ वास्तुको व्यवस्थापन सही भयो भने जीवन सरल हुन्छ । 

हामीले ग्रहहरूको प्रभाव, वास्तुको असर र कर्मको प्रतिफलबीच गहिरो सम्बन्ध रहेको हुन्छ भन्ने स्वीकार गरी व्यवहारमा अपनाउने हो भने जीवन सहज बन्न थाल्छ । किनकि हामी यस धर्तीमा भएका तत्त्वको विपरीत जीवन चलाउन सक्दैनौँ ।

वास्तुसँगै ज्योतिषशास्त्रको प्रसंग समान देखिन्छ । ज्योतिषशास्त्र पनि ग्रहहरूमा भएका तत्त्वका आधारमा जीवनको सहजता र असहजता पत्ता लगाउने विज्ञान हो । जन्मकालीन ग्रहहरूको तत्त्वको अवस्था अनुसार बनेको शरीरमा कुन कुन समयमा कस्तो कस्तो प्रभाव देखिन सक्छ र त्यसलाई कसरी सन्तुलित बनाउन सकिन्छ भन्ने ज्योतिषशास्त्रले बताउँछ । शरीर निर्माण हुँदाको तत्त्व र वर्तमान समयमा चलेका ग्रहको तत्त्वको बीचमा हुने सन्तुलन या असन्तुलनका आधारमा प्रतिफल आउने तथ्यलाई ज्योतिषशास्त्रले निर्देशित गरेको हुन्छ । त्यसैले ज्योतिषीले तपाईंको दशा यो ग्रहको चलेको छ । यो जन्मकालीन समयमा यस्तो अवस्थामा थियो । त्यसले यस्तो घटना निम्त्याउन सक्छ भन्ने गर्छन् । जन्मकालीन अवस्थाका ग्रहले तपाईंको जीवनको समग्र मार्गचित्र तय गरेको हुन्छ तर उसको प्रभावलाई कम या बढी गर्नमा व्यक्तिको वरिपरिको वातावरण या भूगोल अथवा वास्तुको समुचित तारतम्यले प्रभावकारी भूमिका खेल्छ । ग्रहहरूको नकारात्मक प्रभावलाई वास्तुको सकारात्मकताले कम नकारात्मक बनाउन मद्दत गर्छ भने दुवैको नकारात्मक प्रभाव छ भने त्यसको प्रभाव मानिसले थेग्न सक्दैन । त्यसैले ज्योतिषीले यतिबेला तपाईंलाई महाकष्ट छ भन्न सक्छ । 

ज्योतिषीको काम समस्या मात्र देखाउने होइन, समस्या छ भने त्यसलाई सही मार्गनिर्देश गरी समस्याको नकारात्मक प्रभाव कम गर्न वास्तु व्यवस्थापन या कर्म व्यवस्थापनको सल्लाह दिन जरुरी छ । सही सल्लाह लिएर कार्य गर्ने हो भने पक्कै पनि नकारात्मक प्रभाव घटाउन सकिन्छ । यसो भनिरहँदा ग्रहहरूले हाम्रो कुरा सुनेर या हामीले गरेको पूजापाठको प्रभावबाट प्रभावित भएर आफ्नो प्रभाव कम या बढी गर्छ भन्ने भ्रममा पर्नुहुँदैन । ग्रहहरूको प्रभाव जस्तो छ, त्यस्तै हुन्छ । कम या बढी हुँदै हुँदैन । यद्यपि उचित उपचार भयो भने त्यसको प्रभाव हाम्रो जीवनमा कम या बढी हुन्छ । वर्षामा पानी पर्छ, पानी रोक्न कसैले सक्दैन तर कति पानी पर्छ र कस्तो ओतको सहारा लिनुपर्छ भन्ने जानकारी हुने हो र त्यसै अनुसारको व्यवस्थापन गर्दा वर्षाको कारण हुने नकारात्मक प्रभाव कम हुन्छ । यही नै ज्योतिषी र वास्तुशास्त्रीको काम हो । 

तसर्थ हजारौँ वर्षदेखि चलिआएको ज्योतिष र वास्तुशास्त्र सामान्य विज्ञान होइन, पञ्चतत्त्वको समग्र अध्ययन अनुसन्धान गरी सत्य पत्ता लगाइएको विज्ञान हो । यसको प्रभाव व्यक्तिको हरेक क्षणमा परिरहेको हुन्छ । जाडोमा आगो ताप्न, भोक लाग्दा खाना खान, गर्मीमा शीतलता खोज्न ज्योतिषीलाई सोध्नुपर्दैन, तर जीवनभरको प्रभाव तय भएर आएको शरीरले कहिले कुन कुन घटनाको सामना गर्नुपर्छ भन्ने थाहा पाउन र त्यसको प्रभावलाई कम नकारात्मक बनाउन ज्योतिषी र वास्तुशास्त्रीको सल्लाह लिनु राम्रो हो । 

(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका सहमहासचिव हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप