आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटर अब एक्स, नाम र लोगो परिवर्तन

सोमबार, ०८ साउन २०८०, ११ : ३१
सोमबार, ०८ साउन २०८०

ट्विटर अब एक्स भएको छ । X.com खोल्दा तपाईं ट्विटरमा पुग्नुहुनेछ । ट्विटरमा लोगो पनि फेरिएको छ । अब चराको ठाउँमा तपाईंले अङ्ग्रेजी अक्षरमा एक्स देख्नुहुनेछ । ट्विटरका मालिक एलन मस्कले ट्विटर ब्रान्ड समाप्त गर्ने तयारी पूरा गरिसकेका छन् र यो माइक्रो ब्लगिङ प्लेटफर्मको नयाँ चरण सुरु हुने पक्का भएको छ ।

ट्विटरको नयाँ युआरएल (X.com) पनि आएको छ । तपाईंको मनमा यसबारे विभिन्न प्रश्न होलान् । ट्विटर ब्रान्ड समाप्त गर्नु पछाडिको उद्देश्य के हो ? पहिल्यै बनिसकेको ब्रान्डलाई किन समाप्त गरिरहेका छन् मस्क ? नाम फेर्दा के कस्ता परिवर्तन आउनेछन्, यसबारे जानकारी लिऔँ । 

एक्स ल्याउनुको पछाडि एलन मस्कको एउटा ठुलो योजना छ । मोटामोटी रूपमा भन्ने हो भने यो प्लेटफर्मबाट उनले धेरैभन्दा धेरै आम्दानी गर्न चाहेका छन् ।

एलन मस्कले योजनाबारे जानकारी दिइसकेका थिए

ट्विटर किन्ने बेला नै मस्कले आफ्नो योजना स्पष्ट रूपमा प्रस्तुत गरिसकेका थिए । उनले भनेका थिए, ‘ट्विटर किन्नु एक्सको सुरुवातका लागि एउटा ठुलो कदम साबित हुनेछ ।’

ट्विटर लामो समयदेखि घाटामा थियो र एलन मस्कले यसलाई ठुलो पैसा लगानी गरेर किनेका हुन् । त्यसैले यसबाट धेरै पैसा कमाउन चाहनु सामान्य हो । तर उनलाई यो पनि थाहा छ कि ट्विटरबाट मात्रै यो काम हुन सक्दैन त्यसैले उनले आफ्नो रणनीति अनुसार यसमा ठुलो परिवर्तन ल्याउन सुरु गरेका छन् । पहिला भेरिफिकेसनका लागि पैसा र ट्विटर ब्लुको सुरुवात र अब लोगो र युआरएलमा परिवर्तन ।

एलन मस्कले ट्विटरको ब्रान्ड छिट्टै समाप्त गर्ने घोषणा गरिसकेका छन् र यसलाई एक्ससहित प्रतिस्थापन गर्नेछन् । त्यसपछि उनले नयाँ लोगोको डिजाइन पनि जारी गरेका छन् ।

अप्रिलबाट भएको थियो परिवर्तनको सुरुवात

एक्स नामको प्लेटफर्ममा एलन मस्कले ट्विटरमात्रै नभई अन्य सेवा पनि दिनेछन् । एलन मस्कले केही समय अघि नै ट्विटरलाई X Corp मा परिवर्तन गरिदिएका थिए । यस वर्ष अप्रिलदेखि नै ट्विटरले आफ्ना पार्टनरसँग आधिकारिक काम–कारवाहीका लागि एक्स कर्प नामलाई प्रयोग गर्न आग्रह गरेका थिए ।

सुपर एपको रूपमा काम गर्नेछ एक्स

एलन मस्कलाई चिनियाँ एप विच्याट असाध्यै मनपर्छ र उनले निकै अघिदेखि आफूले विच्याटजस्तै केही ल्याउन चाहेको बताएका थिए । स्मरण रहोस्, विच्याट चीनको एक सुपर एप हो जहाँ हरेक प्रकारको सेवा पाइन्छ ।

सुपर एपको अवधारणा एउटा एपमा विभिन्न खालका सुविधा दिनु हो । जस्तै सोसल मिडिया, भुक्तानी सेवा, टिकट बुक गर्ने सेवा, गेमको सुविधा र अन्य युटिलिटी बेस्ड सर्भिस दिइन्छ ।

एक्स डट कममा ट्विटर मात्रै होइन एलन मस्कले आफ्ना अन्य कम्पनी पनि रिडायरेक्ट गर्न सक्छन् । टेस्ला, स्पेसएक्स, न्युरालिंक, द बोरिङ कम्पनीदेखि स्टारलिंकजस्ता आफ्ना अन्य प्रोजेक्टलाई पनि एलन मस्कले एक्स डट काम डोमेनमा सिफ्ट गर्न सक्छन् । अर्थात् एक्स डट कम खोल्दा एलन मस्कका विभिन्न कम्पनीको इन्टरफेस खुल्न सक्छ । यद्यपि, यसबारे अहिले नै स्पष्ट जानकारी भने आइसकेको छैन । 

ट्विटरको नयाँ चरण एक्सको रूपमा...

यो माइक्रोब्लगिङ वेबसाइटको नयाँ चरण सुरु भइसकेको छ । पुरानो लोगो र ब्रान्डलाई बिस्तारै समाप्त गरिँदै छ । एलन मस्कले आन्तरिक इमेलमा आफ्ना कर्मचारीलाई ट्विटरको साटो एक्स नाम प्रयोग गर्न भनेका छन् ।

एक्स र एलन मस्कबीच पुरानो सम्बन्ध

एक ट्विटमा मस्कले आफूलाई एक्स अक्षर निकै मनपर्ने बताएका छन् । सन् १९९९ मा एलन मस्कले एक्स डट कमको सुरुवात गरेका थिए । यद्यपि, उनी त्यसमा सह–संस्थापकको रूपमा थिए । पछि यसलाई मस्कले आफ्ना अन्य स्टार्टअप पेपालसँग मर्ज गरेका थिए । पेपाल हाल विश्वको ठुलो पेमेन्ट गेटवेमध्ये एक हो ।

यद्यपि, सन् २०१७ मा एलन मस्कले पेपालसँग एक्स डटकम डोमेन खरिद गरेका थिए । अब एक्स डट कममा ट्विटरमा रिडायरेक्ट गरिएको छ, अर्थात् तपाईं ब्राउजरमा एक्स डट कम खोल्नुभयो भने तपाईं ट्विटरमा जानुहुनेछ ।

ट्विटर प्रयोगकर्ताको मिश्रित प्रतिक्रिया, तर मानिस रुष्ट

ट्विटरमा गरिएको यो परिवर्तनलाई धेरैले मन पराइरहेका छैनन् । सोसल मिडियामा यो परिवर्तनका लागि मानिसले मस्कको आलोचना गरिरहेका छन् । ट्विटरमा बारम्बार परिवर्तन भइरहँदा प्रयोगकर्ता यसबाट निकै अलमलिएको र अब यो प्लेटफर्मबाट बाहिरिने योजना बनाइरहेको बताएका छन् । विभिन्न खालका मिम्स पनि सेयर भइरहेका छन् । 

यद्यपि, एलन मस्कलाई एक दूरदर्शी व्यापारी बताउँदै ट्विटरमा भइरहेका परिवर्तन सुरुमा मन नपरेपनि पछि गएर मानिसलाई मनपर्छ भनेर धेरैले बताएका छन् ।

स्मरण रहोस्, एलन मस्कले यसअघि ट्विटरको लोगोमा कुकुर राखेका थिए । तर उक्त परिवर्तन क्षणिकका लागि मात्रै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप