शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

साउनदेखि पुससम्म रगत सङ्कलनमा किन कमी आउँछ ?

सोमबार, ०८ साउन २०८०, १४ : ०७
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । देशभर वर्षायाम सुरु भएसँगै रगत सङ्कलन कम हुन थालेको छ । रगत सङ्कलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मङ्सिर महिनासम्म मानिसहरू खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत सङ्कलनमा कमी हुने गरेको हो । 

वर्षातको समय सुरु भएदेखि मङ्सिर/पुससम्म दैनिक करिब आठ सय युनिटमात्रै रगत सङ्कलन हुने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए । उनले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत सङ्कलन हुने गरेको बताए । 

केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९÷८० मा ३३ हजार चार सय ८५ युनिट रगत सङ्कलन भएको थियो । उनले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताए ।  पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको र गत वर्षहरूको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए । 

 देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको उनले बताए । निर्देशक पौडेलले नेपालमा कुल जनसङ्ख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए । कुल जनसङ्ख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने उनको भनाइ छ । 

निर्देशक पौडेलले भने, ‘ रगतको माग र आपूर्ति सिजन अनुसार हुने गर्छ । वर्षाको मौसम सुरु भयो भने धेरै मानिसहरू खेतीपातीमा लाग्ने भएकाले रगत सङ्कलन कम हुन्छ । चाड पर्वको समयमा पनि रगत सङ्कलन न्यून हुने गर्छ । मङ्सिर/पुसदेखि साउनसम्म धेरै राम्रो रगत सङ्कलन भइरहेको हुन्छ । मंसिरदेखि पुुसमा अस्पतालहरुबाट पनि माग धेरै आइरहेको हुन्छ । विशेष अवस्था जस्तैः कोभिड, डेंगुको अवस्थामा विशेष किसिमको प्रडक्ट आवश्यक परेको हुन्छ । त्यस्तो बेलामा हामीले रक्तदानका लागि विशेष आह्वान पनि गरिरहेका हुन्छौँ । गत वर्षहरूको तथ्याङ्क हेर्ने हो भने नेपालमा दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्छ । त्यो भनेको वर्षको चार लाख ५० हजार युनिट रगत आवश्यकता पर्ने हो  । नेपाल रेडक्रस सोसाइटीले मागको ९० प्रतिशत बढी रगत आपूर्ति गरिरहेको छ । केन्द्रीय रक्त सञ्चार सेवासँगै प्रादेशिकस्तरमा पाँच वटा रक्त सञ्चार सेवा छन् । नेपालगन्ज, धनगढी, पोखरा, विराटनगर र चितवनमा सेवा उपलब्ध गराउँदै आएको छ । जिल्लास्तरमा २४ वटा रक्त सञ्चार सेवा छन् । समग्रमा एक सय वटा सङ्कलन केन्द्र रक्त सञ्चार सेवाले व्यवस्थापन गरिरहेको छ । रगतको कति माग हुन्छ भन्न सकिँदैन । गएका वर्षहरूको ट्रेन्ड हेरेर विचार गर्ने हो । नेपालमा कुल जनसङ्ख्याको ०.९ प्रतिशत नागरिकले नियमित रक्तदान गर्नुहुन्छ । अब त्यो नियमितता बढाउन जरुरी छ । जस्तो की वर्षको चार पटकसम्म रक्तदान गर्न मिल्छ । कतिपयले एक पटक वा दुई पटक रक्तदान गरिरहनुभएको छ । त्यसैले रक्तदान गर्नेहरूको सङ्ख्या बढाउनु पर्छ । रक्तदान गर्नेहरूको सङ्ख्या बढाउन सकियो भने फाइदा हुन्छ । एउटा रगतको आपूर्ति हुन्छ । अर्को नियमित रक्तदान गर्ने सबैभन्दा सुरक्षित रक्तदाता हो ।’

निर्देशक पाठ्यक्रममै रक्तदानलाई प्रवर्द्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताए । पौडेलले सङ्घ र प्रदेश सरकारले विपन्नहरूलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताए ।  उनले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गव गर्न लायक प्याकेज ल्याउनुपर्ने बताए । पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत सङ्कलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप