शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ठगीधन्दा

२८ सय युरोको आश्वासन दिई माल्टा लैजाने नाममा ठगी, उपप्रमुखका श्रीमान् मुछिए

मङ्गलबार, ०९ साउन २०८०, १० : ११
मङ्गलबार, ०९ साउन २०८०

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विक न्यायिक समितिकी सभापति पनि हुन् । यस अर्थमा उनी अहिले पालिकावासीलाई न्याय दिने ठाउँमा छिन् । तर, उनकै श्रीमान् कमानसिं कामीबाट १९ जना ठगिएको बताइएको छ ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लाखौँ रकम उठाएर कमानसिं अहिले बेपत्ता छन् । युरोपेली देश माल्टामा राम्रो कमाई हुने प्रलोभन देखाएर सुर्खेत, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट १९ जनासँग कमानसिंले सुरुमा २ लाखमा दरले पैसा उठाएको पीडितहरु बताउँछन् ।

आफ्नो कम्पनी भारतको दिल्लीमा रहेको र आफ्नो जेठान यामबहादुर विकको माध्यमबाट माल्टा पठाउने आश्वासन दिएर पैसा लिएको पीडितहरुको भनाइ छ । यामबहादुर दाङका हुन् । लाखौँ रकम उठाएर पनि माल्टा नपठाएको र केही महिना यता कमानसिं फरार रहेको भन्दै पीडितहरु सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गर्न आएका थिए । यद्यपि मुद्दा दर्ता हुन नसकेको र मंगलबार दर्ताको प्रक्रिया अघि बढाउने उनीहरुको भनाइ छ ।

1112

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका २४ वर्षीय हरिबहादुर ओली बोटेचोरमै सानो फोटो स्टुडियो चलाउँथे । तीन वर्ष अघिदेखि स्टुडियो सञ्चालन गरे पनि खासै कमाई हुन्थेन । कमानसिंले माल्टामा राम्रो कमाई हुन्छ, जाने भए मेरै मान्छेको कम्पनी दिल्लीमा छ भनेर उनीसँग प्रस्ताव राखे । माल्टामा मासिक २८ सय युरो (रुपैयाँ नेपाली करिब ३ लाख ९४ हजार) तलब पाइने आश्वासन आफूलाई दिइएको ओलीको भनाइ छ ।

‘मासिक ३ लाखभन्दा बढी तलब पाउने भएपछि हामीलाई के चाहियो र ? आफ्नै गाउँघरको व्यक्ति हुनुहुन्छ, त्यो पनि उपमेयरको श्रीमान् । त्यसैमा गाउँको छिमेकीले ठग्लान् भन्ने त कल्पना नै गरिएन,’ ओलीले भने, ‘अनि हामीले हुन्छ भन्यौँ ।’

त्यसपछि कमानसिंले सुरुमा २–२ लाख जम्मा गर्नुपर्छ भनेको ओलीको भनाइ छ । आफूहरुले ग्लोबल आईएमी बैंकमा कमानसिं कामीकै नाममा रहेको खातामा पैसा जम्मा गरिदिएको उनले बताए । पैसा हालिसकेपछि अफर लेटर एक दिनमै आएको र उक्त पत्रमा ‘माल्टा चक्लेट फ्याक्ट्री’ उल्लेख गरिएको जिकिर गर्दै उनले भने, ‘एक दिनमै लेटर आएपछि हामी त खुसी भयौँ, त्यसपछि उक्त पत्रमा हामीले हस्ताक्षर गरेर उता (दिल्ली) पठायौँ ।’

ओलीका अनुसार कमानसिंले ‘ल अब तपाईँहरुको भिसा झर्न थालिसक्यो, भीएक्स गर्नुपर्‍यो’ भने । सुरुमा मेडिकल भयो । मेडिकलमा ११ हजार भारु खर्च भएको उनले बताए । भिसा आउँछ भनेपछि ओलीले बोटेचोरमा रहेको आफ्नो फोटो स्टुडियो ३ लाखमै बेचे । माल्टा जाने प्रक्रियामा लागेकाहरुमध्ये १० जना गुर्भाकोटको बोटेचौर र गुभीका मात्र थिए । अन्य सबै गरी १९ जनालाई ०७९ चैत १४ गते (मार्च २८) मा माल्टा उडान हुने र भीएक्स गर्नुपर्ने भन्दै कमानसिंले दिल्ली बोलाए ।

‘हामीलाई बोलाउने बेला तिमीहरुको लागि सबै व्यवस्था यतै हुन्छ भनियो तर, गइसकेपछि एउटा होटेलमा बस भन्यो,’ उनी भन्छन्, ‘हामीले बल्लतल्ल होटेल खोजेर बस्यौँ तर, कमानसिं हामीकहाँ आएनन् । पहिला होटेलको सबै व्यवस्था गरिएको छ भनियो तर, लास्टमा होटेलको सबै पैसा आफैँले तिर्नुपर्ने भयो । तिर्‍यौँ ।’

होटलमा बसेकै अवस्थामा भीएक्सका लागि भनेर प्रतिव्यक्ति ५० हजार थप दिइएको ओलीले बताए । उनका अनुसार त्यसपछि कमानसिं र यामबहादुरले अब २५ दिनभित्र भिसा आउने आश्वासन दिए । त्यसपछि आफूहरु नेपाल फर्किएको उनले बताए । उनी भन्छन्, ‘हामी भिसा आउँछ भनेर प्रतीक्षा गरिरह्यौँ, २५ दिनभन्दा बढी कटिसक्यो कुनै खबर आएन ।’

ml

त्यसपछि यताबाट आफैँले फोन गरेका उनीहरुलाई ‘यो कम्पनीमा त्यो मान्छेले गर्न सकेन अब ४५ दिनमा अर्को कम्पनीबाट माल्टा पुर्‍याउने गरी काम गर्छौँ’ भनेर कमानसिंहले आश्वासन दिए ।

कमानसिंले माल्टाकै अर्को कम्पनी काब्रो कन्सट्रक्सनमा फुड प्याकिङ्ग कामका लागि पठाउने आश्वासन दिएको ओलीको भनाइ छ । ‘त्यसपछि फेरि हामीले डकुमेन्ट पठायौँ, केही व्यक्तिको भिसाको अफर लेटर र वर्क परमिट गत वैशाख २६ गते आयो,’ उनले भने, ‘चेक गर्दा त्यो खुलेन । त्यसपछि हामीलाई थाहा भयो कि यो सरासर नक्कली हो । हामी ठगियौँ कि भन्ने लाग्यो । फेरि अर्को एउटा लेटर आयो । हामीले हस्ताक्षर गरेर पठायौँ र भिसा आउँछ भनियो । तर, आउँदै आएन । त्यसपछि यो फेक हो भन्ने कुरा थाहा पायौँ र हामीले उनीहरुलाई (कमानसिं– यामबहादुर) भन्यौँ ।’

पछि माल्टाका लागि उताबाट आएका सबै पत्र नक्कली रहेको पाइएको पीडितहरुको भनाइ छ । फेक पत्र पठाउनुभयो भनेर भन्दा ‘हैन अलिकति टाईपिङ गर्दा मिस्टेक भएको हो’ भन्दै ढाँट्ने गरिएको उनले बताए । आफ्नो पैसा फिर्ता गर्न भनेपछि कमानसिंले ‘हुन्छ’ भनेर झुलाएको र अहिले सम्पर्कमा नरहेको उनीहरुको भनाइ छ ।

पीडित हरिबहादुर र दीपक जिप्रका बाहिर पीडा सुनाउँदै

पीडितहरु

बोटेचौरकै २४ वर्षीय दीपक ओली भन्छन्, ‘पैसा फिर्ता गर्नुस् भन्दा सुरुमा १ लाखमात्र आउँछ, बाँकी आउन्न भन्दै धम्की पनि दिन थाल्नुभयो । तर, एक महिनादेखि उहाँहरु (कमानसिं–यामबहादुर) सम्पर्कमा हुनुहुन्न ।’

दीपक आफू पहिला सवारी चालक रहेको र गाउँमा काका, मामाहरु माल्टा जाने तयारीमा लागेपछि आफूले पनि सोही अनुसारको तयारी गरेको बताउँछन् । ‘गाउँको सबै अंकल, मामाहरु राम्रो पैसा कमाउन माल्टा जाने भएपछि म पनि उनीहरुसँगै जाउँ भन्ने भयो, सबैसँगै गएपछि दुःख पाइन्न होला भन्ने लाग्यो,’ उनले भने, ‘तर आफ्नै पालिकाको उपप्रमुखका श्रीमानबाट ठगियौँ ।’

नेपालबाट दिल्ली जान–आउनदेखि खान, होटेलमा बस्न गर्दा प्रति व्यक्ति साढे ३ लाख रुपैयाँसम्म खर्च भइसकेको पीडितहरुको भनाइ छ ।

हरिबहादुर वलीको दुई लाखको भौचर (1)

‘उपप्रमुखले आफू निकै तनावमा रहेको बताउनुहुन्छ’

ठगिएकामध्ये १० जनाले गुर्भाकोट नगरपालिकाको न्यायिक समितिमा उजुरी लिएर गए । तर, कमानसिंकी श्रीमती समेत रहेकी उपप्रमुख मैना भने कार्यालयमै आइनन् । ‘हामी जाँदा उहाँ नआउने, कहिले भाग्ने, लुक्ने काम गर्नुभयो,’ दिपक भन्छन् ।

उजुरी भने न्यायिक समितिमा दर्ता हुन सकेन । आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै उजुरी दर्ता नगरिएको पीडितहरुको भनाइ छ । यद्यपि कमानसिंले पासपोर्ट भने पठाइदिएको उनीहरुको भनाइ छ । दिल्लीबाट पासपोर्ट नेपाल आउन भाडाबापत भनेर थप प्रतिव्यक्ति एक हजार रुपैयाँ लगिएको दिपक बताउँछन् ।

पछि न्यायिक समितिले उपप्रमुखकै घरमा आफूहरुलाई छलफलका लागि बोलाइएको पीडित बताउँछन् । ‘घरमा बसेर छलफल गर्दा उहाँले (मैना) मिडियाबाजी नगर्नुहोस्, हामी जसरी पनि पैसा फिर्ता गराइदिन्छौँ भन्नुभयो,’ हरिबहादुर ओलीले भने, ‘उहाँ (मैना) ले म छुट्टै तनावमा छु, मेरो बुढो सम्पर्कमा छैन । हरायो भनेर भन्नुभयो । हामीले ठिकै छ, होला त भनियो । अर्को शनिबार बसौँला भन्नुभयो तर, उहाँले न बुढो हराएकोबारे खोजी गर्नुुभयो न हाम्रो पैसाको बारेमा । उहाँहरु बुढाबुढीको कुरा हुन्छ जस्तो लाग्छ । हामीलाई बेवास्ता गर्न थालिएपछि हामी जिल्ला प्रहरी कार्यालयमा आउनुपर्‍यो ।’

रातोपाटीले घटनाबारे कमानसिं र यामबहादुरलाई सम्पर्क गर्न खोज्दा पनि उनीहरुको फोन सम्पर्क हुन सकेन । यस्तै उपप्रमुख मैना विकलाई पनि पटक–पटक फोन गर्दा उठाइनन् । तर, उनकै घरमा छलफलको क्रममा सहभागी बनेका सोही वडाका वडाध्यक्ष ज्ञानबहादुर खत्रीले कमानसिं कसैको सम्पर्कमा नरहेको बताए । ‘कमानसिंजी कसैको सम्पर्कमा हुनुहुन्न, हामीले म्यासेन्जरमा पनि पटक–पटक सम्पर्कको कोसिस गर्‍यौँ, रिप्लाई नै आउँदैन,’ उनले रातोपाटीसँग भने, ‘उपप्रमुख (मैना) जी पनि तनावमा हुनुहुन्छ ।’ यद्यपि कमानसिं पनि पीडित जस्तै वैदेशिक रोजगारीका लागि भनेर नै दिल्ली गएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप