सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
डेंगुको प्रकोप

धरानमा डेंगुको सङ्क्रमण बढ्दो

दिउँसै लाइट बालेर डेंगुको लार्भा खोज्दै हर्क साम्पाङ
बुधबार, १० साउन २०८०, १० : १५
बुधबार, १० साउन २०८०

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगिसकेको छ ।

धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा ६ जनाको डेंगुकै कारण मृत्यु भएको बताए । तीमध्ये चार जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अहिलेसम्म १९ सय ११ जनामा सङ्क्रमण देखिएको छ ।

Dengu Dharan (10)

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइरहेको छ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ ।

यस्तै धरानमा रहेका २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए । ‘हामीले २४० वटा टोल विकास संस्थालाई डेंगु नियन्त्रण अभियानमा परिचालन गरेका छौँ । विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोय अभियान लिएर घरघरमा जाँदैछौँ,’ मेहताले भने ।

उनले हाल देखिएको डेंगुले महामारीको रूप नलिएको तर महामारीको रूपमा जान सक्ने संकेत गरेको बताए । ‘धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । यी चारै वडामा सबैको सहयोगमा घरघरमा पुग्ने अभियान चलाइरहेका छौँ,’ जनस्वास्थ्य अधिकृत मेहताले भने, ‘त्यसमध्ये पनि १७ नम्बर वडा बढी प्रभावित रहेको बताइएको छ । उक्त वडामा मात्रै लगभग ५ सय सङ्क्रमित छन् ।’

Dengu Dharan (7)

डेंगु तीव्र गतिमा फैलिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु सङ्क्रमितको उपचारका लागि १ सय ५० जनासम्म अट्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ‘त्यहाँ किटको व्यवस्था गरेका छौँ । कुर्सी, टेबल र फ्यानहरुको व्यवस्था गरेका छौँ । स्वास्थ्य कार्यालय सुनसरी र स्वास्थ्य निर्देशनालय धनकुटाबाट परीक्षण किटहरू बीपी प्रतिष्ठानलाई नै दिएका छौँ । त्यहीँबाट धरानका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,’ मेहताले भने ।

यद्यपि डेंगु परीक्षणको लागि किटको अभाव भएको मेहताले बताए । ‘अहिले किट कम छ,’ उनले भने । किट उपलब्ध भएको अवस्थामा ३ सय जनासम्मको दैनिक परीक्षण गर्न सकिने उनले बताए । किट महँगो पर्ने भएकोले उपमहानगरपालिकाले डेंगु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

‘१० लाखको किट खरिद गर्दा २ हजारमात्रै आउँछ । किट धेरै महँगो पर्ने भएकाले परीक्षण गर्नु मात्रै ठुलो कुरा नहुने देखियो । बरु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने । उनले धरानमा हालसम्म ३१ सयको किट मार्फत परीक्षण गरिसकिएको बताए ।

Dengu Dharan (19)

धरानमै पटकपटक किन हुन्छ डेंगुको प्रकोप ?

धरानमा खानेपानीको अभाव छ । पानीको अभाव पूर्ति गर्न वर्षाको समयमा ड्रममा पानी जम्मा पारेर राख्ने चलन छ । डेंगु त्यहाँ बढी बस्छ । ‘हामीले त्यस्ता ड्रमको पानी फाल्दै पनि छौँ । छोपेर राखिएकालाई दिएका छौँ । खुल्ला राखेको छ भने तीन दिनमा पानी परिवर्तन गर्न भनेका छौँ,’ मेहताले भने । उनका अनुसार तीन÷चार दिनमा पानी चेन्ज गरिएन र खुला राखियो भने त्यहाँबाटै डेंगुको लार्भा  हुर्कने चान्स बढी हुन्छ ।

डेंगुको प्रकोप प्रि–मनसुन, मनसुन र पोष्ट मनसुनमा हुन्छ । मनसुन सिजन अहिले हो । फागुन–चैत महिनामा ३–४ सय केस इटहरीमा देखिएको थियो । अहिले इटहरीमा कम भएको छ भने धरानमा बढी देखिएको छ ।

Dengu Dharan (27)

धरानमै अहिले डेंगु देखिनुको कारण विभिन्न रहेको मेहताको दाबी छ । उनले भने, ‘एउटा कारण पानीको अभाव हुनु र जम्मा गरेर राख्नु हो । अर्को वनजंगलको क्षेत्र बढी छ । जंगलका रुखको टोड्काहरूमा पनि पानी जमेको छ भने त्यो पनि डेंगुको घर हो । यस्तै फूलका गमलाहरू पनि धरानमा धेरै छन् । गमलाको पिँधमा रहेको प्लेटमा पानी रहँदा त्यहाँ पनि डेंगुको घर बनेको छ ।’

यस्तै, पानी जम्मा गरेर राखेको ट्याङ्कीहरू घरघरमा छन् । त्यसमा पनि डेंगु बस्ने देखिएको छ । अर्को, सुँगुरको खोर धेरै छ । त्यहाँबाट पनि डेंगु सरिरहेको छ । सुँगुर भएको ठाउँमा धेरै हिलोमैलो देखिन्छ । डेंगुले सफा पानीमा फूल पारे पनि फोहोरमा हुर्किन्छ । यस्तै कतिपय सडकको ड्रेन तथा नालीहरू पनि सफा छैन । धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टे पाइएको छ ।

Dengu Dharan (13)

‘रिसर्च गर्दा डेंगु सार्ने खालको लामखुट्टे धेरै पाइएको छ । यसलाई रोकथाम र नियन्त्रणको एउटै उपाय भनेको सर्च एण्ड डिस्ट्रोय अभियान नै हो,’ मेहताले भने । धरानमा ०७७ र ७८ मा फाट्टफुट्टमात्रै डेंगु देखिएको थियो । त्यतिबेला १०२ जना सङ्क्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको सङ्क्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस सङ्क्रमित भएका थिए । त्यतिखेर पनि सर्च एण्ड डिस्ट्रोय र फगिङ गरिएको थियो ।

कोशी प्रदेशमा मात्रै २ हजार बढी सङ्क्रमित

कोशी प्रदेशभरमा २ हजार भन्दा बढी डेंगुका सङ्क्रमित रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

जसमध्ये सुनसरी, सङ्खुवासभा, झापा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा र ताप्लेजुङमा पनि डेंगु सङ्क्रमित देखिएका छन् । तर, बढी समस्या भएको क्षेत्र सुनसरीको धरान नै हो । बस्नेतले धरानमा विशेष अभियान चलाइरहेको बताए ।

Dengu Dharan (18)

‘धरानमा दुई दिन अगाडि स्वास्थ्य सेवा विभाग इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका प्रमुख, महानिर्देशक सहितको विज्ञको टिम आएर डेंगु नियन्त्रणको विषयमा छलफल ग¥यो । त्यहाँ अवस्थाको पहिचान र अब के गर्ने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बस्नेतले भने ।

त्यहाँ पानी जमेका भाँडाहरु सफा गर्ने अभियान चलाउने, झुल प्रयोग गर्ने लगायतका सचेतना कार्यक्रम भइरहेको उनले बताए । उनले किटको माग बढी आइरहे पनि पर्याप्त उपलब्धता नभएको बताए । ‘परीक्षण गर्नुपर्ने मान्छेहरूको लागि पुगिरहेको छ । तर, सबैलाई परीक्षणको लागि किट नै चाहिन्छ भन्ने पनि होइन । अलिक जटिल खालको अवस्थामा मात्रै किटको प्रयोग गर्दा अपुग छैन । सोचेजस्तो र माग गरेजस्तो आएको छैन,’ बस्नेतले भने, ‘तर, अहिले पनि सप्लाई पनि भएको छ र पुगिरहेको पनि छ । फोकस एरिया धरान हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप