मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
डेंगुको प्रकोप

डेंगुको ‘हब’ बन्यो सुनसरी : ४ हजार बढी सङ्क्रमित, ३ जनाको मृत्यु

सङ्क्रमितमध्ये ५० प्रतिशत बढी सुनसरीका, पाँचौँमा काठमाडौँ
मङ्गलबार, ०९ साउन २०८०, २० : २९
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार २८९ केस पुष्टि भएको छ । डेंगु सङ्क्रमणकै कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाका मात्रै रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जनाएको छ । 

गएको पुस महिना यता ४ हजार २८९ जनामा पुष्टि भएको महाशाखाका प्रमुख डा.रुद्र प्रसाद मरासिनीले बताए । सबैभन्दा बढी सुनसरी जिल्लामा डेंगु सङ्क्रमित पुष्टि भएको छ । सुनसरीमा मात्रै २ हजार ५४२ जना सङ्क्रमित भएका छन् । 

कुन प्रदेशमा कति सङ्क्रमित ?

सात प्रदेशमध्ये डेंगु सङ्क्रमित बढी कोशी प्रदेशमा छन् भने कम कर्णाली प्रदेशमा  रहेको पाइएको छ । कोशी प्रदेशपछि दोस्रोमा ६६७  जना बागमती प्रदेशमा सङ्क्रमित भएका छन् भने तेस्रोमामा गण्डकी प्रदेशमा ३४४ सङ्क्रमित भएका छन् । 

यस्तै, चौथोमा सुदूरपश्चिम प्रदेशमा ३१६ सङ्क्रमित हुँदा लुम्बिनी प्रदेशमा १६६, मधेस प्रदेशमा २२ र कर्णालीमा २० जना सङ्क्रमित  भएका छन् ।

सङ्क्रमित बढी भएका टप टेन जिल्ला

डेंगु सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमध्ये बढी सङ्क्रमित १० जिल्लामा सुनसरीमा प्रकोपको रूपमा फैलिएको छ । सुनसरी जिल्लामा मात्रै २ हजार ५४२ केस पुष्टि भएको छ । 

दोस्रोमा ४०१ केस धादिङमा, तेस्रोमा २०५ केस कास्की जिल्लामा पुष्टि भएको ईडीसीडीले जनाएको छ । चौथोमा दार्चुलामा १९० केस, पाँचौँमा काठमाडौँ जिल्लामा परेको छ, जहाँ ८० केस देखिएको छ । 

यस्तै, छैटौँमा सङ्खुवासभा जिल्लामा ६४,म्याग्दी  ५४,  कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङमा ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

डेंगु सातै प्रदेशमा फैलिएकाले अब डेंगु संक्रमणले प्रकोप लिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । 

डेंगु संक्रमितका योे तथ्याङ्क अस्पताल भर्ना हुनेहरूको मात्रै हो । डेंगु सङ्क्रमितमध्ये १० प्रतिशतलाई मात्रै लक्षणसहितका बिरामी अस्पताल पुग्ने गर्छन् । 

ईडीसीडीका अनुसार यस वर्ष पनि बर्खा सुरु भएसँगै डेंगु सार्ने लामखुट्टेका लागि अनुकूल वातावरण भदौ, असोज महिनासम्म हो, जसले गर्दा अव तीव्र गतिमा सङ्क्रमितको दर बढ्न सक्छ  ।    

प्रभावकारी भएन नियन्त्रण कार्ययोजना 

सरकारले डेंगु सार्न लामखुट्टे बढ्न नदिने अर्थात् डेंगुका बिरामी बढ्न नदिने भनेर डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाइ लागू गरिए पनि प्रभावकारी भने भएको छैन ।

डेंगु फैलिएको १९ वर्षसम्म वार्षिक कार्यक्रम मात्रै गर्दै आएको ईडीसीडीले यस वर्ष वार्षिक कार्ययोजना निर्माण गरी ७७ जिल्लामा कार्यान्वयनका लागि निर्देशन दिए पनि सङ्क्रमित दर बढ्दै गएको छ । 

डेंगुको १९ वर्ष

नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगु रोग कहिले महामारीको रूपमा त कहिले छिटफुट रूपमा देखा पर्ने गरेको छ । 

२०७९ सालमा ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष पुस मसान्त सम्ममा ५५ हजार धेरै केस पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । 

१९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ मा डेंगुको केस पुष्टि भएको छ ।

यसरी जोगिन सकिन्छ  डेंगी सङ्क्रमणबाट 

–पुरा बाहुला भएको लुगा लगाउने ।

–झुलभित्र मात्र सुत्ने ।

–घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप