बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माटो र बगैँचासँग प्रेम किन ?

बुधबार, १० साउन २०८०, १६ : २३
बुधबार, १० साउन २०८०

बढ्दो सहरीकरणसँगै हामी प्रकृति, बोटबिरुवा हरियाली अनि ग्रिन स्पेसबाट टाढा हुँदै छौँ । प्रकृति सबैभन्दा असल गुरु हो । मानिसलाई अज्ञानताको दृष्टिले नदेखिने गरी ढाकेकाले प्रकृति मानिसको भन्दा ईश्वरको नजिक छ ।  प्रकृति त ईश्वरको अति पवित्र रचना हो । हामी जति प्रकृतिसँग सम्बन्ध गाँस्दै प्रेम गर्न सक्षम हुन्छौँ त्यति नै ईश्वरको नजिक पुग्छौँ । प्रकृतिको माध्यमबाट ईश्वरलाई चिन्न धेरै सजिलो हुनाको कारण प्रकृतिमा सरलता, पवित्रता र निःस्वार्थ भाव हुन्छ । एउटा रुखले छहारी दिन्छ तर बदलामा केही लिँदैन । अरूलाई फल दिन्छ तर आफैँ खाँदैन । बिरुवाले राम्रा राम्रा फूल फुलाएर अरूलाई आनन्दित गराउँछ तर आफैँ आफ्नो सौन्दर्यमा मक्ख पर्दैन । प्रकृति एउटा आदर्श गुरु हो । हामीले यसलाई मनन गरेर र प्रकृतिप्रति प्रेम भाव राखेर अघि बढ्यौँ भने अवश्य सकारात्मक ऊर्जा भर्ने छौँ र ईश्वरको नजिक पुग्नेछौँ । 

योगको भाषामा भन्दा पृथ्वी तत्त्वसँग माटोसँग खेल्दा वा बगैँचामा बोटबिरुवाको काम गर्दा जुन हाम्रो मूलाधार चक्र हो, त्यो सक्रिय हुन्छ । मूलाधार चक्र सक्रिय भयो भने सम्पूर्ण चक्रहरू सक्रिय हुन मद्दत गर्छ । यसले गर्दा मानिस सकारात्मक, स्वस्थ, ऊर्जावान अनि क्रियाशील र कर्मशील बन्दै जान्छ । माटोसँग खेल्दाखेरि मधुमेह रोग निको पार्न पनि मद्दत गर्छ । जुन पृथ्वी तत्त्व छ त्यो सजिलै लिन सकिन्छ । 

वास्तु अनुसारका बोटबिरुवाले इन्टेरियर डिजाइनमा अति नै राम्रो प्रभाव पार्ने गर्छ । यसले पर्याप्त अक्सिजनको साँचै सकारात्मक ऊर्जा प्रवेश गराउँछ । इन्डोर प्लान्टले घरको सजावट आकर्षक देखाउनुको साथै शुद्ध र ताजा वायु प्रदान गर्छ । इन्डोर प्लान्टहरूबाट मानवको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तथ्य  नासाले पनि प्रमाणित गरिसकेको छ । हामीले गुगलमा गएर हेरेर पनि इन्टेरियर डिजाइन गर्न सक्छौँ । प्रायः इन्डोर प्लान्टको छनोट गर्दा आकर्षण औषधीय गुण युक्त र वायु शुद्धीकरणमा सहयोग प¥याउने खालको छान्नु र सजाउनु पर्दछ । घरको आन्तरिक सजावट सुन्दर बनाई खुसी सधैँ ऊर्जावान् राख्न मद्दत गर्छ । प्रकृतिसँग मानवीय सम्बन्ध टाढिँदै गएको छ । यद्यपि मानव शरीरका लागि बोटबिरुवा, रुखहरू अत्यावश्यक छन् । सिमेन्टको बस्तीमा हराउँदै गएको अहिलेको जनजीवन चाहेर पनि हरियाली सुन्दरतामा रमाउन सकिरहेको छैन । जग्गा जमिन साँघुरो, बाक्लो बस्तीका कारण पनि मानवले प्रकृतिसँग एकाकार गर्न सकिरहेको छैन । यस्तो स्थितिमा पनि हामी आफ्नो घर, फ्ल्याट वा कोठाहरूलाई प्रकृतिमैत्री बनाउन सकिन्छ । जग्गा जमिन साँघुरो हुनेहरूका लागि पनि घरभित्रका र बाहिरका खालि ठाउँहरूमा वातावरण अनुसारका ठाउँहरूमा कम उज्यालोमा पनि हुने र थोरै हेरविचारमा पनि हुने बोटबिरुवा प्रशस्त मात्रामा नर्सरीहरूमा भेटिन्छन् । ठाउँ अनुसारका बोटबिरुवा सजाएर पनि आनन्द लिन सकिन्छ । यसले घरको शोभा बढाउनुका साथै मानसिक शान्ति मिल्छ । फुलेको फूलले घरको सजावट र सौन्दर्यता मात्र झल्काउँदैन त्योभन्दा बढी आफूभित्रको खुसी र ऊर्जा फुलेको फूलसँगै मौलाएको र फुलेको देख्दा साँच्चिकै एउटा स्वर्गीय आनन्द आउँछ । आफूलाई मनपर्ने फूल चाहे घरको जुन सुकै कुनामा किन नहोस्, सबैले देख्ने ठाउँमा नभए पनि आफूले मात्र देख्न पाउँदा पनि एउटा छुट्टै आनन्दको आभास हुन्छ ।

अफिसलगायत घर वरिपरि फुलेको फूmल बोटबिरुवा इन्डोर प्लान्टहरू छन् भने ध्यान नेगेटिभ सोचहरूमा जाँदैन । अफिस वा कार्यालयको टेबल स्टडी टेबलमा वा ¥याक आदि जुनसुकै खालि ठाउँमा विभिन्न वातावरणमा मिल्ने खालका इन्डोर प्लान्टहरू सुन्दर देखिने पटहरूमा सजाएर राख्दा पनि छुट्टै किसिमको सकारात्मक ऊर्जा प्राप्त हुन्छ । हेर्दा पनि आकर्षक देखिन्छ । कतिपय घर वा अफिसहरू कार्यालयहरूमा होटेल वा रेस्टुरेन्टहरूमा विभिन्न कृत्रिम प्लास्टिकका बनावटी, नक्कली प्लान्टहरूले सजाउने गरेको देखिन्छ । नक्कली फूलहरू बनावटी जीवनको प्रतीक हो, जसबाट ऊर्जा प्राप्त गर्न सकिँदैन ।  जुन सजीव बोटहरूबाट ऊर्जा प्राप्त गरिन्छ त्यो कृत्रिमबाट पाउन सकिँदैन । सकभर यस्ता प्लान्टले नसजाएकै राम्रो । अझ भन्नु पर्दा होटल वा रेस्टुरेन्टहरूमा त यसले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । सजीव प्लान्टहरूको ऊर्जाले  ग्राहकहरूलाई आकर्षण गरिरहेको हुन्छ । 

फूmल बगँैचाको काम गर्दा हाम्रो मन मस्तिष्क एकाकार हुन्छ । यसले गर्दा नराम्रा विचार र अनावश्यक कुराबाट टाढै राख्दछ । जसले गर्दा मानिसलाई सकारात्मक भावनामा उत्प्रेरित गर्दछ । डिप्रेसन हुनबाट जोगाउँछ । डिप्रेसनबाट गुज्रिरहेको व्यक्ति पनि गार्डेन फूmल बगँैचाको काम गर्न थाल्यो भने र उसैमा एकाकार भई रमाउन थाल्यो भने पूर्ण रूपमा निको हुने गर्दछ । किनभने ध्यान बाहिर जान पाउँदैन । मनमा एकाग्रता ल्याउँछ । किनभने ध्यान हाम्रो बोटबिरुवासँगै एकाग्रता हुन्छ । उनीहरूसँगै कुरा गरिन्छ । सुन्दा अचम्म लाग्ला तर बोटबिरुवा फूलहरूसँग जुन मानिस नजिक रहन्छ उनीहरूसँग कुरा हुने गर्दछ । यो सत्य हो, उनीहरूसँग गहिरो नाता र भावमा कुरा गरिन्छ । अहिले मानिसहरू सकारात्मक सोच्नुस् भनेर कसैले सक्दैन । तर सकारात्मक काम भने गरिरहनु पर्दछ किनभने कर्म अनुसारको विचार अनि भाग्य बन्छ । समग्रमा भन्नुपर्दा बोटबिरुवाले वरिपरिको वातावरण शुद्ध बनाउनुको साथै आफ्नै मौलिकतामा रमाउन सिकाउँछ । पर्याप्त अक्सिजनको मात्रा आपूर्ति गर्छ नै । वास्तु अनुसारको लाभ अनि डिप्रेसन हुनबाट जोगाउँछ । सकारात्मक सोचको विकास गर्छ । सिधा पृथ्वी तत्त्वसँग मिल्ने हुँदा धेरै फाइदा मिल्छ । बोटबिरुवाले घरलाई प्रकृतिमैत्री बनाउँछ । हरियाली देख्दा आँखाको तेज बढाउनुको साथै दिमागमा ताजापन र सकारात्मक सोचको वृद्धि गर्दै लैजान्छ । 

बढ्दो सहरीकरण र मरभूमीकरणले अहिले प्रकृतिलाई विक्षिप्त बनाइरहेको छ । बढ्दो निराशा र तनावलाई कृत्रिम सुन्दरता र आनन्दले कम गराउन सक्दैन । यो जीवन प्रकृतिबाट सुरु भएको हो । यसको अन्त्य पनि प्रकृतिमा नै हुने हो । प्राकृतिक सुन्दरता र हरियालीको साथले यो जीवनमा वास्तविक आनन्द प्राप्त हुन सक्छ । हरेक घर, कार्यालय साथै टोललाई सुन्दर फूल तथा प्लान्टहरूद्वारा सुसज्जित बनाऔँ र हरेक दिन प्रकृतिको अनुपम सुन्दरतासँग स्पर्श गरी यो जीवनलाई पनि प्रकृति झैँ सुन्दर बनाऔँ । त्यसैले प्रकृतिसँग प्रेम गर्न आजैबाट सुरु गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झरना केसी
झरना केसी
लेखकबाट थप