कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
चितवन । कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा रहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताए । उनले भने, “भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।” उनले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिए ।
प्रा. डा. बस्नेतले भने, “ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ ।” तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उनले सुझाव दिए ।
बर्डफ्लुका विज्ञसमेत रहेका प्रा. डा. बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने जनाउँदै भने, “बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।” बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उनको भनाइ छ ।
सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा. डा. बस्नेतले सुझाव दिए । “नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ,” उनले भने ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताए । चितवनसहित छिमेकी २२ जिल्लाबाट यहाँ नमूना परीक्षणका लागि आउने जनाउँदै उनले जिल्लामा पछिल्लो समय गत जेठमा सङ्क्रमण देखिएको बताए ।
त्यसअघि चैतमा एउटा फार्ममा सङ्क्रमण देखिएको भन्दै डा. श्रेष्ठले किसानलाई सजग भएर काम गर्न सुझाव दिए । उनले भने, “फार्ममा काम गर्दा सुरक्षित भएर काम गर्नुपर्छ । कामदारले पञ्जा, बुट, एप्रोन, माक्सजस्ता सुरक्षाका उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।”
डा. श्रेष्ठले जैविक सुरक्षामा ध्यान दिन सकेमा सङ्क्रमणबाट बच्न सकिने सुझाव दिए । किसानका फार्ममा कुखुरा मर्ने समस्या देखिएमा वा शङ्कास्पद देखिएमा तत्काल परीक्षण गर्न र रोग पुष्टि भएमा सो फार्मका अण्डा, कुखुरा र दाना बाहिर नलैजान उनले आग्रह गरे ।
मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उनले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताए । मानिसबाट मानिसमा यो रोग नसर्ने भन्दै उनले भने, “पकाएर मासु र अण्डा खाँदा कुनै समस्या छैन ।”
भाइरस बाहिरबाट फार्ममा भित्रिने भन्दै डा. श्रेष्ठले खोरमा आफैँ भाइरस उत्पादन नहुने बताए । उनले भने, “यो भाइरस बाहिरबाट आउने हो । चराचुरुङ्गी, गाडी, दाना, पानीको माध्यमबाट खोरमा भित्रिन सक्छ ।” चराचुरुङ्गीमार्फत सङ्क्रमण आउन सक्ने भन्दै उनले खोर वरिपरिका रुख काट्न पनि सुझाव दिए । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुबाट नष्ट गरिने पोल्ट्रीजन्य सामग्रीमा जिल्ला दररेटको ७० प्रतिशत सरकारले क्षतिपूर्ति दिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण