मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

केएमसीभित्रै विद्यार्थीमाथि निर्घात कुटपिट, होस्टेल वार्डेन र कोर्डिनेटरको मिलेमतो !

शुक्रबार, १२ साउन २०८०, २२ : २१
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) हाताभित्रै विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कुटपिट भएको हो । 

उनी त्यहीँ अध्ययनरत म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थीहरूबाट कुटिएका हुन् । कुटपिटबाट यादवको मुखमा गम्भीर चोट लागेको छ । यस्तै ओठमा चार वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भाग समेत सुन्निएको छ । 

कक्षा १२ मा म्यानेजमेन्ट पढ्ने प्रमिश थापा, युनिक सिञ्जाली र उज्ज्वल मैनालीले उनीमाथि मरणासन्न हुनेगरी कुटेको आरोप लागेको छ । विद्यालय प्रागंणभित्रै उनीमाथि कुटपिट हुँदा होस्टेल वार्डेन राजेश अधिकारी र कोर्डिनेटर सुनम गैरे भने रमिता हेरेर बसेका थिए । 

त्यसरी उनी कुटिनमा वार्डेन अधिकारीको संलग्नता रहेको पाइएको छ । विद्यार्थीहरू झगडा पर्दा उनीहरूलाई छुट्याउनुपर्नेमा वार्डेन अधिकारीकै मिलेमतोमा यादवलाई कुट उक्साएको आरोप लागेको हो । 

कुटपिट भइरहँदा नजिकै रहेका क्यान्टिनका कुकले छुट्याएका थिए । कुटपिटपछि कलेजले नै तिनै जनालाई भगाएको थियो । यो विषय अहिले प्रहरीमा पुगेको छ । 

कसरी कुटिए ? 

केएमसीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ओरिन्टेशन कार्यक्रमको तयारी भइरहेको थियो । त्यसका लागि विद्यार्थीहरूलाई डान्स सिकाइँदैथियो । 

डान्सको प्रेक्टिस भइरहेको थियो । साइन्स ब्लक र म्यानेजमेन्ट ब्लकको डान्स प्रेक्टिस भइरहेको थियो । डान्स प्रेक्टिस गर्ने क्रममा तीन जनाले यादवलाई जिस्क्याए । 

उनले ‘किन जिस्काएको म जस्तो जान्छु त्यस्तै नाच्छु’ भने । अनि विवाद सुरु भयो । सोही क्रममा सर आएर मिलाए । दुवै पक्षलाई हात मिलाएर सहमति गराएर पठाए । 

यो घटना साउन १० गते बुधबारको हो । दिउँसो हात मिलाएर गए । अनि बेलुका ७ बजेतिर यादव खाना खान गए । 

खाना खाने बेलामा अर्को समूहका तिनै उनी कहाँ गए र ‘ई’ ब्लकमा बोलाए । त्यसपछि उनले वार्डेन अधिकारीलाई सर, ‘ई’ ब्लकमा बोलाइरहेका छन् के गर्ने ? भनेर सोधे । 

वार्डेनले जाऊँ भने । उनले ‘म एक्लै जान्नँ मेरो दुई जना साथी लिएर जान्छु’ भने । तर, वार्डेनले ‘हुँदैन एक्लै जाउ’ भने । वार्डेनले अरूलाई नपठाएपछि उनी एक्लै गए । 

उनी जाँदा ‘ई’ ब्लकमा कोही थिएन । तर  फर्किने बेलामा उनको पछाडिबाट एकाएक लुकेर बसेकाहरूले समाते । एकाएक समातेपछि उनले प्रतिकार गर्न सक्ने अवस्था भएन । दुई जना मिलेर पछाडिबाट समाते भने एक जनाले हिर्काउन थाले । 

जुन केएमसीकै प्रांगणमा भइरहेको थियो । कुटपिटको दृश्य वार्डेन र कोर्डिनेरले भने हेरिरहेका थिए । पछि क्यान्टिनको कुक आएर यादवलाई बचाए । 

घटनापछि पनि केएमसीले कुनै प्रतिक्रिया जनाएन । उल्टै यादवलाई २ घण्टासम्म बाहिर उभ्याइयो । त्यस्तो अवस्था हुँदा पनि कुनै रिस्पन्स दिइएन । 

पिट्ने तिनै जनालाई राति नै भगाइएको पीडितको आरोप छ ।  राति ७ बजेतिर भएको घटनाबारे उनको दाइलाई राति ९ बजेतिर खबर गरियो । 

घटनाको खबरपछि निकै जोडबल गरेर आफन्त भित्र जाँदा पीडितको मुखबाट रगत बगिरहेको थियो । शरीर सुन्निएको थियो । उनीहरूले तत्काल उद्धार गरेर केएमसीकै हस्पिटल लगे । राति नै टाँका लगाइयो । औषधि दिइयो । 

त्यो बेलासम्म कलेजबाट कोही पनि आएनन् भने न कुनै रिस्पोन्स नै गर्ने काम भयो ।  पछि भोलि बिहान १० बजे कजेजमा आउन भनियो । घरमा थाहा पाएपछि राति १० बजे नै गाडी चढेर उनको बुबा काठमाडौँ आए । सिराहा लहानबाट राति नै काठमाडौँ आएका थिए ।  तर, कलेजबाट भने कोही पनि गएनन् । 

दोस्रो दिन बिहान ११ बजे उनीहरू कलेजमा गए । यादवको पक्षका मात्रै मानिसहरू थिए । कुटपिट गर्ने पक्षबाट भने कोही पनि गएनन् । दिनभर कुर्दा कुर्दै कोही नआएपछि उनीहरू आक्रोशित बने । र, कलेजमा तोडफोड गर्न थाले । त्यही बेला कलेजले प्रहरी बोलाएर उनीहरूमाथि उल्टै दमन गर्न लगायो । 

आन्दोलनको क्रममा सीसीटिभी फुट्यो । कोर्डिनेटरलाई समेत सामान्य चोट लाग्यो । सिराहा भगवानपुर गाउँपालिका २ घर भएका यादवलाई उनीहरूले यसअघि पनि कलेजमा हेप्ने तथा होच्याउने गरेको पाइएको छ । 

यति हुँदा समेत कलेज प्रशासन मौन बस्नुले केएमसीमा हुने लापरबाहीको पराकाष्ठा देखिन्छ । 

ttt

केही वर्ष अगाडि पनि कलेजभित्रै एक जना विद्यार्थीको मृत्यु भएको थियो । तरपनि कलेजले कुनै प्रतिक्रिया जनाएको थिएन । 

शक्तिको आडमा दादागिरी 

राम्रो र गुणस्तरीय शिक्षा दिने नाममा केएमसीले लुटतन्त्र मच्चाइरहेको पाइएको छ । त्यहाँ पढ्ने विद्यार्थीहरूबाट विभिन्न बहानामा चर्को शुल्क असुल्ने गरेको पाइएको छ । त्यहाँ पढ्दै आएका विद्यार्थीहरूले बाहिर प्रचार प्रसार गर्ने र भित्रको कुरामा निकै फरक रहेको बताएका छन् । 

यतिसम्म कि काठमाडौँ महानगरपालिको शिक्षा शाखामा बुझाएको शुल्क संरचना र कलेजमा कायम गरिएको शुल्कमा निकै फरक छ । शुल्कका लागि अभिभावकहरूलाई प्रेसर दिँदै पत्र नै पठाउने गरेको एक अभिभावकले गुनासो गरे । 

चर्को शुल्क लिएर पनि शैक्षिक गुणस्तरलाई समस्या पार्ने खालको भौतिक संरचनाहरू देखिने गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन केएमसी प्रशासनलाई सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप