शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दलाल नोकरशाही पुँजीवाद सबै क्षेत्रमा हाबी छ : माधव नेपाल

आइतबार, १४ साउन २०८०, १४ : ४२
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको बताएका छन् । 

आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा पनि दलाल पुँजीवाद समस्याका रूपमा रहेको बताएका हुन् । 

‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुई वटा व्यवस्था क्रियाशील छ । एउटा पँजीवादी व्यवस्था अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा पनि हाबी छ । राज्यको प्रशासनमा पनि हाबी छ । र यो व्यवस्थालाई नै कुरूप बनाउने कुरामा पनि जिम्मेवार छ ।’ अध्यक्ष नेपालले दलाल पुँजीवादका विरुद्ध जुध्ने सङ्कल्प नगरेसम्म नेपालमा समाजवादको आधार तयार हुन नसक्ने पनि बताए ।

अध्यक्ष नेपालले चार दलको समाजवादी मोर्चामा अरू दल पनि समावेश गर्ने प्रयास जारी रहेको भन्दै त्यसका लागि अन्य दलको पनि रुचि हुन जरुरी रहेको बताए । 

‘हामी समेसम्म धेरैलाई मोर्चामा समेट्न चाहन्छौँ, तर हामीले समेट्ने कुरा गरेर मात्र पुग्दैन । अरूले पनि चाहना राख्नुपर्छ । चाहाना राखेनन् भने हामी घिसारेर ल्याउन सक्दैनौ । आफ्नो कुरा थोपर्न पनि सक्दैनौ’अध्यक्ष नेपालले मोर्चामा आउन आव्हान गर्दै भने, ‘आउनुहोस् बसौँ । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि कस्तो नीति अवलम्बन गर्नुपर्छ । त्यसका निम्ति मिलेर अघि बढौँ ।’

उनले देश राम्रो बनाउन र जनताको चाहनाअनुसारको परिपाटी बसाउन एकता आवश्यक रहेको बताए । उनले भ्रष्टाचार, शोषण, उत्पीडन र अत्याचारकाविरुद्ध सबै एक हुन जरुरी रहेको बताए । समाजवाद न्यायका लागि हुने भन्दै त्यसका लागि सबै एकजुट हुन जरुरी रहेको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप