बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
विचार

धरानबाटै देखेको धरान : हर्क साम्पाङको नजर कता ?

बुधबार, १७ साउन २०८०, १४ : ०८
बुधबार, १७ साउन २०८०

बाहिरबाट हेर्दा, बुझ्दा र नियाल्दा धरानमा कुनै समस्या छैन भन्ने भाष्य बनेको छ । सबैतिर धरानको चर्चा परिचर्चा भइरहेको छ । यो धरानमा बस्ने हामी भाग्यमानीका लागि मात्र होइन, बाहिर बस्ने जनजनका लागि खुसीको कुरा हो । 

विशेषतः धरानका मेयर हर्क साम्पाङले गत वर्षको चुनावमा खानेपानीको समस्या समाधान गर्ने नाराकै कभरमा चुनाव जिते । त्यसयता धरानको चर्चा दिन दुईगुना र रात चौगुनाको गतिमा फैलिरहेको छ । निर्वाचन जित्दाको सनसनी सेलाउन नपाउँदै उनले खानेपानी समस्या समाधानका लागि नजिकैको खोला–खोल्सीहरूबाट नितान्त जनश्रममार्फत पानीको पाइप जोड्न थाले । स्वयं मेयर ढुंगा, बालुवा, गिटी र पाइपसँग रमाउँदै गरेको सञ्जालमा भाइरल हुन थाल्यो । उनले श्रम संस्कृतिको विकासका लागि सबैलाई आह्वान पनि गरे । धरान मात्र होइन, बाहिरबाट थुप्रै श्रमदाता सहभागी हुन थाले, जुन क्रम अहिलेसम्म जारी छ । 

मेयरको खानेपानीप्रतिको लगाव र श्रम संस्कृतिप्रतिको रुझान नै लोकप्रियताको शिखर चढ्ने भर्‍याङ बनेको कुरा सत्य हो । यो हामी सबैले गर्व गर्न र सिक्नलायक विषय पनि हो । अझ धराने भएको नाताले यो पङ्क्तिकारलाई झनै बढी गर्व र खुसी महसुस भइरहेको छ । दिनभरि लुडो, चेस, चियागफमा भुल्ने र डाँडातिर घुमेर रल्लिने धराने जीवनशैलीमा यस्तो श्रम संस्कृतिको उभार चल्नु र चलाउनु चानचुने कुरा होइन । 

भाते, स्वादे, अल्छे र रसरङ्गमै मात्र रमाउने उपभोगवादी संस्कृति हाबी भएको समाजमा यस्तो श्रम अभियान संस्थागत गर्नु सृजनशील विषय हो । यस्तो अभियानलाई सबैले आदर–सम्मान र साथ–सहयोग दिनैपर्छ । श्रम संस्कृतिको दृष्टिकोणबाट नियाल्दा आज धरान श्रमको तीर्थधाम जस्तो भएको छ । सबैलाई आकर्षित गरिरहेको छ । बाहिरबाट हेर्दा धरानमा कुनै समस्या छैनजस्तो भएको छ । केही समस्या भए पनि मेयरको श्रम अभियानले नै चट गरिदिन्छ भन्ने छ, तर धरान भित्रबाट नियाल्दा थुप्रै समस्या समाधान गर्न बाँकी छ । धरानको समस्या धरानेलाई जति अनुभूति हुन्छ, त्यति अरूलाई हुँदैन । यहाँ बाहिरकाले नदेखेको र नबुझेको समस्या उजागर गरिएको छ ।

डेंगु 

धरानमा डेंगुको सङ्क्रमण बढेको तीन महिना भइसकेको छ । यो नेपालकै सबैभन्दा बढी डेंगु सङ्क्रमित हुने नगरमा पर्छ । यसबाट दर्जनौँको मृत्यु भइसकेको छ, हजारौँ बिरामी परेका छन् । सङ्क्रमित हुने क्रम झनै बढिरहेको छ । अपवादबाहेक प्रत्येक घर–परिवारमा दुई–तीन जना भन्दा बढी बिरामी छन् । कुल बिरामीमध्ये एक चौथाइले पनि हस्पिटलको उपचार सेवा पाइरहेको छैन । कारण,  अस्पतालले धान्ने अवस्था छैन । अस्पताल गएका सीमित डेंगु सङ्क्रमितले पनि समयमा उपचार पाइरहेका छैनन्, साथै बेडको समस्या छँदै छ । 

डेंगुले यति भयावह मोड लिइसक्दा पनि यसको रोकथामका लागि कुनै ठोस पहल तय भएको छैन । आजसम्म आइपुग्दा यसलाई परास्त गर्न सरोकारवाला निकाय रणनीतिक गुरुयोजनासहित लागेको देखिँदैन । 

डाक्टरहरूका अनुसार यसको सङ्क्रमण असोज–कात्तिकसम्म रहन्छ । त्यो भनेको अझै तीन–चार महिना बाँकी छ । यसप्रति सरोकारवाला निकाय र नेताले पर्याप्त जोड र ध्यान नदिँदा जनगुनासो बढिरहेको छ ।

धार्मिक सद्भाव खलबलिने अवस्था

धार्मिक, सांस्कृतिक तथा जातीय मुद्दा असाध्यै इमोसनल (संवेदनशील) हुने गर्छन् । कतिपय अवस्थामा शासकले यस्तै भावनात्मक कमलो आयामको कभरमा राजकीय स्वार्थ पूरा गरेका थुप्रै दृष्टान्त छन् । सानो क्षम्य गल्तीमा पनि ठुल्ठूला हिंसा र मारकाट भएका छन् । यसमा द्वन्द्वात्मक र आलोचनात्मक विचार र विमर्श हुँदैन, केवल आस्था र विश्वासले घर गरेको हुन्छ । भावना र संवेदनाको अतिवादी रूपहरूमा आस्थाको पराकाष्ठा अभिव्यक्त हुने गर्छ, जुन निकै संवेदनशील हुन्छ । यसकारण यस्तो इमोसनल विषयमा कसैले पनि ‘लुज टकिङ’ गर्नु घातक हुन्छ ।  

भर्खरै धरानमा हिन्दु र क्रिस्चियनबीच भनाभनको अवस्था सिर्जना भएको छ । एक श्रीनिवास कृष्णदास नाम गरेका हिन्दु धर्मगुरुले धरान — १४ मा रहेको पुरानो गोपाल मन्दिरनजिकै नयाँ चर्च बनाइएको विषयलाई गम्भीरतापूर्वक उठाएका छन् । उनले पुरानो मन्दिरनजिकै यसरी इसाईको चर्च निर्माण गरिनु आपत्तिजनक भन्दै विरोध गरेका छन् । मेयर साम्पाङलाई क्रिस्चियन भएको दाबी गर्दै उनकै डिजाइनमा यहाँ चर्च बनाइएको भन्ने धर्मगुरु श्रीनिवासको आरोप समेत छ । धार्मिक द्वन्द्व भड्काउनकै लागि यसरी अतिक्रमण गरिएको भन्दै विषयलाई उत्तेजित र भड्किलो बनाइएको छ । यता मेयर साम्पाङले पनि हामी भूमिपुत्र हौँ, त्यसकारण हामीलाई कसैले पनि सिकाउनुपर्दैन भन्दै कडा प्रतिक्रिया दिएका छन् । 

श्रम संस्कृतिको दृष्टिकोणबाट नियाल्दा आज धरान श्रमको तीर्थधाम जस्तो भएको छ । बाहिरबाट हेर्दा धरानमा कुनै समस्या छैन जस्तो भएको छ । केही समस्या भए पनि मेयरको श्रम अभियानले नै चट गरिदिन्छ भन्ने छ, तर धरान भित्रबाट नियाल्दा थुप्रै समस्या समाधान गर्न बाँकी छ ।

यस्तो इमोसनल रबैयाले सामाजिक तथा धार्मिक सद्भाव खलबलिने खतरा हुन्छ । त्यसैले यस्ता विषयमा धेरै उत्तेजित अभिव्यक्ति दिनुभन्दा बरु असाध्यै कम बोल्नु राम्रो हुन्छ । आवेगमा आउनु हुँदैन । आखिर नेपालजस्तो सदियौँदेखि धार्मिक सहिष्णुताको उच्च अभ्यास भएको मुलुकमा मन्दिरनजिकै चर्च बन्दैमा बिग्रिहालेको केही छैन । होइन, गम्भीर आपत्ति नै हो भने त्यसलाई छलफल र वार्ताबाट समाधान गर्न सकिन्छ, तर त्यसो नगरी बाहिरबाहिर उत्तेजित र भड्किलो अभिव्यक्ति दिँदै हिँड्नु भनेको सहिष्णुताको डोरीलाई चुँडाल्नु अर्थात् द्वन्द्व निम्त्याउनु हो । यता, मेयरले पनि शीघ्र जोसिलो प्रतिक्रिया नजनाएको भए राम्रो हुन्थ्यो । यस्तै रबैयालाई अझ उकास्ने हो भने भोलि धरानमा धार्मिक सद्भाव नतोडिएला भन्न सकिन्न । त्यसैले यो पनि धरानभित्रको गम्भीर समस्या बनिरहेको छ ।

इटहरीसँगको सीमा विवाद

धरान र इटहरी सीमा जोडिएका नगरपालिका हुन् । दुवै नगरपालिकाका बीच रहेको चारकोसे झाडीलाई सिमाना मान्ने गरिएको छ, तर पछिल्लो समय दुवै नगरपालिकाको सीमा विवाद उत्कर्षमा पुगेको छ । धरानका मेयर साम्पाङले पानीपियासम्म धरानको सीमा दाबी गरेका छन् भने इटहरीका मेयर हेमकर्ण पौडेलले पनि सेउती खोलामा बोर्ड राख्न भ्याए । दुवै पक्षबीच इमोसनल क्रिया–प्रतिक्रिया भइसकेका छन् । सञ्जाल युद्ध उत्कर्षमा पुगेको छ । एकले अर्कोलाई धम्काउने, नजरअन्दाज गर्ने क्रम र अपमान गर्ने क्रम तीव्र रूपमा भइरहेको छ । 

वस्तुतः सीमा विवाद इमोसनल विषय नै हो । भावनामा छचल्किएपछि त्यसको बाछिटा कहाँसम्म पुग्ने हो यसै भन्न सकिन्न, तर धरान र इटहरीका मेयरहरू ‘कुल डाउन’ भएर छलफल वा संवादबाट समस्याको समाधान गर्ने पक्षमा भन्दा पनि उत्तेजित र भड्किलो अभिव्यक्तिद्वारा सस्तो लोकप्रियताको राजनीति गरिरहेका छन् । यसले तत्कालका लागि स्वार्थगत साइनो सम्बन्धअनुरूप कसैलाई फाइदा भए पनि दीर्घकालीन रूपमा कसैलाई फाइदा हुने देखिँदैन । त्यसैले धरानका लागि सीमा विवाद पनि टड्कारो समस्या बनेको छ । 

सुशासनको समस्या

स्थानीय सरकार गठन भएको पनि ६ वर्ष नाघेको छ, तर स्थानीय सत्ताभित्र जनजीविका, जनतन्त्र लगायत सुशासनका कुरा ओझेल परिरहेका छन् । चुनावी माहौल र सामाजिक सञ्जाल केन्द्रित राजनीति हाबी भएपछि जनजीविका र जनतन्त्र मुख्य सवाल बनिरहेको देखिँदैन । 

के गर्दा सस्तो लोकप्रियता हासिल गर्दै आगामी चुनाव जित्न सकिन्छ भन्ने भन्दा नेपाली राजनीतिमाथि उठ्न सकिरहेको छैन । लोकप्रियता सामाजिक सञ्जालमा नाप्न थालिएको छ । धरान पनि यसको अपवाद हुने कुरा भएन । धरानमा मूलतः अहिले मेयर साम्पाङ सरकार प्रमुख छन् । धराने जनतालाई पानी खुवाउने महाअभियानअन्तर्गत श्रम अभियानमा उनी छन् । 

धरानको सरकारले हेर्ने भनेको खानेपानी र श्रम संस्कृतिलाई मात्र होइन, धरानको समग्र विकासलाई हेर्नुपर्छ । त्यो भनेको यहाँको सुशासनसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, विकास–निर्माण लगायत नागरिकसँग जोडिएको तमाम सवाल हुन् । यसतर्फm नगरले स्पष्ट कार्ययोजना र कार्यक्रम बनाएर अल्पकालिक र दीर्घकालिक खाका पेस गरेको देखिँदैन । यसबारे कार्यपालिका बैठकमा बृहत छलफल भएको देखिँदैन । धरान र धराने जनताको विकास र समृद्धिका लागि समग्र मार्गचित्र कोर्नु सर्वाङ्गीण विकासभित्र पर्छ । यसतर्फ पर्याप्त ध्यान नदिई मेयरले श्रमलाई मात्र जोड गरेको भन्ने जनगुनासो आइरहेको छ । यो पनि धरानको मौलिक समस्या बनिरहेको छ । 

निष्कर्ष

त्यसैले बाहिरबाट हेरेको र देखेको धरान र धरानभित्रै बसेर भोगेको धरान निकै भिन्न छ । धरान बुभ्mन, पढ्न र अध्ययन गर्न धरानभित्र छिर्नुपर्छ । बाहिरबाट देखेको रूप हो भने धरानभित्रै भोगेको सार हो । सार्वभौमतः सार मुख्य हुन्छ । त्यसैले मेयरले पनि श्रम अभियानसँगै धरानको अरु समग्र समस्यातिर ध्यान दिन जरुरी छ । 

सबैतिर सन्तुलित नेतृत्व प्रदान गर्नु कुशल नेताको विशेषता हो । हाम्रा मेयर श्रम अभियन्ता र पानी अभियन्ताका रूपमा काम गर्ने संस्थाको अध्यक्ष मात्र होइनन् । वस्तुतः नगर सरकारको प्रमुख भएको हुँदा धराने जनताका समग्र समस्यामा समान नजर उनले राख्नैपर्छ ।

त्यसकारण प्राथमिक रूपमा विकराल महामारी बन्दै गएको डेंगु नियन्त्रणका लागि विशेष स्वस्थ्य कार्यदल बनाएर परिचालन गर्नुपर्छ । तत्काल र भावी उन्मूलनको खाका समेत तय गर्नुपर्छ । 

यस्तै, मेयरले धार्मिक सद्भाव खलबलिने गरी अभिव्यक्ति दिनु हुँदैन । कसैले दिन्छ भने पनि उसलाई सम्झाएर समस्याको हल गर्नुपर्छ । यसमा मेयर विवादित नबन्दा नै राम्रो हुन्छ । इटहरीसँगको सीमा विवाद पनि चोटिलो र पेचिलो प्रतिक्रियाबाट होइन, संवाद र ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ । यो दुइटा नगरपालिकाको मात्र सवाल हो जस्तो लाग्दैन । यो नेपाल राज्य र सरकारकै समस्या हो । यसमा धरान र इटहरी फसिरहनुको कुनै औचित्य छैन । 

सस्तो लोकप्रियतासहितको चुनावी माहौल बनाउनै छ भने मेरो भन्नु केही छैन । धरानको विकास र समृद्धिका लागि सुशासनका समग्र इन्डिकेटर अन्वेषण गर्नुपर्छ । तब मात्र समस्या समाधान हुनेछ, साथै टाढा–नजिक जहाँबाट हेरे पनि एउटै धरान देखिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप