आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
दूतावासमा कुटाकुट

नेपाली दूतावास कतारमा बबण्डर, एक जनाको कानको जाली फुट्यो

बुधबार, १७ साउन २०८०, १८ : २१
बुधबार, १७ साउन २०८०

काठमाडौँ । कतारको दोहास्थित नेपाली दूतावासमा नेपालीबाटै नेपाली कुटिएको खुलासा भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समितिमा आबद्ध नेपालीहरुबीच भएको विवाद कुटपिटको तहसम्म पुगेको हो । 

एनआरएनएमै आबद्ध एक समूहको कुटाइबाट नेपाली जनप्रगतीशील मञ्च कतारका अध्यक्ष समेत रहेका एनआरएनए एनसीसी कतारका पार्षद् बुद्धि प्रसाद भण्डारीसहित, एनआरएनए अभियान्ता शनिकुमार ओली र अर्का एकजना प्रभात त्रिपाठीमाथि कुटपिट भएको हो । 

कुटपिटबाट आफ्नो कानको जाली नै फुटेको भण्डारीले रातोपाटीलाई बताए । उनले कानको जाली र हट्टी फुटेको सम्बन्धी रिपोर्ट स्थानीय हमाद अस्पतालले दिएको पनि बताएका छन् । 

k

आफूलाई एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको योजनामा नरेश श्रेष्ठ, अब्दुल रहमानलगायतले कुटपिट गरेको भण्डारीले दाबी गरे । 

भण्डारीले दोषीमाथि कारबाहीको माग गर्दै नेपाली दूतावास कतारका राजदूत नरेश विक्रम ढकालसमक्ष निवेदन समेत दिएका छन् । 

यस्तै उनले एनआरएनए अध्यक्षसहित नेपाल प्रहरीलाई समेत बोधार्थ गराएर अर्को निवेदन पनि दिएका छन् । 

एनआरएनए अध्यक्ष बद्री केसीलगायतलाई सम्बोधन गरेर प्रेषित निवेदनमा उनले जुलाई २४ का दिन योजनाअनुसार नै आफूसहित ओली र त्रिपाठीलाई मरनाशान्य हुने गरी कुटपिट गरेको उल्लेख गरेका छन् । यस्तै सो क्रममा बाहिरी मान्छेलाई एनआरएनए कतारको पदाधिकारीमा भित्र्याउन दस्तखत गराई सिंगो समाज र एनआरएनएको इतिहासलाई नै लज्जित बनाउने प्रयास भएको उजुरीमा उल्लेख छ । 

उजुरीमा मोहम्मद मुक्तादा मुसलमान, आईसीसी सदस्य नरेश श्रेष्ठलगायतलाई कारबाही गर्न माग गरिएको छ । कतार पुलिसमा समेत कार्यरत रहेका अब्दुल रहमानको विषयमा विवाद सुरु भएको बताइएको छ । विधानविपरीत उनलाई वरिष्ठ उपाध्यक्ष बनाउन खोजिएपछि विवाद सुरु भएको र कुटपिटको तहसम्म पुगेको बताइएको छ । 

एनआरएनए कतारको चुनावमा नेकपा एकीकृत समाजवादीमा आस्था राख्ने समूह एकातिर र माओवादी, कांग्रेससहितका समूह अर्कातिर भएको सन्दर्भमा दूतावासमा रहमानलाई वरिष्ठ उपाध्यक्ष बनाउन नसकिने भन्दै भण्डारीलगायतले प्रतिवाद गरेपछि कुटपिटको अवस्था बनेको एक सहभागीले बताए । 

यसविवादमा राजदूतलाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेपनि उनले सुनुवाइ नगरेको पीडितको भनाइ छ । भण्डारीले एनआरएनए अध्यक्षलाई लेखेको निवेदनमा पनि राजदूतले कानुनी प्रक्रिया अघि बढाउनुको साटो मिलापत्र गर्ने भावले कुरा गरेको उल्लेख गरिएको छ । भण्डारीले निवेदनमा आफ्नो कानको जोली र हड्डीसमेत फुटेको प्रमाणित गर्ने अस्पतालले दिएको रिपोर्ट समेत पेश गरेका छन् । यस विषयमा उनले माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मालगायतलाई पनि जानकारी गराइसकेका छन् । भण्डारी सोही पार्टीनिकट जनप्रगतिशील मञ्च कतारका अध्यक्ष ओली मध्यपूर्व संयोजक समेत हुन् । 

यसअघि दोषीमाथि कारबाहीको माग गर्दै राजदूतसमक्ष भण्डारीले दिएको उजुरीमा दूतावासमा आयोजित एनसीसी कतारको सर्वपक्षीय बैठकमा मुक्तदाले विधिविधान बाहिर गएर अनुचित दबाब दिँदै हस्ताक्षर गर्न बाध्य बनाएको उल्लेख गरिएको छ । 

राजदूत बैठकमा सहभागी भई बाहिर निस्किसकेको अवस्थामा हस्ताक्षर गर्न बाध्य पारेको तर नमान्दा मुक्तदा र नरेश श्रेष्ठले अब्दुल रहमान, राम बहादुर कमाललगायतका गलत प्रवृत्तिका व्यक्तिहरुसहित करिब २५ जनालाई प्रवेश गराइ कुटपिट गरेको उजुरीमा उल्लेख छ । 

उजुरीमा मुक्तदासहित हमाल, श्रेष्ठ, रहमानलगायत घटनामा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । उजुरीमा आंशिक अंगभक्त गएकाले कतारको कानुनअनुसार दोषीमाथि कारबाही गराउन पहल गर्न पनि आग्रह गरिएको छ । तर राजदूतले समस्या समाधान गर्न कुनै पहल नगरेको पीडितले गुनासो गरेका हुन् भने यही विषयमा नेपालमा पनि हारगुहार गरेका हुन् । 

यस विषयमा निवर्तमान अध्यक्ष मुक्तदाले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरे । आफूले नै बोलाएको सर्वदलीय बैठकमा आफ्नो मुछिनु दुःखद भएको भन्दै मुक्तदाले आफूमाथि षड्यन्त्र गर्ने प्रयास भएको बताए । उनले बैठकमा आफूले सहमतिका लागि पहलमात्रै गरेको बताए । 

‘बैठकमा सहमति भएन । अहिले त्यसमा मलाई सुनियोजित रुपमा फसाउन खोजिएको मात्रै हो’, उनले भने, ‘त्यहाँ कुटपिट भएकै हो । तर कुन मान्छे आएर हातपात गरेको हो । उनीहरुलाई म चिन्दापनि चिन्दिनँ ।’

सहमतिको पहलस्वरुप बोलाएको बैठकमा आफूले नै हातपात गरेको भनिनु आरोप बाहेक अरु केही हुन नसक्ने उनको जिकिर छ ।

Complain-to-get-Justice.-1Complain-to-get-Justice.-2Complain-to-get-Justice.-3

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप