मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उत्पादन कमी र भारत निर्यात भएका कारण गोलभेँडाको मूल्य वृद्धि

आइतबार, २१ साउन २०८०, १३ : ०७
आइतबार, २१ साउन २०८०

काठमाडौँ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेँडाको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरूले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । 

तर ठिक एक महिनापछि गोलभेँडाको  मूल्य एक्कासि माथि पुगेको व्यवसायीहरूले बताए । उनीहरुले पछिल्लो समय किसानहरूले उत्पादन गरेको गोलभेँडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए । व्यवसायीहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेँडा फालिएको बताए ।

कालीमाटी फलफूल तथा तरकारी बजारकी गोलभेँडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन् ।

उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेँडाको मूल्य उच्च रूपमा बढेको बताइन् । उनले एक महिनाअघि नेपाली उत्पादन गोलभेँडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेँडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताइन् । 

‘तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन हो । अघिल्लो वर्ष एउटा तरकारी  धेरै खपत भयो भनेको अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारण पनि हो’ उनले भनिन्, ‘समयमा पानी नपर्नु तथा पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण टमाटरको मूल्य यस्तो हुन गएको हो । एक महिना अघि नेपाली उत्पादन गोलभेँडा फालाफाल भयो । त्यो बेला भारतमा गएको थिएन । तर अहिले नेपाली उत्पादन गोलभेँडा करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो । त्यसकारण मूल्य वृद्धि भएको हो ।’ 

उनले नेपाली बजारमा गोलभेँडाको कमी भएको अवस्थामा भारतमा गोलभेँडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताइन् । भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको मगरको भनाइ छ ।

उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेँडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्री भइरहेको बताइन् । भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेँडा गइरहेको उनको भनाई छ । अहिले नेपाली बजारमा गोलभेँडा किलो १४० रुपैयाँ रहेको मगरले बताइन् । उनले गोलभेँडाको मूल्य एक महिनामा किलोमा १० रुपैयाँ बढेको छ ।

गोलभेँडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेँडा अत्यधिक महँगो भएको बताइन् । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेँडा मात्रै रहेको बताइन् । अधिकारीले १० रुपैयाँ केजीसम्म झरेको गोलभेँडाको मूल्य किसानहरूले सडकमा फालेको बताइन् ।

उनले गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा  फाल्नुपर्ने भएकाले किसानले औषधी उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताइन् । गोलभेँडा बाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएका कारण मूल्य वृद्धि नभएको पनि उनले बताइन् । उनले बजारमा तरकारीको मूल्य घटबढ नहुनका लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकी दिए मात्रै उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने बताइन् ।

‘विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेँडा मात्रै हो । गोलभेँडा पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरूले सडकमा फाल्न बाध्य भए । सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधी उपचार गरेनन्’ अधिकारीले भनिन्, ‘रोग लागेर उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ । काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकी दिए मात्रै उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।’

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेँडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । उनले नेपाली उत्पादन गोलभेँडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मूल्य  पुगेको बताए । श्रेष्ठले कालीमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको बताए । उनले कृषि उत्पादनमा किसानहरूको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए । उनले  सरकारले कृषि क्षेत्रलाई बेवास्ता गर्दा पनि समस्या आउने गरेको बताए । 

‘गोलभेँडाको मूल्य यो वर्षको जस्तो ३० वर्ष अघिदेखि कहिल्यै पनि भएको थिएन । गोलभेँडा यो वर्ष नै यति धेरै सस्तो भयो भने किसानले मूल्य नपाएर फाल्नुपर्ने अवस्था भयो’ श्रेष्ठले भने, ‘अहिले आएर यति धेरै महँगो भएको छ । कालीमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म बेचेको अवस्था छ । कृषि उत्पादनमा किसानहरूको ज्ञान नभएर पनि हो । सरकारले कृषिलाई बेवास्ता गरेर हो कि जस्तो लाग्छ । किसानले घर धितो राखेर कृषि गरे पनि कति बेला के उत्पादन गर्ने भनेर ज्ञान छैन । उनीहरुले उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा किसानहरू हतोत्साहित भएको अवस्था छ ।’

 

कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेँडाको ठुलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप