सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशीमा डेंगुको प्रकोप

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो, ६ हजार ४ सय सङ्क्रमित

सोलुखुम्बु र ओखलढुङ्गाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमित फेला
आइतबार, २१ साउन २०८०, २० : २१
आइतबार, २१ साउन २०८०

विराटनगर । सुनसरीको धरानलाई इपिसेन्टर बनाएर तीव्र गतिमा फैलिरहेको डेंगु सङ्क्रमण कोशी प्रदेशभर फैलिँदै गएको पाइएको छ । हालसम्म कोशी प्रदेशमा डेंगु सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार डेंगु सङ्क्रमणबाट मृत्यु हुने सबै सुनसरी धरानका हुन् । 

यस्तै हालसम्म कोशी प्रदेशका १२ जिल्लामा डेंगुको सङ्क्रमित देखिएका छन् । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विभेचना चौँलागाईले दिएको जानकारी अनुसार हालसम्म कोशी प्रदेशभरमा ६ हजार ४६४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । 

सबैभन्दा धेरै प्रभावित बनेको सुनसरी जिल्लामा मात्रै डेंगु सङ्क्रमितको सङ्ख्या ४ हजार ५५८ पुगेको छ । यस्तै दोस्रो स्थानमा रहेको मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या ९८१ रहेको छ । हालसम्म ताप्लेजुङमा ११, पाँचथरमा ५, इलाममा २५, झापामा ४५४, उदयपुरमा १६१, धनकुटामा १०८, भोजपुरमा ८४, सङ्खुवासभामा ७८, तेह्रथुममा ५८ र खोटाङमा ४ जनामा डेंगु देखिएको छ । 

यसबीच डेंगुको इपिसेन्टर बनेको सुनसरीको धरानमा मात्रै डेंगु सङ्क्रमितको सङ्ख्या ३ हजार २१३ पुगेको छ । धरान उपमहानगरपालिकाको जनस्वास्थ्य अधिकृत उमेश मेहताले दिएको शनिबारसम्मको तथ्याङ्क अनुसार परीक्षण गरिएका ५ हजार २४२ मध्ये ६१ प्रतिशतमा डेंगु देखिएको हो । शनिबारमात्रै १७० जनामा गरिएको परीक्षणका क्रममा डेंगु सङ्क्रमितको सङ्ख्या ५० प्रतिशत देखिएको मेहताले जानकारी दिए ।  

शुक्रबार भने परीक्षण गरिएका १ सय ७२ जनामध्ये १३४ जनामा डेंगु देखिएको थियो छ । यो ७८ प्रतिशत हो । परीक्षणका क्रममा देखिएको यो नतिजाले डेंगु सङ्क्रमण तीव्र भइरहेको देखाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगु तीव्र गतिमा फैलिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै उपचारको व्यवस्था गरिएको छ । जहाँ दिनदिनै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । 

धरानमा ०७७ र ७८ मा फाट्टफुट्ट मात्रै डेंग देखिएको थियो । त्यतिबेला १०२ जना सङ्क्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको सङ्क्रमण फैलिएको थियो । धरानमै डेंगु देखिनुमा पानी जम्मा गरेर राख्नु हो । वनजंगलको क्षेत्र बढी हुनु । यस्तै फूलका गमलाहरू बढी हुँदा डेंगुको घर बन्नुलगायत रहेको मेहताले जानकारी दिए । यस्तै धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टे पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप