सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टेरामक्स

प्राधिकरण र टेलिकम कम्पनीबीचको लडाइँले अलपत्र बन्यो ‘टेरामक्स’

टेरामक्सको नाममा व्यक्तिहरूको गोपनीयतामा पहुँच खोजियो : टेलिकम
मङ्गलबार, २३ साउन २०८०, १० : ०८
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । टेलिकम कम्पनीहरूबाट हुने कर छलीको गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित जडान गरिएको टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) अलपत्र परेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले जडान गरेको टेरामक्स अलपत्र परेको हो । टेरामक्स प्रणाली काठमाडौँको चाबहिल र हेटौँडामा सेकेन्डरी डाटा सेन्टर (जीआईडीसी) राखिएको थियो ।

यो योजनाको कूल लागत २३.७ मिलियन अमेरिकी डलर छ । दुई चरणमा हुने कामको पहिलो चरणमा आयोजनाको डिजाइन, विकास र प्रणाली जडान रहेको छ । 

यस्तै, दोस्रो चरणअन्तर्गत जडानकर्ता कम्पनीले आगामी ५ वर्षसम्म यो प्रणालीको व्यवस्थापनसमेत सोही कम्पनीले गर्नेछ ।

एनटीएले जडान गरेको टेरामक्समा सरकारीको नेपाल टेलिकम कम्पनीले नै असहयोग गरेपछि अलपत्र परेको एनटीएका अध्यक्ष पुरुषोत्तम खनालले बताए । 

उनले कम्पनीहरूले कर छली गरे/नगरेको विषय अनुगमन गर्नका लागि जडान गरिएको टेरामक्समा टेलिकमले नै असहयोग गरेको रातोपाटीलाई बताए ।

‘सेवाप्रदायक कम्पनीले नियामकीय निकायले कानून बमोजिम ल्याएको व्यवस्था मान्दिन भन्न मिल्दैन,’ खनालले भने, ‘तर, नेपाल टेलिकमले टेरामक्स जडान गर्नै मानेको छैन ।’ 

यतिबेला सामाजिक सञ्जालमा टेरामक्ससम्बन्धी भइरहेको विभिन्न खाले टीकाटिप्पणीमा समेत टेलिकम कम्पनीकै हात रहेको हुन सक्ने प्राधिकरणको आशङ्का छ ।

हाल नेपालमा नेपाल टेलिकम र एनसेल गरी दुई वटा टेलिकम कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । यूटीएल र स्मार्टले समेत फाट्टफुट्ट सेवा प्रदान गरिरहेका छन् । 

स्मार्टले आफ्नो सेवा बन्द गरेपनि यूटीएलको आंशिक सेवा सञ्चालनमा छ । तर, पूर्ण रूपमा टेलिकम र एनसेल गरी दुई कम्पनी सञ्चालनमा छन् ।

यीमध्ये निजी क्षेत्रबाट प्रवर्द्धित एनसेल आजिआटाले डेढ महिना अघि नै टेरामक्सका लागि चाहिने सामग्री लगिसकेको प्राधिकरण बताउँछ । तर, टेलिकमले आफ्नो प्रणालीमा टेरामक्स जडान नगर्दा पूर्ण कार्यान्वयनमा कठिनाइ आइरहेको अध्यक्ष खनालको भनाई छ । 

‘एउटा कम्पनीले प्रणालीमा टेरामक्स जडान गर्ने र अर्कोले नगर्ने भन्ने हुँदैन,’ खनालले रातोपाटीसँग भने, ‘यसबाट नेपाल टेलिकममा बदमासी छ भनेर अनुमान गर्ने ठाउँ देखिन्छ ।’

टेलिकमलाई टेरामक्स जडान गर्न ४/५ पटक पत्र लेखे पनि अटेरी गरिरहेको प्राधिकरणको आरोप छ । तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने अदालतको आदेशविना व्यक्तिगत गोपनीयताबारे कसैले पनि हेर्न नमिल्ने बताउँछन् । उनले प्राधिकरणले टेरामक्सको नाममा व्यक्तिहरूको गोपनीयताबारे पहुँच खोजेका कारणले आफूहरू यसबारे अध्ययनमा रहेको बताए ।

के हो टेरामक्स, के गर्छ यसले ?

टेरामक्स भन्नाले टेलिकम्यूनिकेसन्स ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम हो । यसले टेलिकम कम्पनीहरूले दिने सेवामाथि गहन रूपमा निगरानी गर्छ । 

खास गरी, टेलिकम कम्पनीहरुमा अनधिकृत फोन कल बाइपासमाथि पूर्ण रूपमा निगरानी राख्छ । यो प्रविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्वाइस डाटा ट्राफिक भोल्यूमको परीक्षणसमेत गर्नेछ ।

यस्तै, कल रेकर्ड (सीडीआर) विश्लेषण गर्नेछ र यसबाट फ्रड पत्ता लाग्नुका साथै भ्वाइस ट्राफिकको अवस्थाबारे जाँच्न सहज हुने प्राधिकरण बताउँछ । 

यो प्रविधिले विदेश र स्वदेशबाटै अनधिकृत रूपमा हुने कल बाइपासको निरीक्षणसमेत हुने र यसबाट टेलिकम कम्पनीले गर्ने कर छलीबारे जानकारी राख्छ । टेलिकम कम्पनीहरूले दिने सेवाको गुणस्तरको परीक्षणसमेत टेरामक्स प्रविधिले गर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

खास गरी, अन्तर्राष्ट्रिय स्तरमा कल बाइपास गर्न लगाएर टेलिकम कम्पनीहरूले राजस्व छल्ने गर्छन् । यस्तै, थोरै समयको सेवा दिएर धेरै समयको सेवा शुल्क काट्नुका साथै एउटा गुणस्तरको सेवा दिने भनेर लिएको शुल्कमा गुणस्तरहीन सेवा प्रदान गर्ने गरेका छन् । 

यही गल्ती र सेवा दिएबापत उठेको रकमबाट सरकारलाई बुझाउनुपर्ने रोयल्टी र दस्तुरको वास्तविक अवस्थाका बारेमा समेत टेरामक्सले जानकारी दिने प्राधिकरणका सहायक प्रवक्ता अच्यूनान्द मिश्र बताउँछन् । 

टेरामक्समा व्यक्तिगत कुराकानी सुन्न मिल्ने व्यवस्था रहे पनि नेपालमा जडान गरिएको प्रविधिमा भने कर छलीको विषयलाई मात्रै निगरानी गर्ने बताइएको छ ।

यद्यपि, नेपालमा पनि पछिल्लो समय टेलिकम कम्पनीहरुको आम्दानी घटिरहेको छ । खास गरी, सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै म्यासेन्जर, भाइबर र ह्वाट्सएपमार्फत् हुने फोन कल आवागमनका कारणले समस्या आइरहेको टेलिकम कम्पनीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप