शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन : मन्त्री शर्मा

मङ्गलबार, २३ साउन २०८०, १३ : ०७
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताएकी छन् । प्रेस काउन्सिल नेपालले सोमबार(हिजो) भक्तपुरमा आयोजना गरेको सम्पादक संवाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भए पनि केही खराब कामको दृष्टान्त दिँदै गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताएकी हुन् । 

व्यवस्था र व्यवस्था सञ्चालक फरक–फरक कुरा भएको भन्दै उनले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने धारणा राखिन् । उनले भनिन्, ‘सरकार सञ्चालन गर्नेहरूले गरेका नकारात्मक कामहरू सतहमा आएका छन् । आउनु पनि पर्छ । तर सबै खराबी गणतन्त्र आएपछि मात्रै भएका हुन् ? हिजो सबै दूधले नुहाएको थियो, यस्तो कुरा त होइन नि । सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपर्ने त होइन नि । गणतन्त्रले बोक्नु परिराखेको छ । व्यवस्था र व्यवस्था सञ्चालक भनेको फरक–फरक कुरा हो । व्यवस्था सञ्चालकहरूले गर्ने गल्ती, कमजोरीले व्यवस्थाले दोष पनि बोक्नुपर्छ कतिपय बेलामा त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो यो व्यवस्थाको विकल्प के हो त ? लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको त यो भन्दा सुदृढ, राम्रो लोकतान्त्रिक गणतन्त्र न होला । यो भन्दा सुदृढ र राम्रो लोकतन्त्र बनाउन के गर्ने भन्ने कुरा मिडिया क्षेत्रको जिम्मेवारीको विषय हो भन्ने मलाई लाग्छ । मिडियाले गरेका खबरदारीका कतिपय कुराहरूले सरकार राम्रो काम गर्न बाध्य बन्दो रहेछ ।’

‘सांसदका स्वकीय सचिवहरू को–को छन् ? को–को हुन्छन् ? क–कसलाई स्वकीय राख्छन् भन्ने कुरा आइरहँदामा परिवारबाट राख्छन् भन्ने कुराको लिस्ट बन्छ । पत्रिकामा छापिन्छ । जसले त्यो गरेको छैन । जसले सहिद परिवार राख्छ । जसले कार्यकर्ता राख्छ । त्यसको नाम नै आउँदैन । चर्चा नै हुन्न । त्यो नगर्ने मान्छे कसरी प्रोत्साहित होला ? नकारात्मक कुरालाई प्रहार गर्नुको उद्देश्य सकारात्मक होस् भनेर हो । तर सँगसँगै सकारात्मक कुरालाई अलिअलि त स्थापित गरेर जानुपर्‍यो । समाजमा आशाको दियो बाल्नुपर्‍यो । म के आग्रह गर्न चाहन्छु भने, नयाँ साथीहरूलाई पनि गाइड गर्ने गरेर तपाईहरुले जुनसुकै क्षेत्रहरूको सकारात्मक कुराहरू स्थापित गर्ने कसरी हो त्यो पनि सोचौँ । नकारात्मकलाई प्रहार पनि गरौँ,’ उनले थपिन् ।

मन्त्री शर्माले सामाजिक सञ्जालका कारण कतिपय मान्छेहरूको आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताइन् । सरकारले नियमावली बनाएर भए पनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको उनले उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप