सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

मङ्गलबार, २३ साउन २०८०, १५ : ०७
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ । असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ ।  

गत असार अन्तिम साता कालोपत्र गरिएको उक्त सडकमा अहिले नै समस्या देखिएको स्थानीयवासी टेकबहादुर तामाङले गुनासो गरे । आर्थिक वर्ष २०७५/७६ मा सक्ने गरी २०७२ मा ठेक्का भएको सात किमी सडक असार अन्तिम साता मुख्य भागमा कालोपत्र सकिएको थियो । सडकको दायाँबायाँ भागमा भने अझै काम बाँकी नै छ । कति ठाउँमा ढल बनाउनका लागि ठूला खाल्डा यत्तिकै छोडिएको छ । जहाँ पैदलयात्रु र सवारीसाधन पर्न सक्ने जोखिम छ । 

यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन । ठेक्का भएको केही वर्षसम्म सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुनसकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । 

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको सहमतिको वषौँ बित्दासमेत अझै काम पूरा हुनसकेको छैन । यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् । धेरैजसो सडकको काम सकिएको छ । वर्षा हुन थालेपछि हिलो सबैतिर पुग्न थालेको छ । केही ठाउँमा अझै ढलको काम भइरहेको छ ।

नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको चार वर्षसम्म पनि सडकको काम सकिएको छैन । समय बढाएर आर्थिक वर्ष २०७६/७७ मा सक्ने सहमति पनि कार्यान्वयन भएन । त्यसपछि पनि पटकपटक समय थप गर्दा पनि काम नसकिएको हो । आयोजनाका सूचना अधिकारीसमेत रहेका इञ्जीनीयर महानन्द जोशीले भने गत असारमा काम सकिएको दाबी गरे । 

मर्मतको काम बाँकी रहेको उनले सुनाए । “नयाँपाटी पुलमाथिको भागमा गत असारमा पानी परेका दिनमा कालोपत्र गरिएकाले भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो, यहाँ पनि छिटो मर्मत गर्न लगाउँछौँ”, उनले भने । रु ५८ करोड लागतमा भएको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेको नगरपालिकाले जनाएको छ । सङ्घीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन् ।  स्थानीयवासी र पैदलयात्रीले भने कुन सरकारको आयोजना हो भन्ने नबुझी स्थानीय सरकारलाई गाली गर्ने गरेको नगरपालिका–४ का अध्यक्ष जयराम महतले बताए ।

विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तार लगायत संरचना अझै हटेको छैन । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले काममा ढिलासुस्ती गरेको देखिएको स्थानीयवासी हरिबहादुर श्रेष्ठको भनाइ छ । 

गोकर्णेश्वर महादेव मन्दिरअघिको सडकमा कालोपत्र भएको केही दिनमै भत्कियो । केही महिनापछि त्यो भत्किएको स्थानमा टालिए पनि काम राम्रो भएको थिएन । वर्षा लागेसँगै यहाँ पनि सडक भत्कन थालेको छ । कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएको छ । 

कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएको छैन । पैदलमार्ग नहुँदा यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको छ । यसतर्फ सरोकार भएका निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीय शिक्षक अनन्त अर्यालले बताए । 

सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल विस्तार हुन नसक्दा सवारीसाधन जाममा पर्ने गरेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि काम सुरु भएको आठ वर्ष बितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए ।

सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ । बाँकी रहेका ठाउँको काम नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम र नगरपालिकाले विभिन्न प्रयोजनमा खनेर अलपत्र बनाएको आयोजनाले जनाएको छ । भत्काएर अलपत्र बनाउने निकायलाई तत्काल बनाउन पत्राचार गरिएको सूचना अधिकारी जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप