मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति

मङ्गलबार, ३० असार २०८३, १५ : ३८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसद्‌मा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जवाफ दिने क्रममा नियमावली विपरीत अवरोध सिर्जना भएको भन्दै नियमापत्ति जनाएका छन्।
  • बुर्लाकोटीले मन्त्रीको सम्बोधनका क्रममा बिचमै उठेर दोहोरो प्रश्न तेर्स्याउनु संसद्‌को मर्यादा विपरीत भएको बताए।
  • उनले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ‘झ’ को स्मरण गराउँदै बोलिरहेको समयमा बाधा पुर्‍याउन नहुने बताए।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसद्‌मा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जवाफ दिने क्रममा नियमावली विपरीत अवरोध सिर्जना गरिएको भन्दै नियमापत्ति जनाएका छन्। 

मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा नियमावलीको व्यवस्था उल्लेख गर्दै प्रमुख सचेतक बुर्लाकोटीले मन्त्रीको सम्बोधनका क्रममा बिचमै उठेर दोहोरो प्रश्न तेर्स्याउनु संसद्को मर्यादा विपरीत भएको बताए।

मन्त्री लम्सालले सम्बोधन गर्ने क्रममा एमाले सांसद गुरुप्रसाद बरालले नियमापत्ति गरेका थिए । बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ‘झ’ को स्मरण गराउँदै संसद्‌को ध्यानाकर्षण गराए।

उक्त नियममा कुनै पनि सदस्यले बोलिरहेको समयमा बाधा पुर्‍याउने, बैठकको मर्यादा भङ्ग गर्ने वा अव्यवस्था उत्पन्न गर्ने कार्य गर्न नहुने स्पष्ट उल्लेख रहेको उनले बताए।

‘मन्त्रीज्यूले नियमावलीको नियम १५ को उपनियम २ अनुसार आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिने क्रममा जुन किसिमको व्यवहार गरियो, त्यो नियमावली विपरीत छ,’ बुर्लाकोटीले भने, ‘मन्त्रीले प्रस्तुत गरेका तथ्याङ्कहरू चित्त नबुझे वा गलत लागेमा पछि शून्य वा विशेष समयमा पुनः प्रश्न उठाउन सकिन्छ। तर मन्त्रीले बोल्दाबोल्दै बिचमै उठेर बाधा पुर्‍याउने हो भने सभाको मर्यादा कसरी कायम रहन्छ ।’

भर्खरै काम प्रारम्भ गरेका मन्त्रीले संसद्‌मा बोलिरहँदा बिच–बिचमा प्रश्न तेर्स्याएर अवरोध सिर्जना गर्दा सरकारका कामहरू स्पष्ट रूपमा आउन नसक्ने उनले तर्क गरे। 

‘यसरी बाधा हाल्दै जाने हो भने सरकारले काम गर्ने वा आफ्नो भनाइ राख्ने भन्दा पनि प्रतिपक्षबाट आउने प्रश्नहरूको प्रतिवाद गर्नमै मात्र केन्द्रित हुनुपर्ने अवस्था आउँछ,’ उनले थपे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप