शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र बन्यो कोलम्बिया

मङ्गलबार, २३ साउन २०८०, १५ : ५०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नवौ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र कोलम्बिया बनेको छ । कोलम्बियाले मंगलबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा जमैकालाई १—० गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । 

कोलम्बिया र जमैकाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा कोलम्बियाले निर्णायक गोल गरेको थियो । कोलम्बियाका लागि क्याटालिना उस्मेले गोल गरेकी थिइन् ।  

यसअघि आयोजक अस्ट्रेलिया, इङ्ल्यान्ड, स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् । अस्ट्रेलिया प्रिक्वार्टरफाइनल खेलमा डेनमार्कलाई २—० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । इङ्ल्यान्ड भने नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । 

यसैगरी प्रिक्वार्टरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो । प्रिक्वार्टरफाइनल चरणका अन्य खेलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका थिए । 

नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । कोलम्बियाले क्वार्टरफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । अस्ट्रेलियाको प्रतिद्वन्द्वीको भने टुङ्गो लाग्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप