सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

बुधबार, २४ साउन २०८०, १८ : २६
बुधबार, २४ साउन २०८०

मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । 

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए । 

सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारीसाधन बैसरी र म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका सवारीसाधन राहुपारे खण्डमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए । 

मुस्ताङ जान र फर्किएका तिर्थयात्री, पर्यटक र स्थानीयवासी सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए । बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ । 

गत वर्षदेखि सुरु भएको पहिरो विस्तार हुनेक्रम जारी छ । भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप