सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली नोट कारोबार

५२ लाख नक्कली नोट : कमजोर गुणस्तर भनेर बुटवलबाट ३५ लाख फिर्ता

शुक्रबार, २६ साउन २०८०, २२ : ०४
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । काठमाडौँको नागढुंगा चेकप्वाइन्टमा पर्यटक बस चेकजाँज गर्दा भेटिएको ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ बुटवलबाट ‘फिर्ता’ आएको थाहा भएको छ । बिहिबार लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा नगद भेटिएको थियो ।

बुटवलबाट अपरिचित मानिसले ‘अचार हो, काठमाडौँ लगिदिनु’ भनेर पठाएको बस चालकको बयानका आधारमा प्रहरीले ५२ लाख ७५ हजार नक्कली रुपैयाँ बरामद गरेको छ ।

नक्कली रुपैयाँ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँमा छापेर गिरोहले बुटवल पठाएका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार ‘कमजोर गुणस्तर भयो’ भन्दै बुटवलबाट सो नगद काठमाडौँ फिर्ता गरिएको थियो । फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीकाअनुसार नोट कारोबारमा संलग्न ९ जना पक्राउ परेका छन् । नक्कली नोट कारोबार गर्ने मुख्य आरोपित अर्जुन सुवेदी हुन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भएका सुवेदीले यसअघि ७ पटक ठगी, आपराधिक लाभ र बैंकिङ कसुरमा सजाय भोगेको प्रहरीको रेकर्डबाट देखिएको छ ।

नक्कली नोटबारे प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर रामप्रसाद सापकोटा नेतृत्वको टिमले अनुसन्धान गरेको थियो । नोट कारोबारमा संलग्न आरोपमा पर्नेमा सिन्धुपाल्चोक घर भएका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापा घर भएका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासी घर भएकी पार्वती नेपाली छन् ।

नोट छाप्ने समूहले १ लाख सक्कली रुपैयाँ लिएर ३ लाख नक्कली रुपैयाँ बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार भारतमा पनि नेपाली नक्कली रुपैयाँ पठाउने गरिन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप