मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
आँखा पाक्ने रोग

नेपालमा एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस भएको पुष्टि

शनिबार, २७ साउन २०८०

काठमाडौँ । नेपालमा अहिले व्याप्त आँखा पाक्ने रोग एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस भएको प्रमाणित भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको एक अध्ययनमा आँखा पाकेर अस्पतालमा उपचार गराउन आएका ८० प्रतिशतको आँखामा एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस प्रमाणित भएको आँखा विभागका प्रमुख विशेषज्ञ डा रञ्जना शर्माले बताइन् । 

यसअघि आँखा रोग विशेषज्ञहरूले एडिनो भाइरस संक्रमणका कारण आँखा पाक्ने रोगले प्रकोपको रूप लिएको बताउँदै आएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मातहतको निकायले कुन भाइरसका कारण यस रोगले प्रकोपको रूप लिएको हो भन्ने अध्ययन गरे पनि धारणा भने सार्वजनिक गरेको छैन । 

एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस र एडिनो भाइरसबाट आँखा पाक्नेमा के छ फरक ? 

कन्जङ्ग्टिवाइटिस तीन प्रकारका हुन् । जसमा अहिले आँखा पाक्ने एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको डा रञ्जना शर्माले बताइन् । यो सङ्क्रमण हुँदा बिरामीमा रुघा, खोकी ज्वरो आउँदैन । 

कन्जङ्ग्टिवाइटिस भाइरस सङ्क्रमण हुँदा आँखा पाक्ने, रातो हुने, सामान्य शरीर तातेको जस्तो भएको पनि ज्वरो नआउने उनले बताइन् । 

कन्जङ्ग्टिवाइटिस भाइरस सङ्क्रमण हुँदा आँखा समस्या दोस्रो हप्ता बढी देखा पर्ने आँखा रोग विशेषज्ञ डा शर्माले बताइन् । यस भाइरसका कारण आँखा पाक्दा आँखामा रगत जम्छ ।

कस्ता समस्या लिएर आएका छन् बिरामी ?

काठमाडौँ उपत्यकामा आँखा पाक्ने रोगको पहिलो साता हो ।  दोस्रो साता बिरामीहरू आँखामा रगत जमेपछि अर्थात् क्यराटाइटिस भएपछि आउने उनको अनुमान छ । आँखा रातो हुनेहरूले कति मात्रामा आँखामा रगत जमेको छ भन्ने बारेमा अध्ययन गरिने उनले बताइन् । 

उनले भनिन्, ‘बिरामीको रेकर्ड र लक्षण राखेका छौँ । एक सातापछि आउने बिरामीमा कन्जङ्ग्टिवाइटिस भाइरसले कति कस्तो खालको जटिलता ल्याएर दृष्टि कस्तो असर गर्छ भन्नेबारे अध्ययन पनि गछौँ ।’ 

विगतमा एडिनो भाइरस सङ्क्रमण हुँदा रुघा, खोकी, ज्वरो आएर आँखा पाक्ने समस्या देखा परेको थियो ।

सङ्क्रमण भएको कति समयमा हुन्छ निको ?

कन्जङ्ग्टिवाइटिस भाइरस सङ्क्रमण भए पनि विस्तारै आफै निको हुने उनले बताइन् । कन्जङ्ग्टिवाइटिस भाइरस सङ्क्रमण हुँदा आँखामा राख्ने ड्रप नभएको उनले सुनाइन् ।

doctor

उनले भनिन्, ‘आँखा पाकेको निको बनाउने औषधि छैन ।  विस्तारै आफै निको हुन्छ ।’ 

कन्जङ्ग्टिवाइटिस भाइरस सङ्क्रमण हुँदा सफा चिसो पानीले पटक पटक आँखामा छ्यापेर चिप्रा, आँसु पखाल्न उनको सुझाव छ । यद्यपि आइसले भने पाकेको आँखा कदापि नसेक्न उनको आग्रह छ । 

धेरै बिरामीले आफै औषधि किनेर राखी जटिल भएपछि अस्पताल आएका छन् । त्यसैले, विशेषज्ञको सल्लाहमा मात्र साधारण एन्टिवायोटिक राख्दा सहज हुने उनको भनाइ छ । सफा पानीले आँखा सफा गरेको ४ दिनसम्म पनि जटिल देखिए विशेषज्ञलाई देखाउन उनको सुझाव छ । 

पाटनमा छुट्टै उपचार कक्ष 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगत आँखा विभागमा आँखा पाक्ने बिरामीको चाप बढेको निर्देशक डा रवि शाक्यले बताए । उनका अनुसार आँखा विभागमा आँखाको गएको एक साता यता उपचार गराउन आउनेमध्ये आँखा पाक्ने बिरामी ७० प्रतिशत उपचारका लागि पुग्ने गरेका छन् । 

तराई क्षेत्रमा आँखा पाक्ने रोगले प्रकोपको रूप लिएपछि चाँडै पाटन अस्पतालमा बिरामी थपिन सक्ने आकलन गरी पूर्व योजना बनाएको निर्देशक डा.शाक्यले बताए ।

पाटनमा आँखा पाक्ने समस्या लिएर आएका बिरामीबाट अरुलाई वा कुरुवामा फैलिने जोखिमलाई कम गर्न छुट्टै उपचार कक्ष छुट्याइएको उनले बताए ।

उनले भने,‘आँखा पाक्ने समस्या भएका बिरामीलाई टिकट काट्ने व्यवस्था गरिएको छ । कसैले आँखा पाक्ने समस्या लिएर वा चस्मा लगाएर आएका छन् भने उनीहरूलाई गार्डले लामो लाइन नबस्ने गरी व्यवस्था मिलाउँछन् । आँखाको ओपिडीमध्ये एउटा कोठा आँखा पाक्ने रोगीका छुट्याएका छौँ ।’ 

यस्तै, अन्य वार्डमा उपचार गर्न आएका बिरामीलाई १६ जना नर्सले आँखा पाक्ने समस्याबारे जानकारी गराइरहेको उनले बताए । 

अस्पतालले आफ्ना सबै जनशक्तिलाई आँखा पाक्ने रोगबारे जानकारी दिएको छ । 

‘स्वास्थ्यकर्मी आफैलाई सङ्क्रमण भयो भने पनि निको पार्ने र लक्षण देखिनु भन्दा अघि पछि कसरी सावधानी अपनाउने भनेर जानकारी दिएका छौँ ।’ डा शाक्यले भने, ‘महामारी व्यवस्थापन गर्ने पाटन अस्पतालमा संयन्त्र छ । आँखा पाक्ने रोगीको संख्या बढ्दै गए पनि त्यसलाई प्राथमिकता दिएर अगाडि बढ्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया